धमाधम एसेम्बल प्लान्टमा लगानी गर्दै व्यवसायी, यी हुन् नेपालमा बन्ने सवारी साधन



काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि हुन्डाईको भेन्यु कार नेपालमै एसेम्बल सुरु भएको छ ।

व्यापारीक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीको रामग्राममा एसेम्ब्लिङ प्लान्ट तयार पारेको हो । प्रधानमन्त्री दाहालले उद्घाटन गरेपछि गाडीको व्यवसायिक उत्पादन सुरु भएको छ ।

लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाका प्लान्टको परीक्षण र पाइलटिङ समेत भइसकेको छ।  कम्पनीले यो प्लान्टबाट भेन्यु गाडी उत्पादन गर्ने छ । त्यसपछि बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन गर्नेछ । यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात एक घण्टामा १.५ वटा गाडी उत्पादन गर्न सक्छ । प्लान्टमा झण्डै २०० लाई रोजगारी पाएका छन् ।  

हुण्डाईको एसेम्बल प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री

सवारीसाधनको बढ्दो मागलाई पूर्ति गर्न स्वदेशमा नै मोटरसाइकल तथा कार उत्पादन गर्ने एसेम्बल प्लान्टमा व्यवसायीहरुले लगानी बढाउन थालेका छन् ।

आधा दर्जन एसेम्बल प्लान्ट सञ्चालनमा आइसकेका छन् । यी प्लान्टहरुले कम्प्लिट नक्ड डाउन (सिकेडी) अर्थात पाट पूर्जाहरु आयात गरेर सवारीसाधन एसेम्बल गर्दै आएका छन् ।

लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक थपलिया एसेम्बल प्लान्टले मुलुकलाई विभिन्न कोणले फाइदा हुने बताउछन् ।’एसेम्बल प्लान्ट टेक्नोलोजी ट्रान्सफर्मरको उदाहरण हो । संसारका सबै देशमा गाडी उत्पादनका लागि प्लान्ट राखिएका हुन्छन । यो सकारात्मक विषय हो’ उनले भने- ‘यहाँ रोजगारी बढ्छ । चार/पाँचवटा पार्ट्स र मेटरियलहरु यहि बन्न सक्छ । यो हामी सबैका लागि राम्रो विषय हो ।’ सञ्चालनमा आएको चारपाङग्रे सवारीसाधनमा एसेम्बल प्लान्ट हुण्डाईको मात्रै हो ।

दुई पांग्रेमा ७ वटा ब्राण्डका सवारी साधन एसेम्बल गर्नका लागि नेपालमा प्लान्ट सञ्चालनमा रहेका छन् । जसमा बजाज, हिरो, सुजुकी, यामाहा, रोयल इन्फिल्ड, टिभीएस र होण्डा बाइक तथा स्कुटरका एसेम्बल प्लान्ट सञ्चालनमा रहेका हुन् ।

विशाल समूहले सुजुकी ब्राण्डका स्कुटर र मोटरसाइकल एसेम्बल गर्न प्लान्ट सञ्चालनमा ल्याएको छ । विशाल समूहको स्वामित्वमा रहेको ग्लोबल अटो मोबाइल्स कम्पनीले सुजुकीका स्कुटर तथा मोटरसाइकल एसेम्बल गर्दै आएको छ । सुजुकी मोटरको आधिकारिक बिक्रेत भिजी अटोमोबाइल्स विशाल ग्रुपकै कम्पनी हो । सुजुकी जापानीज ब्राण्ड हो ।

यस अघि नै यमाहा ब्राण्डका मोटर साइकल तथा स्कुटरको प्लान्ट सञ्चालनमा आइसकेको छ । यामाहा मोटरसाइकल तथा स्कुटर बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लु) ले नवलपरासीमा रामग्राममा एसेम्बल प्लान्ट सञ्चालन ल्याएको छ ।

नवलपरासीकै रामग्राममा गोल्छा समूहले बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ । हुलास अटो क्राप्टले बजाज ब्राण्डका सवारीसाधन बिक्री गर्दै आएको छ ।

जगदम्बा मोटर्सले बारामा टिभीएस सिकेडी प्लान्ट सञ्चालनमा ल्याएको छ । करिब १ अर्ब लगानीमा प्लान्ट सञ्चालनमा ल्याएको हो ।

ज्योती समूहले होण्डाका मोटरसाइकल एसेम्बल प्लान्ट स्थापना गरेको छ । ज्योती समूहको स्याकार ट्रेडिङले १५० करोड रुपैयाँ लगानीमा भैरहवामा प्लान्ट सञ्चालनमा ल्याएको हो ।

होण्डाको एसेम्बल प्लान्ट

त्रिवेणी समूहले अघिल्लो बैशाखदेखि रोयल इनफिल्ड मोटरसाइकल एसेम्बल गर्दै आएको छ । टिजी अटो ग्रुप प्रालिले वार्षिक २० हजार युनिट उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले २७ करोड ५० लाख रुपैयाँमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । बारामा रहेको एसेम्बल प्लान्ट १ लाख वर्गफिटमा फैलिएको छ ।

सरकारले एसेम्बल प्लान्टलाई प्रोत्साहन गर्ने नीति लिएपछि धमाधम खुल्न थालेका हुन् । बजेट मार्फत स्वदेशमा नै एसेम्बल राख्ने उद्योगलाई सिकेडी आयात छुट दिने निर्णय गरेको छ । त्यसपछि उद्योगीहरुले प्लान्टमा लगानी बढाएका हुन् । केहि कम्पनीले निकट भविष्यमा नै प्लान्ट लगाउने तयारी गरेका छन् ।

सरकारले नीतिगत स्थीरता राख्ने आशामा नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरुमा राम्रै चासो बढेको देखिन्छ । जसका कारण करिब १२ अर्ब रुपैयाँ बराबरको २ दर्जन बढी सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भइसकेका छन् ।


क्लिकमान्डु