
काठमाडौं । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा स्वीकृति लिएर खुलेका शिक्षण संस्थानलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि राष्ट्र बैंकले सहजीकरण गरिदिएको छ । यसअघि २५ हजार अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा दिँदै आएकोमा अब ५ लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने भएको छ ।
त्यसका लागि विश्वविद्यालय र नेपालमा सञ्चालित शिक्षण संस्थाबीच भएको एमओयुको प्रमाणित प्रतिलिपि तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी विश्वविद्यालयको सम्बन्धनको अद्यावधिक इजाजतपत्र आवश्कय पर्ने निर्देशनमा उल्लेख छ ।
त्यस्तै दोहोरो भुक्तानी नहुने यकिन गर्न शूल्क सम्बन्धी बिल बिजक, विद्यार्थीहरुको संख्या खुल्ने विवरणहरु लगायत माग भएको सटही रकमलाई पुष्टि गर्ने सम्पुर्ण कागजात चाहिनेछ । एक आर्थिक वर्षमा ३ लाख डलर भन्दा बढीको भुक्तानी गर्नुपर्ने भएमा उक्त सिमा नाघे पश्चात्को प्रत्येक भुक्तानीको लागि लेखापरीक्षकबाट प्रमाणीकरण गर्नुपर्नेछ । संस्था दर्ता प्रमाणपत्र र कर दर्ता प्रमाणपत्रका साथै पछिल्लो लेखापरीक्षण प्रतिवेदन पनि आवश्यक पर्ने निर्देशनमा उल्लेख छ।
शिक्षण संस्थाले यस प्रकारका शुल्कहरुको भुक्तानी गर्दा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सटही सिफारिसको सक्कल प्रति अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ । ५ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी रकमको भुक्तानीको लागि माथि उल्लिखित कागजातहरु सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ ।










प्रतिक्रिया