३ वटा ल्याउन अनुमति पाएको ९ महिनापछि बीबी एयरवेजले भेट्टायो एउटा भाडाको जहाज, कहिले भित्र्याउला ?
बीबी एयरवेजले भाडामा एउटा जहाज ल्याउने र त्यसले उडान गर्दै थप दुई वटा ल्याएर अन्तर्राष्ट्रिय उडानको पंखा फैलाउने योजना बनाएको छ । बीबीले नियामक निकायमा पेश गरेको योजनाले मूर्त रुप पाए अवको केही महिनाभित्रै बीबीले १२ वर्ष अगाडिको शाखःलाई रवाफमा परिणत गर्ने अवसर खोजिरहेको छ ।
काठमाडौं । बीबी एयरवेजले अन्तर्राष्ट्रिय उडानका लागि तीनवटा न्यारोवडी जहाज ल्याउन अनुमति पाएको ९ महिनापछि एउटा भाडाको जहाज भेट्टाएको छ । बीबी एयरवेजले भुटानको ड्रुक एयरलाइन्सको एउटा जहाज भाडामा ल्याउने गरी कम्पनीसँग सम्झौता गरिसकेको छ ।
बीबीले नियामक निकायले तोकिदिएकै प्रकृतिको जहाज खोजेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिएको छ । यो वायुसेवाले एक साता अगाडि मात्रै प्राधिकरणले तोकिएको स्पेसिफिकेसन अनुसारको जहाज फेला परेको र त्यसलाई ल्याएर डेमेस्टेसन फ्लाइट गर्न अनुमति मागेको बीबी एयरवेजका सूचना अधिकारी शिरिश शर्माले क्लिकमान्डुलाई बताए ।
शर्माले भने ‘हामीले भुटान एयरलाइन्सँग दिपक्षिय सम्झौता (एमओयु) गरेर जहाज ल्याउने अवस्थाको वारेमा जानकारी दिएका छौं । ’ उनले भने ‘बीबीले ल्याउन खोजेको जहाजबाट सेवा सञ्चालन गर्न दियो भने तुरुन्तै ल्याएर डेमेस्टेसन फ्लाईट गर्छौै ।’
हाल बीबीले एउटा ल्याएर सेवा सञ्चालन गर्दै थप जहाज खोजी गर्ने गरी अगाडि बढेको पनि शर्माले जानकारी दिए ।
प्राधिकरणले बीबीले पेश गरेको कार्य योजनासहितको जहाज ल्याउन अनुमति पाउने र छिट्टै उडान सुरु हुने अपेक्षा गरिएको पनि उनले बताए । बीबी एयरवेजलाई गत वर्ष फागनु २९ मा जहाज ल्याउन नो अब्जेक्सन लेटर (एनओसी) दिएको पाएको थियो।
एनओसी पाएपछि तीन महिनाभित्रै पहिलो र त्यसपछि ६ महिनामा दोस्रो जहाज भित्र्याएर उडान गर्ने भन्दै जहाज खोजी सुरु गरेको बीबी एयरवेजले जहाज नपाएका कारण पूर्व योजना अनुसार काम हुन नसकेको बीबी एयरवेजका एकान्टेवल म्यानेजर सुरेशमान सिंहले बताए ।
उनले भने, ‘अहिले एउटा एयरवसको ए३२० क्षमताको जहाज हेरिरहेका छौं ।’ धेरैवटा कम्पनीसँग भएको छलफल भएपनि जहाज ल्याउने विषय तय नै हुन ढिलो भएको पनि उनले स्वीकार गरे ।
यस अघि आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि फेरि उडान सुरु गर्दा पनि पुनः उडाकै जहाज खोजी गरिरहेको छ । यसले अहिले बजारमा खोजेजस्तो जहाज नपाएको र एयरवसको ३२० प्रकृतिको जहाज नभेट्टाएको कारण विभिन्न कम्पनीसँग भाडामा ल्याउने विषयमा कुराकानी भने गरिरहेको जानकारी दिएको छ ।
बीबीले न्यूनतम तीनवटा जहाज राखेर उडान गर्ने गरी यस अघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एनओसी लिएको हो । यसले जहाज ल्याएर आवश्यक प्रक्रिया पूरा गरेर एओसी लिने, एउटा जहाज उडान गर्दै थप जहाज ल्याउने पनि बताएको छ ।
प्राधिकरणले ३ वटा जहाज ल्याउनुपर्ने शर्त राखेर एनओसी दिएको दिएकोले यसले एयरवसको ए ३२०–२०० सिरिजका न्यरोबडी जहाज ल्याउन खोजिरहेको छ ।
नयाँ अर्डर गरेर ल्याउँदा समय लाग्ने भएकोले पाएसम्म दोस्रो बजारबाट खरिद गरेर ल्याउने वा भाडामा ल्याउने गरी दुबै विकल्प खोजेर अगाडि बढेको यो कम्पनीले भाडामै ल्याउन छिटो हुने भएकोले सोही अनुसार तयारी गरिरहेको पनि बताएको छ ।
यस अघि सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट लिज पर्चेचमा एउटा जहाज ल्याएर यो वायुसेवाले १२ वर्ष अगाडि नै काठमाडौंबाट मलेसिया उडान सुरु गरेको थियो । यो वायुसेवाले त्यतिबेला भाडामा ल्याएको जहाज भाडा तिर्न नसकेपछि फिर्ता गएको थियो । पछि थप ल्याउन नसक्दा र आफैंले किनेको जहाज नहुँदा अहिलेसम्म उडान गर्न सकेको छैन ।
नयाँ जहाज ल्याएर बीबीले काठमाडौंबाट मेलेसिया, दोहा वा भारतमा पहिलो उडान गर्ने जनाएको छ । उडान प्रक्रिया मिलाउँदा जहाजबाट छिटो अनुमति आउँछ वा अनुकुल हुन्छ सोही गन्व्यबाट बीबी एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्ने पनि बताएको छ ।
नयाँ जहाज ल्याउन धेरै नै महंगो पर्ने भएकोले पनि बीबीले अहिले पनि भाडाकै जहाजमा जोड गरेको हो
बीबीले मलेसियाको क्वालालम्पुर, कतारको दोहा र भारतको नयाँ दिल्लीमा पहिलो चरणमा र त्यसपछि सिंगापुर, हङकङ, थाइल्याण्ड र जापानको लागि पनि अनुमति पाएकोले ती मुलुकमा पनि दोस्रो चरणमा जाने गरी जहाल ल्याउन लागिएको पनि जानकारी दिएको छ ।
बीबी एयरवेजले करिब १२ वर्षअघि भाडामा ल्याएको एउटा जहाज भाडा तिर्न नसक्दा फिर्ता गएपछि तीन महिनामै बन्द भएको बीबी एयरवेजको जहाज उडाउने प्रयास अझै सफल हुन सकेको छैन ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले कम्पनी बीबी एयरवेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गरेर निजी क्षेत्रमा बलियो प्रतिस्पर्धी कम्पनी बन्ने उद्देश्य राखेको दाबी गरेको छ ।
करिब १३ वर्षदेखिको प्रयास सफल पार्नकै लागि बीबीले वर्षेनी उडान सञ्चालन अनुमति (एओसी) नवीकरणको प्रयासमा समेत धेरै समय व्यथित गर्यो भने उडाउनै नसक्ने जहाज लिएरसमेत बस्यो । उडान अनुमति नवीकरणकै लागि बीबीले ५ वर्ष अगाडि वायुसेवा निगमको एउटा बोइङ किनेर उडाउने प्रयास गरेको थियो । तर, प्राविधिक समस्याका कारण यो वायुसेवाले उक्त जहाज उडाउनै सकेन ।
यस अघि करिब १५ करोड रुपैयाँमा किनेको निगमको बोइङ ७५७ जहाज किनेको यो वायुसेवाले उडान गर्न नसकेपछि त्यो जहाज बेकामे नै बनायो । बीबीले नयाँ जहाज ल्याएर उठाउने भन्दै करिब १३ वर्ष बिताएको छ । यसले अब फेरि एक पटक कम्तिमा ७ देखि १० अर्ब रुपैयाँ लगानी गर्ने र उड्डयन क्षेत्रमा छुट्टै पहिचान बनाउन चाहेको छ ।
नेपाल नागिरक उड्ययन प्राधिकरणका सूचना अधिकरी ज्ञानेन्द्र भुलले भने जहाज ल्याउन करिब एक वर्ष अगाडि नै एनओसी दिइएको भएपनि अहिलेसम्म यसले जहाज ल्याउन नसकेको बताए । उनले भने ‘जहाज ल्याएर उडान गर्छु भन्ने कम्पनीलाई नियामक निकयाले सहजीकरण नै गरिरसहेको छ ।’ उड्डयन मापदण्ड पूरा गरेर उडान गर्ने कुनै पनि कम्पनीलाई प्राधिकरणले सहजीकरण गर्ने पनि उनले बताए ।