ठेकेदारले पुल निर्माणमा ढिलाई गर्दा बसही खोलामा दुर्घटनाको जोखिम बढ्दो

35
Shares

जनकपुरधाम । धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन् । निर्माणमा भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रसमेत बनेको छ ।

ढल्केबरदेखि जटहीसम्मको सडक छ लेनमा विस्तार भइसके पनि बसही खोला पार गर्न अझै पुरानै साँघुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । फराकिलो सडकबाट तीव्र गतिमा आएका सवारीसाधन साँघुरो पुलमा प्रवेश गर्दा चालक झुक्किने र दुर्घटना हुनेक्रम बढेको स्थानीयको भनाइ छ ।

स्थानीय विजय साहले निर्माण व्यवसायीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेको बताए । यस अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेको र मानवीय क्षतिसमेत भएको उनको भनाइ छ । उनका अनुसार अहिले निर्माण सामग्रीमा समेत खिया लाग्न थालेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरका अनुसार रु १४ करोड आठ लाख २३ हजारको लागतमा नागार्जुन–हेक कन्स्ट्रक्सन जेभीसँग २०७६ असार ३१ गते सम्झौता भएको थियो । २०७८ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म करिब ४० प्रतिशत मात्र काम भएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगाप्रसाद साहले पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले अपेक्षित रूपमा काम नगरेपछि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार सोही प्रक्रियाका कारण अहिले निर्माण रोकिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको बताए । उनका अनुसार फराकिलो सडकबाट आउने सवारीसाधन एक्कासि साँघुरो पुलमा पुग्दा चालक अलमलिने गरेका छन् । जोखिम न्यूनीकरणका लागि ट्राफिक संकेत राखिए पनि चालकको असावधानीका कारण दुर्घटना रोकिएको छैन ।

नेपाल–भारत व्यापार, जनकपुरधामको धार्मिक पर्यटन तथा मधेस प्रदेशको यातायात सञ्जालका दृष्टिले महत्वपूर्ण मानिने यस सडकखण्डमा पुल नबन्दा आवागमन मात्र होइन, स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको जनकपुरधाम उपमहानगरपालिकाका दीपेन्द्र तिवारीले बताए । स्थानीयवासी तथा व्यवसायीले राष्ट्रिय महत्वको यस सडक आयोजनालाई पूर्णता दिन बसही खोलाको पुल यथाशीघ्र निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।