विदेशी मुद्रा आर्जन गर्ने नेपालीले पनि सूचना प्रविधि सेवा आयात गर्न सटही सुविधा पाउने

विदेशी मुद्राको ऋण नेपालीमा परिवर्तन गर्न पाउने

329
Shares

काठमाडौं । अनलाइनमार्फत विदेशी मुद्रा आय आर्जन गर्ने नेपाली नागरिकले सूचना प्रविधि सेवा खरिद गर्न विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । यस्तो कार्यसँग सम्बन्धित सूचना प्रविधि सेवा खरिद गर्ने प्रयोजनको लागि वार्षिक अधिकतम २५ सय अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रासम्म बैंकिङ उपकरण मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।

यस्तै विदेशी मुद्रा आय आर्जन गर्ने सूचना प्रविधि उद्योग/व्यवसायलाई अनलाइनमार्फत सफ्टवेयर लगायतका सूचना प्रविधिसँग सम्बन्धित सेवा खरिद पनि सटही सुविधा पाउने भएका हुन् । यस प्रयोजनका लागि १ लाख अमेरीकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रा भुक्तानी गर्न सक्नेछन्।

विदेशी मुद्राको ऋणीलाई नेपाली रुपैयाँमा परिर्वतन गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार परिवर्त्य विदेशी मुद्राको ऋण कुनै कारणवश ऋणीले परिवर्त्य विदेशी मुद्रामा कायम गर्न नचाहेको कुरामा ऋणदाता बैंक समेत विश्वस्त भएमा त्यस्तो ऋणलाई प्रचलित विनिमय दरका हिसाबले राष्ट्र बैंकले तोकेको सर्त पुरा गरी पुनःविदेशी मुद्रामा परिवर्तन नहुने गरी नेपाली रुपैयाँमा परिवर्तन गर्न सक्ने व्यवस्था भएको हो ।

नेपाली रुपैयाँमा परिर्वतन गर्दा ऋण भुक्तानी अवधि वृद्धि गर्न पाइने छैन । परिवर्तन पश्चात् कायम हुने ऋणको ब्याजदर प्रचलित अन्य व्यवस्थाको पालना हुने गरी दुई पक्षको सहमतिमा कायम गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।

Skip This