सरकारले नै उल्लङ्घन गर्‍यो राष्ट्र बैंक ऐन, गभर्नर रिक्त हुँदा पनि कामु तोकिएन

357
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । राष्ट्र बैंक ऐनको उलंङ्घन गर्दै सरकारले कानूनतः एक महिना अगाडि नै नियुक्त हुनुपर्ने गभर्नर रिक्त हुँदासम्म कायम मुकायम (कामु)को जिम्मेवारीसमेत कसैलाई दिएको छैन ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्तिको सार्वजनिक सूचना नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था छ ।

तर, सरकारले राष्ट्र बैंक ऐनको उलंङ्घन गर्दै गभर्नर पद रिक्त भइसक्दासमेत कामुको जिम्मेवारीसमेत कसैलाई तोकेको छैन ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालय २४ चैतमा सकिएको छ । अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर २२ चैतमै बिदा भइसकेका छन् । तर, सरकारले भने अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्नु त कहाँ हो कामुको जिम्मेवारीसमेत तोकिदिएको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म कामु गभर्रनको जिम्मेवारी कसैले पाएका छैनन् ।

अर्थ मन्त्रालयले पनि अहिलेसम्म कामु गभर्नर तोकेर पत्र पठाएको छैन ।

अर्थ मन्त्रालयले आज कामुको जिम्मेवारी दुई डेपुटी गभर्नरमध्ये सिनियरलाई दिने संकेत गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार कसलाई तोक्ने भन्ने निर्णय गरेर आज पठाइने भएको छ ।

यसअघि गभर्नरले पनि सिनियर डेपुटी गभर्नर निलम ढुंगानालाई निमित्तको जिम्मेवारी दिने गरेकोले उनले नै आज कामुको जिम्मेवारी पाउसक्ने मन्त्रालयले जनाएको छ ।