नेपालमै बन्न थाल्यो हुण्डाईको कार, प्रधानमन्त्रीले चढे पहिलो ‘भेन्यु’



काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्टको उद्घाटन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासी रामग्राम-६ मा रहेको एसेम्ब्ली प्लान्टमा पुगेर उद्घान गर्दै हुन्डाईको एसेम्बल गाडी चढेका छन् ।

लक्ष्मी समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो ।

लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यू गाडी चढेका हुन् । बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

करिब १० बिघा जग्गामा एसेम्बीङ प्लान्ट फैलिएको छ ।

यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । ‘गाडीको माग कति हुन्छ, त्यसअनुसार हामी सिफ्ट बनाएर उत्पादन गर्छौं,’ लक्ष्मी कन्टिनेन्टलका महाप्रवन्धक दीपक थपलियाले भने, ‘अहिले नै कति उत्पादन गर्ने भन्दा पनि मागअनुसार कति सिफ्ट चलाउने त्यसमा निर्भर हुन्छ ।’

यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

कति फरक पर्छ मूल्य ?

गाडी आयात गरेर बेच्नेभन्दा यहि उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । ‘मूल्यमा फरक पर्छ । सस्तो पक्कै हुनेछ । फाइनान्स डिपार्टमेन्टले त्यसलाई हेरिरहेको छ,’ उनले भने, ‘ल्याएर बेच्ने जस्तो भएन । फ्याक्ट्री मोडालिटीमा गयो । फ्याक्ट्री पनि बाँचिरहनुपर्छ । तर गाडी केहि सस्तो हुन्छ ।’

अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो । यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ ।

उनले आधुनिक प्रविधिको प्रयोग गरेर प्लान्ट तयार पारेको दाबी गरे । ‘बाहिर जस्तै सबै आधुनिक खालको छ । त्यहाँ ठूलो स्केलमा हुन्छ,यहाँ सानो स्केलमा होला तर प्रविधियुक्त छ,’ उनले भने ।

कोरियन प्राविधिक टिमले यहि बसेर एसेम्ब्लिङ प्लान्ट हेरिरहेको छ । ‘हामीले मात्रै बनाएर हुँदैन । कोरियालीहरुले हेर्छन् । उनीहरुको ब्राण्ड नेमको कुरा छ ,’ उनले भने, ‘हामीले प्लान्टका लागि ल्याएका सामानहरु समेत उनीहरुले हेरेका छन् ।’

उनले यो एसेम्ब्लिङ प्लान्ट टेक्नोलोजी ट्रान्सफरको उदाहरण भएको बताए ।

‘संसारका सबै देशमा गाडी उत्पादनका लागि प्लान्ट राखिएका हुन्छन् । यो सकारात्मक विषय हो’ उनले भने, ‘यहाँ रोजगारी बढ्छ । चार/पाँचवटा पार्ट्स र मेटरियलहरु यहि बन्न सक्छ । यो हामी सबैका लागि राम्रो विषय हो ।’


क्लिकमान्डु