विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?



काठमाडौं । बुधबार सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । गोठाटारतर्फको साइडमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गयो ।

एकपटक सोच्नुस् त, कुनै दिन विमान सिनामंगलतर्फको नेपाल आयल निगमको हवाइ इन्धन डिपो भएको ठाउँमा दुर्घटना भयो भने के हुन्छ ?

जानकारहरुका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको अवस्थामा १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्नसक्ने जोखिम छ ।

सिनामंगलको घनावस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सार्न नेपाल आयल निगमले बारम्बार अटेरी गर्दै तपाईं हाम्रो सुरक्षामा खेलाँची गर्दै आएको छ । घनावस्ती बीचमा परेको उक्त हवाई इन्धन डिपोका कारण सिनामंगल र जागृतीनगरका हजारौं घर उच्च जोखिममा रहे पनि निगमले उक्त डिपो सार्न २ वर्षदेखि अटेरी गर्दै आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजहरु समेत उच्च जोखिममा छ । आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन) को सुरक्षा मापदण्डबिपरित रहेको उक्त हवाई इन्धनको डिपो त्यहाँबाट हटाउन निगम व्यवस्थापनले आनाकानी गर्दैआएको हो ।

विमानस्थलमा ७६ लाख ४० हजार लिटर क्षमताको हवाई इन्धनको डिपो छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरको ३, ७ सय ६० किलोलिटरको ३ र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडो छ ।

हटाउनु पर्ने विमानस्थलभित्र रहेको आयल निगमको हवाइ इन्धन डिपो

वस्ती र जहाजको सुरक्षाको हिसावले उक्त डिपो अति जोखिममा रहेको विषय स्वयम हवाई इन्धन डिपोका प्रमुख प्रदिप यादब पनि स्वीकार्छन् ।

‘उक्त डिपो घना वस्ती र आइकाओको सेफ्टी मापदण्ड विपरित स्थानमा रहेकाले तत्कालै सार्नुपर्ने देखिन्छ,’ हवाई इन्धन डिपो प्रमुख यादबले क्लिकमान्डुसँग भने- ‘डिपोका कारण भवितव्यमा कुनै घटना भयो भने त्यसले स्थानीय बस्तीमा ठूलो जनधनको क्षति पुर्याउनुका साथै जहाजहरुलाई समेत प्रभाव पार्नेछ । बुधबारकै घटनालाई हेर्दा सौर्य एयरको जहाज अहिले भएको डिपोको विपरित पूर्वी क्षेत्रमा दुर्घटना भयो । कल्पना गर्नुस दक्षिणी क्षेत्रमा खसेको भए कति ठूलो घटना निम्तिन सक्थ्यो ।’

उनका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको भए करिब १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्न सक्ने जोखिम हुन्थ्यो ।

डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने औंल्याइएको छ । त्रिभुवन विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय विमानको भयानक दुर्घटना भएको थियो । टर्किस एयरलाइन्स र बंगलादेशको युएस बंग्लाको विमान दुर्घटना भएको थियो ।

टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठूलो क्षति हुनसक्थ्यो ।

‘भवितव्यबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न डिपो सार्न भनिएको हो,’ निगमका एक अधिकारीले भने ।

विश्वमा सबैभन्दा बढी विमानस्थलको रनवे (एयरपोर्ट) निर्माण गरेको जर्मनीको हंसा कन्सलटेन्टले समेत त्रिभुवन विमानस्थलको रनवेसँगै टाँसिएको हवाई इन्धन डिपोका कारण विमानस्थल उच्च जोखिममा रहेको औंल्याएको यादबले जानकारी दिए ।

उनका अनुसार अधिकांश विमान दुर्घटना टेकअप र ल्याण्डिङ्गको क्रममा चिप्लेर दायाँ–बाँया पुगेर हुने गर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसँगै टाँसिएको डिपो छ ।

‘ल्याण्डिङ्ग र टेकअप गर्ने क्रममा पाइलटले थोरै पनि सन्तुलन गुमाएको अवस्थामा वा अन्य प्राविधिक कारणले दक्षिणतर्फ जहाज खसेको अवस्थामा कसैले कल्पना गर्न नसक्ने गरी जनधनसहितको दुर्घटना निम्तिन्छ,’ यादबले भने- ‘सुरक्षाको दृष्टिकोणले हंसा कन्सलटेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानमा उत्तर पश्चिमको गुहेश्वरीस्थित गल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानेको छ । उनीहरुले डिपो त्यही सार्न जग्गा उपलब्ध गराएको छ ।’

डिपो सार्न दर्जनौं पटक पत्राचार तर चासो देखाइएनः आयोजना प्रमुख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले हाल रहेको उक्त डिपो पटक-पटक सार्न निगमलाई पत्राचार गरेपनि निगम व्यवस्थापनले त्यसतर्फ कुनै चासो देखाएको छैन ।

आयोजना निर्देशनालयले गत असार ३ गते पनि निगमलाई पत्राचार गरेको थियो । यसअघि २०७० साउन ११ गते पनि विस्तृत जानकारीसहित उक्त हवाई इन्धन भएको डिपो क्षेत्र खाली गर्न आयोजना निर्देशनालयले निगमलाई पत्राचार गरेको थियो ।

त्यसवाहेक पछिल्लो समयमा टेलिफोनमार्फत पनि डिपो सार्न पटकपटक सम्बाद गरेको तर निगम पक्षले कुनै चासो नदेखाएको निर्देशनालयका निर्देशक दिपेन्द्र श्रेष्ठले बताए ।

‘डिपो सार्न दुई वर्षदेखि दर्जनौं पटक निगमलाई पत्राचार गर्दैआएका छौं,’ आयोजना निर्देशक श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘तर निगमबाट हालसम्म डिपो सार्न कुनै चासो देखाइएन । हामी आफ्नो तर्फबाट द्रुत गतिमा काम गरिरहेका छौं । त्यसले गर्दा हाम्रो विस्तारको काम पनि अवरुद्ध भएको छ । डिपो नसारिएका कारण ट्याक्सी वेको काम पनि अवरुद्ध छ ।’

विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागिएको छ । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवे नजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने हुन्छ ।

ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।

अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने औंल्याइएको छ ।

तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घना बस्तीसमेत ठूलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ ।

‘समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न अहिले भएको निगमको डिपोको सम्पूर्ण क्षेत्रफल खाली गराउनुपर्ने बाध्यता छ,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘त्यो खाली भएको अवस्थामा मात्रै ती दुवैको भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन सकिन्छ ।’

हटाउनु पर्ने विमानस्थलभित्र रहेको आयल निगमको हवाइ इन्धन डिपो

कहाँ सार्न भनियो डिपो ?

विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवननजिकै अहिलेको हवाई इन्धन डिपो सार्न मास्टर प्लानअनुसार जग्गा उपलब्ध गराइएको उनले बताए ।

उक्त स्थानमा करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको छ । त्यहाँ खाल्डो भएकाले माटो पुरेर नयाँ डिपो निर्माण गर्न सकिने श्रेष्ठले बताए । मास्टर प्लानले फ्युल हाइड्रेन्ट सिस्टमसहित फ्युल डिपो निर्माण गर्नुपर्ने योजना तयार छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा हुने भएकाले उक्त स्थानमा फ्युल डिपो सार्न आयोजनाले निगमलाई पत्राचार गरिएको हो । मास्टर प्लानअनुसार विमानस्थलको उत्तर-पश्चिम क्षेत्रमा विमानस्थलको अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ निर्माण कार्य भइरहेको छ ।

उक्त क्षेत्रमा हवाई इन्धनको माग र खपत अत्यधिक हुने भएकाले सोही स्थानमा निगमको डिपो निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘गत वर्ष नै असोजतिर डिपो निर्माणका लागि समयसीमा दिइए पनि हालसम्म डिपो निर्माणका लागि टेण्डरसम्म निगमले आह्वान गरेको छैन,’ श्रेष्ठले भने ।

निगमका प्रवन्ध निर्देशक भट्ट भन्छन्- कुनै जानकारी छैन

उता नेपाल आयल निगमका प्रवन्ध निर्देशक डा.चण्डिका भटट्ले भने सिनामंगलस्थित हवाई इन्धन डिपो सार्ने विषयमा आफुलाई कुनै जानकारी नभएको जानकारी दिए ।

‘मलाई यो विषयमा कुनै जानकारी छैन, म आइसकेपछि डिपो सार्नु पर्ने विषयमा मलाई कुनै आधिकारिक पत्रसमेत प्राप्त भएको छैन । मभन्दा पहिला केही भएको भए मेरो जानकारीमा छैन।’

२०८० फागुन ६ गते प्रचण्ड सरकारले भट्टलाई निगमको प्रवन्ध निर्देशकम नियुक्त गरेको थियो । केहि दिनअघि पनि विमानस्थल कार्यालयले निगमलाई उक्त डिपो सार्न पत्र पठाएको छ । तर, प्रवन्ध निर्देशक भट्ट आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिएका छन् ।

डिपो सार्न अध्ययन समिति गठन तर कुनै काम भएन

निगमले हवाई इन्धनको डिपो सार्ने विषयमा गत वर्षको भदौ १७ गते अध्ययन समिति बनाएको थियो ।

तत्कालिन समयमा क्लिकमाण्डुले डिपो सार्न निगमको अटेरी शिर्षकमा समाचार प्रकाशित गरेपछि निगमले इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका ईन्जिनियर सुरज साहको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाइएको थियो ।

निगम सञ्चालक समितिले गत आर्थिक वर्षको लागि स्वीकृत गरेको नीति तथा कार्यक्रमअन्तर्गत डिपो सार्ने योजनाका लागि उक्त समिति गठन गरेको थियो ।

समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक सहकार्य गरी नागरिक उड्डयन प्राधिकरणले तयार पारेको गुरुयोजना (मास्टर प्लान) अनुसार निगमलाई नयाँ डिपो निर्माणको लागि प्रस्तावित निर्माण स्थल यकिन गर्ने जिम्मेबारी तोकिएको थियो ।

मास्टर प्लानअनुसार उपलब्ध गराउने भनिएको जग्गाको स्थान तथा क्षेत्रफल उपयुक्तताको पहिचान गर्ने र नागरिक उड्डयन प्राधिकरणको तर्फबाट तयार भएको मास्टर प्लानको आधारमा प्रस्तावित ‘डिपो ड्रवाइङ डिजाइन’ को आधारमा भौतिक संरचनाको बारेमा अध्ययन गरि दुई महिनाभित्रमा प्रतिवेदन उपलब्ध गराउन समयसीमा दिइएको थियो ।

समिति गठन भएको झण्डै १ वर्ष पुग्न लाग्दा पनि यो समितिले अध्ययन गरेको प्रतिवेदन बाहिर आएको छैन ।

स्रोतका अनुसार समितिले प्रतिबेदन तयार गरेको थियो । तयार पारिएको प्रतिवेदनमा तत्कालिन निगम प्रमुखले हस्ताक्षर गर्न नपाउँदै उक्त प्रतिवेदन स्वार्थ समुहसम्म पुगेको थियो । उक्त प्रतिवेदन स्वार्थ समूहसम्म पुगेको बिषय निगममा ठूलो हल्ली खल्ली भएको थियो ।

सेटिङ’ का कारण अघि बढेन डिपो सार्ने योजना

निगमका एक पूर्वअधिकारीका अनुसार डिपो सार्ने योजना माफियाहरुको ठूलो सेटिङका कारण अघि बढ्न नसकेको हो । एक वर्षअघि सार्ने योजना अघि बढाए पनि विभिन्न स्वार्थ केन्द्रको अर्बौं रुपैयाँको चलखेल र सेटिङका कारण उक्त योजना अघि बढ्न सकेन ।

नयाँ स्थानमा डिपो निर्माण गर्नका लागि करिब ६ अर्ब रुपैयाँको लगानी लगाउनु पर्ने र त्यसका लागि केही ठूला स्वार्थ केन्द्रहरुले वास्तविक लागतको तुलनामा दोब्बर लागतमा टेण्डर गर्न निगममाथि दबाब दिएकाले निगम डिपो सार्ने योजनाबाट पछि हटेको हो ।

‘रनवेको शुरू वा अन्त्यतिरको क्षेत्रमा डिपो हुँदा पनि जोखिम त्यतिकै हुन्छ । हाम्रो जस्तै अवस्थामा अन्य मुलुकमा पनि हवाई डिपो छन, डिपो सारेर भवितव्य जोखिमलाई न्युनिकरण गर्न सकिन्छ, तर यहाँ डिपो सार्न राजनीतिक आडमा ठूला माफिया गिरोह सक्रिय रहेकाले समस्या परेको हो’, ति अधिकारीले भने ।

उनका अनुसार केही ठूला स्वार्थ समूह डिपो सार्नुपर्ने भन्दै अहिले पनि राजनीतिक रुपमा लविंग गर्दै आएका छन् । डिपो सार्दा निर्माणसम्बन्धी टेण्डरमा सहभागी भएर ठूलो रकम हत्याउने खेलमा त्यस्ता समूह सक्रिय रहेका कारण पनि यो डिपो सार्ने बिषय आफैमा विवादास्पद बनेको छ ।

‘इन्धन डिपो निर्माणको क्षेत्रमा कुनै अनुभव नै नभएको केही समूह राजनीतिक र पहुँचको आडमा दोब्बर लागत खर्चमा निर्माणका लागि चर्को दबाब दिएपछि डिपो सार्ने योजना अघि बढ्न नसकेको हो,’ ती अधिकारीले भने,‘डिपो सार्न त्यति सहज छैन । यो निक्कै प्रज्जवलशिल पदार्थ हो । यसको निर्माणमा विशिष्टता प्राप्त गरेको व्यक्ति वा कम्पनीले मात्रै निर्माण गर्न सक्छ । कसैले सेटिङ गरेर हत्याउन खोज्यो भने निर्माणपश्चात् हुने दुर्घटनाको जिम्मेवारी कसले लिने ?’

उनका अनुसार निगमभित्रका एक समूह सकेसम्म डिपो सार्नु परे निर्माणको जिम्मेवारी इण्डियन आयल कर्पोरेशन(आईओसी) लाई दिने पक्षमा छन । आईओसीको डिपो ट्याँक बनाउने बिषयमा बिशिष्टता हासिल छ । आईओसीको त्यो बिषयमा निर्माण गर्ने छुट्टै बिशिष्टीकृत टिम नै छ । अहिले अमलेखगञ्जस्थित पाइपलाइनबाट आउने भनिएको पेट्रोल भण्डारण गर्न आवश्यक पर्ने ट्यांक र अन्य भौतिक निर्माणमा पनि आईओसीकै टीम संलग्न छ ।

निगमकै अर्को खेमा भने बाहिरी स्वार्थ समूह वा नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने भन्दै आन्तरिक रुपमा माफिया गिरोहसँग लविंग गर्दैआएका छन् ।

‘स्वार्थ समूहको चासो कतिसम्म देखिएको छ भने डिपो सार्न आवश्यक पर्ने डिजाईन तयार, लागत खर्चलगायतका सम्पूर्ण जिम्मेवारी निगमको हो । तर निगमको संलग्नता वेगर उक्त डिपो सारेर नयाँ निर्माण हुने डिजाइनसमेत तयार भइसकेको छ । स्वार्थ समूहले आफुखुशी बिदेशी कम्पनीलाई डिजाइनको जिम्मेवारी दिएर डिजाइनसमेत तयार गराइसकेका छन्,’ती अधिकारीले भने,‘डिजाइन अहिले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग सुरक्षित छ । त्यो डिज़ाइन गर्न नेपाल आयल निगमले औपचारिक रुपमा हालसम्म कसैलाई जिम्मेवारी पनि दिएको छैन । डिजाइन वापत कुनै कम्पनीलाई भुक्तानीसमेत दिएको छैन । अब आफै बुझनुस, डिपो सार्ने बिषयमा कुन गिरोहको इच्छा शक्ति छ ।’

डिपो सार्ने योजना अघिबढ्न नसक्नुमा विमानस्थलको रनवे निर्माण भइसकेपछि मात्रै जग्गा उपलब्ध गराउनुपर्ने पनि अर्को कारण भएको ती अधिकारीले बताए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले विमानस्थलको रनवे विस्तारसँगै तत्कालिन समयमै जग्गा उपलब्ध गराउनुपर्ने थियो । अहिले बिस्तार गर्न लागिएको रनवे हाइड्रेन्डसहितको हवाईइन्धनको डिपो हो ।

‘हाइड्रेन्डको लागि रनवे निर्माण गर्नुभन्दा पहिले जमिनमुनी पाइपलाइन ओछ्याउनुपर्छ । ती सबैका लागि पहिले नै जग्गा उपलब्ध गराउनु पर्ने हुन्छ,’ ती अधिकारीले भने- ‘रनवेको अधिकांश काम सम्पन्न गरिसकेपछि बल्ल डिपो सार्न जग्गा उपलब्ध गराइयो । यस्तो अवस्थामा हाइड्रेन्डसहितको हवाई इन्धन डिपो कसरी निर्माण गर्न सकिन्छ ?’

उनका अनुसार यस्तै अवस्था पोखरा विमानस्थल र महेन्द्रनगर विमानस्थलमा देखिएको थियो । विमानस्थल र रनवे निर्माण भइसकेपछि मात्रै हवाई इन्धन डिपो निर्माण गर्न भनिएको थियो ।

‘विमानस्थल र रनवेको निर्माणसँगसँगै उपयुक्त स्थानमा जग्गा पहिले नै उपलब्ध गराएको आधारमा डिपो पनि निर्माण हुनुपर्ने हो,’ उनले भने- ‘तर विमानस्थल र रनवे तयार भइसकेपछि बल्ल डिपो निर्माण गर्न भनिन्छ । यसले गर्दा निगमले सुरक्षा र वैज्ञानिकरुपले उपयुक्त स्थानमा डिपो बनाउन सकेको छैन ।’

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय


राजेश बर्मा