
काठमाडौं । क्यासिनोमा जुवा खेल्दा जितेको रकम ५ हजार अमेरिकी डलरभन्दा बढी भएमा बैंक खातामा मात्रै जम्मा गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन संशोधन मार्फत उक्त व्यवस्था गरेको हो ।
हाल ५ हजार डलरसम्म नगद भुक्तानी गर्नसक्ने व्यवस्था थियो । राष्ट्र बैंकले बिहीबार एक परिपत्र मार्फत ५ हजार भन्दा बढीको भुक्तानी सम्बन्धित खेलाडीको बैंक खातामा मात्रै भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।
‘५ हजार अमेरिकी डलरभन्दा बढी रकम खेलाडीको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्नेछ । खेलाडीले नेपाली रुपैयाँ जम्मा गरेकोमा जितेको रकम समेत नेपाली रुपैयाँमा मात्र भुक्तानी गर्नु पर्नेछ ,’ संशोधित निर्देशनमा भनिएको छ, ‘तर, नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १७ बमोजिम स्वदेशी मुद्रा स्वीकार गर्दा विदेशी मुद्रा सटही भएको कागजातको आधारमा नेपाली रुपैयाँ नगद जम्मा गरेको भएमा जितेको रकम अमेरिकी डलर ५ हजार सम्म नगदै भुक्तानी गर्न सकिनेछ ।’
५ हजारभन्दा बढीको रकम भने खेलाडीको बैंक खातामा जम्मा हुनेगरी विदेशी मुद्रा भुक्तानी गर्न सकिने निर्देशनमा उल्लेख छ । खेलाडीबाट क्यासिनो खेलको लागि आवश्यक रकम नेपाली रुपैयाँमा लिने भएमा राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १७ बमोजिमको व्यवस्था पालना गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।










प्रतिक्रिया