
काठमाडौं । पूर्वगृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरीमा गिरफ्तारी दिन लागेको जनाएका छन् ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
लामिछानेलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरबाट प्रहरी उनको निवासमा पुगेपछि लामिछानेले गिरफ्तारी दिन लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु,’ लामिछानेले लेखेका छन् ।
आफूमाथि अन्याय भएको लामिछानेको भनाइ छ । ‘ममाथि ठूलो अन्याय भएको छ,’ लामिछानेले भनेका छन् । उनले पार्टीको शनिबार आयोजना हुन लागेको चितवनको कार्यक्रम नरोक्न पनि आग्रह गरेका छन् ।
लामिछानेलाई पक्राउ गर्नका लागि शुक्रबार साँझ प्रहरी घरमै पुगेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरी पुगेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपील बोहोराका अनुसार लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगको छ । लामिछानेलाई पक्राउ गरेर रुपन्देही पठाउने तयारी काठमाडौं प्रहरीले गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो । योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ ।
यसअघि माघ १३ गते रविलाई एक करोड रूपैयाँ धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश दिएको थियो । त्यसपछि फागुन १६ गते रविले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका थिए ।
प्रतिक्रिया