पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादीको उपाध्यक्ष

637
Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष मनोनित भएका छन् ।

चैत १९ गते बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो।

पुन यसअघिका माओवादी बैठकमा समेत सरिक हुँदै आएका थिए । २०७२ सालदेखि २०७९ सम्म उपराष्ट्रपति भएका पुन पार्टी राजनीतिमा सक्रिए भएको भन्दै आलोचना हुँदै आएको छ ।

माओवादी केन्द्रले जारी गरेको सर्कुलरमा पुनलाई उपाध्यक्ष बनाउनेदेखि प्रदेश सहइन्चार्ज खारेजसम्मका विषय समेटिएका छन्।

यस निर्णयसँगै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित विशेष र प्रवास प्रदेशहरूमा रहेका प्रदेश सह इन्चार्जहरूलाई हटाएर प्रदेश समन्वय कार्यालयका सदस्यमा कायम गरिएको छ । ती सदस्यहरूले समन्वय कार्यालयमार्फत कार्य विभाजन पाउने छन् ।

बैठकले आवश्यक परे समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयमार्फत सदस्य संख्या थप गर्न सकिने व्यवस्था गरेको छ । साथै, समन्वय कार्यालय विगतको मापदण्ड अनुसार सञ्चालन गरिने र केन्द्रीय समितिप्रति जबाफदेही रहने निर्णय पनि गरिएको छ ।

पार्टीले केही जिल्लामा नयाँ इन्चार्ज पनि तोकेको छ । सप्तरीमा विश्वनाथ साह, महोत्तरीमा प्रकाश पोखरेल, बाजुरामा मनलाल खत्री र जाजरकोटमा गणेशप्रसाद सिंहलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, पार्टी एकता प्रक्रियाबाट जोडिएका नेताहरूलाई वैकल्पिक तथा पूर्ण केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । प्रदेश १ बाट जयराज लिम्बु, प्रवीण चाम्लिङ, मधेशबाट लक्ष्मी चौधरी, प्रमोद साह, बागमतीबाट नवीन रिमाल, अर्जुन योगी, कर्णालीबाट भीमबहादुर मल्ल, तर्कबहादुर शाही, सुदूरपश्चिमबाट हरिस ठकुल्ला र प्रदेश १ बाट पूर्णसिंह राजवंशी मनोनीत भएका छन् ।

छात्र संगठनसँग सम्बन्धित कार्यदलको सिफारिसअनुसार गरिएको एक तह बढुवा स्थगित गर्दै स्थानान्तरण मात्र स्वीकृत गरिएको छ । सम्बन्धित नेताहरूलाई अघिल्लो तहमा पुनः संगठित गरिनेछ भने केन्द्रीय प्रतिनिधिको कार्यकाल अन्त्य भएको जानकारी गराइने निर्णय पनि बैठकले गरेको छ ।