रवि लामिछाने पक्राउ (भिडियो)

903
Shares

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (सिआइडी) र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट शुक्रबार राति पक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुरको आदेशअनुसार उनलाई पक्राउ गरिएको हो । अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।

उनलाई शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने स्रोतको भनाइ छ ।

पक्राउ गर्न प्रहरी निवासमा आएसँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्दै आफू स्वेच्छाले गिरफ्तारी दिन लागेको जानकारी दिएका थिए । उनले न्यायका लागि सबै ढोका ढकढकाउने भन्दै चितवनको सभा नरोक्न आग्रह गरेका थिए ।

यसअघि, रूपन्देही जिल्ला अदालतले उनलाई माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, फागुन १६ गते उनले उक्त आदेश बदर गर्न माग गर्दै उच्च अदालत बुटवलमा पुनरावेदन दिएका थिए ।