
काठमाडौं । पूर्वगृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिले नै गिरफ्तारी दिन तयार रहेको बताएका छन् । सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार आदेश दिएसँगै सामाजिक सञ्जालमार्फत लामिछानेले अदालतको सम्मान गर्दै आफैं आजै अहिले नै गिरफ्तारी दिन लागेको जानकारी दिएका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु,’ लामिछानेले भनेका छन्, ‘ न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै ।’
उनले आफूमाथि ठूलो अन्याय भएको भन्दै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन् ।
उच्च अदालत तुलसीपुरका बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगीमा मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
रवि लामिछानेसँगै पूर्वडिआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश दिएको हो । उच्च अदालत तुलसीपुरको सोही इजलासले शुक्रबार जोशीलाई पनि थुनामा पठाउने आदेश दिएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई भने थुनामा नै पठाउन आदेश दिएकोमा अदालतले सोही आदेशलाई निरन्तरता दिएको हो ।
प्रतिक्रिया