गुडविल सहकारीले यसरी ठग्यो यामबहादुरको ११ करोड



काठमाडौं । भक्तपुरका यमबहादुर विष्टले माइतीघर मण्डलामा सहकारी पीडितले धर्ना थालेको सुनिरहेका थिए । दिन बित्यो, हप्ता बित्यो । खासै जाँगर चलेन । एक महिनासम्म पनि धर्नाले निरन्तरता पाएपछि उनमा सानो आशा पलायो । मण्डला जान थाले। सहकारी पीडितसँग चिनजान गर्न थाले । आफ्ना व्यथा सुनाउन थाले । उनीहरुका पीडा सुन्न थाले । अहिले उनको दिन त्यही मण्डलामा बित्छ ।

गुडविल बचत तथा ऋण सहकारीबाट करोडौं ठगिएपछि असारको चर्को घाम र मुसलधारे वर्षासँग जुध्दै सडक संघर्षमा छन् उनी । क्लिकमान्डुकर्मी त्यहाँ पुग्दा विष्ट धर्नास्थलमा रहेको ‘ग्रिन बेल्ट’मा बसेर अर्का व्यक्तिसँग दु:ख साँटिरहेका थिए । एक छिनअघिको चरक्क तालु पोल्ने घामलाई बादलले छपक्कै ढाक्यो । पानीका ठूला-ठूला थोपा तप्किएपछि धर्नामा बसेकाहरु पालमुनि छिरे ।

विष्ट त्यहीँ बसिरहे । उनीसँग बसेका मानिस पनि उठेनन् । केही थोपा पानी उनको तालुमा बर्सियो । ह्वार्र परेर पानी थामियो । खासै भिजाएन । बादल पातलियो । अर्का व्यक्तितिर फर्किएर उनले भने, ‘शीलत होला भनेको भएन ।’

ती व्यक्तिले केही भन्न खोज्दै थिए, विष्ट आफैंले भनिहाले, ‘भित्रैदेखि भत्भती पोलेको मत पानीले कति नै पो शीलत होला र हुन त !’

केही बेरअघि डेढ लाख र ४ लाख ठगिएका महिलासँग कुराकानी भइसकेको थियो । उनको व्यथा झन् ठूलो हो कि जस्तो लाग्यो।

सोधेँ, ‘म सञ्चारकर्मी हुँ, कुरा गर्न मिल्छ ?’

‘मिलिहाल्छ नि,’ उनले सहजै स्वीकार गरे ।

नजिकै रहेको प्लास्टिकको कुर्सी तानेर छेउमै बसेँ ।

‘कति ठगिनुभएको छ ?’

‘धेरै नै छ मेरो त !’

‘भन्न मिल्छ भने भन्नुस् ।’

‘११ करोड ।’

सुनिनसक्दै नौनारी गले ।

‘आम्मामामा ! कसरी ठगिनुभयो यति धेरै पैसा ?’

‘यसको लामो कथा छ ।’

‘भन्नुहुन्छ भने म तपाईंहरुकै कथा सुन्न आएको ।’

उनले कथा सुनाउन थाले-

झापाको दुधे घर भएका विष्ट २०३५ सालमा काठमाडौं आए । २०४३ सालतिर परिवार पनि ल्याए । काठमाडौं आएर उनी प्रतिष्ठित टेक्सटायल व्यवसायी रामशंकर श्रेष्ठको घरमा डेरा गरेर बसे । रामशंकरका छोराछोरी र आफ्ना छोराछोरी उस्तै-उस्तै उमेरका थिए ।

रहँदै बस्दै जाँदा घरबेटीसँग सम्बन्ध प्रगाढ हुँदै गयो । छोराछोरी र श्रीमतीलाई सहरमा छाडेर उनलाई कतै टाढा जान पनि निकै सहज भयो । सन् १९९१ मा उनलाई दक्षिण कोरिया जाने चाँजोपाँजो मिल्यो । रामशंकरकै भरमा छोराछोरी छाडेर तीन वर्ष उतै बसे ।

फर्किएर आएपछि सन् १९९४ देखि ९६ सम्म उनी घर बसे । ९६ मा फेरि जापान गए र ६ वर्ष बसेर २००३ मा फर्किए । भाडामा बसेको २० वर्ष भइसकेको थियो । जग्गा किने र जापानबाट फर्किएपछि घर बनाए । शम्भु कन्स्ट्रक्सनमा कार्यरत रहेकै बेला २००६ मा फेरि अमेरिका जाने मौका मिल्यो । १० वर्ष अमेरिका बसेर २०१६ मा फर्किए ।

बीचमा आउने-जाने भइरहेको थियो । त्यसबेला सम्ममा २ छोरा र १ छोरीको विवाह भयो । तर, दुधे जान कसैले मन देखाएन । २५-३० वर्षदेखि त्यहाँको घरजग्गा अलपत्र परिरहेको थियो । उनले बेच्न उचित ठाने ।

एउटै परिवार जस्तो भएर बसेकाहरु दुई वटा घरमा बसे पनि आतेजाते भइरहन्थ्यो ।

त्यसबेला रामशंकरका छोरा दिवाकरले श्रीमतीसहित भएर गुडविल बचत तथा ऋण सहकारी संस्था चलाइरहेका थिए । छोराले गरेको प्रगति कहिलेकाहीँ रामशंकरले मुक्तकण्ठले सुनाउँथे । बालकैदेखि आफ्नै छोराछोरीसँग हुर्किएको दिवाकरको प्रगति सुनेर उनी पनि दंग पर्थे ।

दिवाकरले सहकारीसँगै घरजग्गाको पनि काम गर्ने गरेको सुनाउँथे । एक दिन जग्गा किन्ने मान्छे काठमाडौंमै भेट्न आउने भए । मानभवनमा उनले दिवाकरलाई पनि बोलाए । जग्गा किन्ने मान्छेले आधा पैसा अहिले दिन्छु, आधा पछि दिन्छु । ब्याजचाहिँ नियमित दिइरहन्छु भन्यो । जग्गाको मूल्यांकन ९ करोड ६० लाख गरियो ।

फेरि भोलिपल्ट भेट्ने कुरा भयो । उनीहरु बसिरहेका थिए । त्यो मान्छे आउन ढिला भइरहेको थियो । दिवाकरले त्यही मान्छेले दिएजति पैसा दिन्छु जग्गा मलाई नै दिनुस् भन्यो ।

विष्टले झन् धेरै सहज महसुस गरे । भतिजो जस्तो व्यक्तिलाई आशंकका गर्ने कुरा पनि भएन । ‘जग्गाको ९ करोड ६० लाख नै भयो । म पैसा सहकारीमा मुद्दतिमा राखिदिन्छु, वर्षको १ करोड ४३ लाख ब्याज नै आउँछ, तीन-तीन महिनामा ब्याज खानु बस्नु,’ दिवाकरको भनाइ उद्धृत गर्दै उनले भने ।

यमबहादुरलाई ठिकै लाग्यो । जग्गा पास गर्न झापा जाने सल्लाह भयो । तर, जग्गा अर्कै व्यक्तिको नाममा पास गरिदिन दिवाकरले आग्रह गर्‍यो । दिवाकरले भनेअनुसार नै उनले २०७६ साल मंसिर २० गते साथीको नाममा जग्गा पास गरिदिए ।

जग्गा बेचेको पैसा यमबहादुरले देख्न पाएनन् । सहकारीमा मुद्दति खाता खोलियो । गुडविलबाट चेक प्राप्त भयो । पैसा जम्मा गरेको निस्सा लिए । पुसमा ११ लाख ब्याज लिए । चैतमा अर्को चरणको ब्याज लिनुपर्ने थियो । तर, लकडाउन भयो । त्यसपछि उनको सबै पैसा धरापमा पर्‍यो । उनको विश्वासमाथि घात भयो ।

बुझ्दै जाँदा दिवाकरले घरजग्गा र मिटरब्याजमा निकै ठूलो पैसा लगानी गरेको उनले पाए । ‘त्यही पैसा फसेकाले ऊ पनि फस्यो, म पनि फसेँ,’ उनले भने ।

विष्टलाई दिवाकरबाट पैसा फिर्ता होला भन्ने आश मरिसकेको छ । तर, सहकारीहरु सरकारी निकायमा दर्ता भएका हुन्छन् । सहकारीलाई सरकारले सञ्चालन अनुमति दिएको छ । उनले देखेका दक्षिण कोरिया, जापान र अमेरिका जस्ता देशमा यस्तो भयो भने राज्यले टेक ओभर गर्छ ।

‘राज्यले कसरी असुल उपर गर्छ त्यो हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘गरिबको पैसा पहिला राज्यले दिन्छ, पीडकबाट राज्यले पछि उठाउँछ, त्यही अपेक्षाका साथ धर्नास्थलमा आएको हुँ ।’

उनले आफ्ना पीडा सुनाउँदै गर्दा आकाश फेरि धुम्म भयो । सिमसिम पानी पर्न‍ थाल्यो तर उनी त्यहीँ बसिरहे ।

गुडविल बचत तथा ऋण सहकारी २०६५ साल साउन २३ गते साविक डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको हो । दर्ता नं. १७७७/०६४-६५ रहेको यो सहकारीले काठमाडौं महानगरपालिका वडा नं. ७ चाबहिलमा कार्यालय स्थापना गरी वचत तथा ऋणको कारोबार सुरु गरेको हो ।

‘सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले २६ जना स्थानीय सदस्य मिली स्थापना गरिएको हो । सदस्यहरुलाई नियमित वचत गर्ने बानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यसमेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ’ संस्थाको परिचयमा भनिएको छ ।

तर, यही उद्देश्य देखाएर यामबहादुरजस्ता हजारौंलाई सहकारीका सञ्चालक र व्यवस्थापकले ठगेका छन् ।


डीआर आचार्य