नेपालमा किन भइरहन्छन् विमान दुर्घटना ? अहिलेसम्म ६८ दुर्घटना



नेपालमा विमान दुर्घटनाको कारण मौसम मात्रै हैन । नियामकको लापर्बाही विमानको गुणस्तर र पाइलटको अनुसासन, राजनीतिक निगरानीको अभावले पनि नेपालमा बारम्बार विमान दुर्घटना हुने गरेका छन् ।

काठमाडौं । बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । एक जना पाइलट घाइते भएर उनको उपचार भइरहेको छ ।

बिहान ११ बजेपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान उडेकी केही सेकेन्डमै दुर्घटना भएको हो ।

विमानस्थल सुरक्षाकर्मीहरुका अनुसार विमान विमान उडेको केही सेकेन्डमै दायाँतर्फ ढल्किएर ठोक्किएको थियो । लगत्तै त्यहाँ आगोको मुस्लो देखियो ।

बुधबारको दुर्घटनाले पनि नेपालको हवाइ यातायात कति असुरक्षित छ भनेर संकेत गर्छ । यसअघि पनि नेपालमा पटक पटक विमान दुर्घटना भए । यसअघि पोखरा विमानस्थलमा अवतरणको क्रममा यति एयरको विमान दुर्घटना हुँदा ७२ यात्रुको मृत्यु भएको थियो । त्यसको एक वर्ष नपुग्दै काठमाडौंमा दुर्घटना भएको हो ।

श्रृंखलाबद्ध दुर्घटना

२०२३ को जनवरीमा यति एयरको विमान पोखरामा दुर्घटना हुँदा चालक दलका चार जनासहित विमानमा रहेका ७२ यात्रुको मृत्यु भएको थियो । जहाँ ५७ जना नेपाली र १५ जना विदेशी नागरिक थिए । जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्न केही किलोमिटर मात्रै बाँकी छँदा दुर्घटना भएको थियो ।

यस्तै २०२२ को मेमा तारा एयरको विमान जोमसोममा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । यस्तै २०१९ मा बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा ५१ यात्रुको मृत्यु भएको थियो ।

जहाँ २० जना घाइतेको उद्धार गरिएको थियो । उक्त दुर्घटनाबारे भने अनुसन्धान टोलीले गलत विन्दुबाट प्रवेश गर्न खोज्दा विमान दुर्घटना भएको बताएको थियो । यस्तै २०१५ मा टर्किस एयरको जेट अवतरणको क्रममा बाक्लो हुस्सुका कारण दुर्घटना भएको थियो । २३८ यात्रु बोकेको उक्त विमान दुर्घटना हुँदा यात्रुहरु भने गम्भीर घाइते भएनन् ।

नेपालमा किन भइरहन्छ विमान दुर्घटना?

नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार १९५५ देखि हालसम्म नेपालमा जम्मा ६८ वटा विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा ४४ जना घाइते भएका छन् । नेपालमा छिटो छिटो मौसम परिवर्तन भइरहनुलाई पनि विमान दुर्घटनाको कारण मान्ने गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा बाक्लो बादल तथा हुस्सु लाग्दा कतिपय अवस्थामा एकै छिनमा भिजिबिलिटी नहुँदा विमान डाइभर्ट गर्नु परेको हुन्छ ।

यसैकारण पनि नेपालको आकासलाई असुरक्षित मानिन्छ । जहाँ अनुभवी पाइलटले पनि चुनौती महसुस गर्छन् । यससँगै नेपाल सीमित प्रकारका जहाजमा निर्भर रहँदै आएको छ । जस्तै ट्विनअटर, लेट एल ४१० र डोर्नियर्स जस्ता जहाजमा नेपाल निर्भर रहँदै आएको छ ।

यी विमानका लागि अन्यको तुलनामा उच्च पहाडी क्षेत्रमा छोटो टेक अफ र ल्यान्डिङको आवश्यकता पर्छ । यस्तै कतिपय विश्लेषकहरुले उच्च पहाडी क्षेत्रलाई कठिन अवस्था मान्छन् र यसवाहेक नेपाली पाइलटका लागि उचित उपकरण र सुविधा पनि अभाव हुने गरेको विज्ञहरुको भनाइ छ ।

खराब जहाज र पाइलटको अनुशासन

नेपाल वायु सेवा निगमले नयाँ विमान खरिद गर्ने जोखिम उठाउन सकिरहेको छैन । यसकारण पनि विदेशी सेकेन्ड हेन्ड विमान खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ । यससँगै राजनीतिक नेताहरुसँगको घनिष्ठ सम्बन्धका कारण पनि सुरक्षा मापदण्ड उल्लंघन गर्ने कम्पनीलाई पनि सरकारले कारबाही गर्न सकिरहेको हुँदैन । कतिपय विमानस्थलमा त आधारभुत कम्पाउन्ड, पार्किङसहित आपतकालीन सवारी मापदण्ड पनि पालना भएको हुँदैन ।

यससँगै कतिपय अवस्थामा पाइलटहरुले नै अनुसासन पालना नगरेका थुप्रै घटना भएका छन् । पाइलटहरुबीच कुटपिटको घटना त केही महिनाअघि मात्रै समाचारमा आएको थियो । यसबीचमा तीन वटा कम्पनीले केही पाइलटलाई उडानमा प्रतिबन्ध नै लगाउनु परेको थियो ।

कतिपय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका अध्ययन अनुसार नेपालका अधिकांश विमान नयाँ ब्रान्डेड हैनन् । यदि नयाँ ब्रान्डेड विमान खरिद गर्दा ती विमानको उडान नेपाल जस्तो आर्थिक रुपमा विपन्न देशमा महंगो हुनसक्ने र कम्पनीले नाफा पनि गर्न नसक्ने बताइन्छ । यसैबीच नेपाली आकास असुरक्षित भन्दै यरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाइरहेको छ ।

नागरिक उड्डययन प्राधिकरण नेपालको हवाइ यातायातलाई व्यवस्थित गर्ने र निगरानी गर्ने सरकारी निकाय हो । विडम्वना के छ भने नागरिक उड्डययन प्राधिकरणले सिफारिस गरेका थुप्रै दुर्घटनाका अनुसन्धानहरुमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयन गर्न सकिरहेको छैन ।

यसले पनि कम्पनी र सरकारबीचको साँठगाँठ बलियो रहेको देखाउँछ । यस्तै अवस्थाले पनि युरोपियन युनियनलाई प्रतिबन्ध लगाउन बाध्य पारेको बताइन्छ ।

यस्तै २०२० यता नागरिक उड्डययन सम्बन्धी दुई विधेयक संसद्‍मा अगाडि बढ्न सकिरहेका छैनन् । यदि यी विधेयक अगाडि बढेको खण्डमा नागरिक उड्डययनको क्षेत्र पुनर्संरचना गर्नसक्ने र अनियमितताहरु रवक्न सक्ने अपेक्षा गरिन्छ । जस्तै सुरक्षा मापदण्ड पालना तथा सञ्चालनका सम्बन्धमा कडाइ गर्न सक्ने कुरालाई पनि ती विधेयकले निश्चित गर्ने अपेक्षा गर्न सकिन्छ ।


क्लिकमान्डु