भाडामा ल्याउँदा डुबेको बीबी एयरवेज १२ वर्षपछि फेरि भाडाकै जहाज खोज्दै, ३ न्यारोबडी ल्याउन अनुमति



काठमाडौं । आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि पुनः उडान सुरु गर्ने प्रयास गर्दा फेरि भाडाकै जहाज खोज्न थालेको छ ।

बीबी एयरवेजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले फागनु २९ गते जहाज ल्याउन नो अब्जेक्सन लेटर (एनओसी) दिएको छ। एनओसी पाएपछि अब ३ महिनाभित्रमा पहिलो र त्यसपछि ६ महिनामा दोस्रो जहाज भित्र्याएर उडान गर्ने गरी तयारी गरेको बीबी एयरवेजका एकान्टेवल म्यानेजर सुरेशमान सिंहले क्लिकमान्डुलाई बताए । उनले भने, ‘सुरुमा २ वटा ल्याउने र त्यसपछि अर्को एउटा जहाज ल्याउँछौं ।’

बीबीले न्यूनतम तीनवटा जहाज राखेर उडान गर्ने भएकोले सोही अनुसार तय भइरहेको पनि उनले बताए ।

उनले भने, ‘प्राधिकरणले फागुन अन्तिममा बीबी एयरवेजलाई जहाज ल्याउन अनुमति दिएको छ । प्राधिकरणको अनुमतिपछि अब पहिलो तीन महिनाभित्रै एउटा जहाज ल्याउने प्रयासमा छौ । पहिलो जहाज ल्याएको ६ महिनामा अर्को ल्याउछौं ।’

प्राधिकरणले ३ वटा जहाज ल्याउनुपर्ने गरी दिएको अनुमतिलाई पालना गर्दै एयरवसको ए ३२०–२०० सिरिजका न्यरोबडीको खोजी गरिरहेको उनले जानकारी दिए ।

नयाँ अर्डर गरेर ल्याउँदा समय लाग्ने भएकोले पाएसम्म दोस्रो बजारबाट खरिद गरेर ल्याउने वा भाडामा ल्याउने गरी दुबै विकल्प खोजेर अगाडि बढेको पनि सिंहले बताए ।

उनले भने, ‘जहाजको खोजी गर्दा हामीले भनेजस्तो उपयुक्त जहाज पाए खरिद गरेरै वा भाडामा भएपनि ल्याउँछौं । बीबीले जहाजको खोजी भने भाडाको लागि पनि गरिरहेको छ ।’

यस अघि सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट लिज पर्चेचमा एउटा जहाज ल्याएर यो वायुसेवाले १२ वर्ष अगाडि नै काठमाडौंबाट मलेसिया उडान सुरु गरेको थियो । यो वायुसेवाले त्यतिबेला भाडामा ल्याएको जहाज भाडा तिर्न नसकेपछि फिर्ता गएकाे थियाे । पछि थप ल्याउन नसक्दा र आफैंले किनेको जहाज नहुँदा अहिलेसम्म उडान गर्न सकेको छैन ।

नयाँ जहाज ल्याएर बीबीले काठमाडौंबाट मेलेसिया, दोहा वा भारतमा पहिलो उडान गर्ने जनाएकाे छ । उडान प्रक्रिया मिलाउँदा जहाजबाट छिटो अनुमति आउँछ वा अनुकुल हुन्छ सोही गन्व्यबाट बीबी एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिरहेको पनि उनले दाबी गरे ।

नयाँ जहाज ल्याउन धेरै नै महंगो पर्ने भएकोले पनि बीबीले भाडामा, नयाँ र चलिरहेकै कम्पनीकामध्ये कुनै जहाज ल्याउन सक्ने गरी तीनवटै विकल्प खुला राखेको बीबीले जनाएको छ ।

बीबीले मलेसियाको क्वालालम्पुर, कतारको दोहा र भारतको नयाँ दिल्लीमा पहिलो चरणमा र त्यसपछि सिंगापुर, हङकङ, थाइल्याण्ड र जापानको लागि पनि अनुमति पाएकोले ती मुलुकमा पनि दोस्रो चरणमा जाने गरी जहाल ल्याउन लागिएको पनि जानकारी दिएको छ ।

बीबी एयरवेजले करिब १२ वर्षअघि भाडामा ल्याएको एउटा जहाज भाडा तिर्न नसक्दा फिर्ता गएपछि तीन महिनामै बन्द भएको बीबी एयरवेजको जहाज उडाउने प्रयास अझै सफल हुन सकेको छैन ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले कम्पनी बीबी एयरवेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गरेर निजी क्षेत्रमा बलियो प्रतिस्पर्धी कम्पनी बन्ने उद्देश्य राखेको दाबी गरेकाे छ ।

१२ वर्षदेखिको प्रयास सफल पार्नकै लागि बीबीले वर्षेनी उडान सञ्चालन अनुमति (एओसी) नवीकरणको प्रयाससमेत गर्दै आएको छ । उडान अनुमति नवीकरणकै लागि बीबीले ४ वर्ष अगाडि वायुसेवा निगमको एउटा बोइङ किनेर उडाउने प्रयास गरेको थियो । तर, प्राविधिक समस्याका कारण यो वायुसेवाले उक्त जहाज उडाउनै सकेन ।

करिब १५ करोड रुपैयाँमा किनेको निगमको बोइङ ७५७ जहाज उडान गर्न नसकेको बीबीले नयाँ जहाज ल्याएर उठाउने तयारीमा १२ वर्ष बिताएको छ । अब भने यसले कम्तिमा ७ देखि १० अर्ब रुपैयाँ लगानी गर्ने दाबी गरेको छ ।

बीबीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको बिजनेश प्लानअनुसार आगामी ६ महिनाभित्र २ वटा एयरवसको ए३२०-२०० न्यारोवडी जहाज ल्याएर उडान गर्ने उल्लेख छ ।

बीबीले काठमाडौं र भैरहवा दुबै ठाउँबाट अन्तर्राष्ट्रिय उडानको लागि तयारी गरेको पनि जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत काठमाडौंबाट अब बाहिरका विमानस्थलमा उडान गर्न सम्बन्धिन वायुसेवालाई प्रोत्साहन गर्न थालेको छ ।


क्लिकमान्डु