
विराटनगर । भारतले (ब्युरो अफ इन्डियन सर्टिफिकेट) बीआईएसको नाममा रोकेको नेपाली प्लाइको निकासी फेरि सुरु भएको छ ।
नेपाली ८० वटा प्लाइ उद्योग मध्ये ४७ वटा उद्योगले बीआईएस सर्टिफिकेटका लागि आवेदन दिएका छन् । ति मध्ये भातरले तत्काल १० वटा उद्योगलाई बीआईएस सर्टिफिकेट दिएपछि निकासी सुरु भएको नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए ।
निवेदन दिएका मध्ये ५ उद्योगले यसै महिना भित्रमा बीआईएस सर्टिफिकेट पाउँदै छन् । घिमिरेले क्लिकमान्डुसँग भने,’निवेदन दिन बाँकी सवै उद्योगले तीन महिना भित्रमा प्रमाणपत्र पाउने द्विपक्षीय सहमति भएको छ । ‘यो स्थायी समाधान हो,’ घिमिरेले भने, ‘भारतले अब बीआईएसका नाममा नेपाली प्लाइलाई निकासीमा अवरोध गर्ने अवस्था रहेन ।’
नेपालका ४५ वटा प्लाइ उद्योगले आफ्नो उत्पादन भारत निकासी गर्दै आएका थिए । यसअघि ति मध्ये २ उद्योगले मात्र बीआईएस मापदण्ड पूरा गरेपछि सबै उद्योगको निकासी ठप्प भएको थियो । सुरुवाती बीआईएस सर्टिफिकेट लिनेमा विराटनगरको सेन्चुरी र ग्रीन प्लाइ उद्योग मात्र थिए।
बीआईएस मापदण्ड पूरा नगरेको भन्दै भारतले भन्सार चेक जाँच नगरेपछि पूर्वको काँकरभिट्टा, विराटनगर सहित भैरहवा, कृष्णनगर र नेपालगञ्ज नाकाबाट झण्डै एक महिना प्लाइ निकासी ठप्प भएको थियो ।

मेची भन्सार कार्यालय काकडभिट्टाले जाँचपास गरेर भारतीय भन्सार पानीटंकीले बीआईएसका नाममा रोकेका प्लाइ बोकेका ३४ ट्रकलाई पुन काँकरभिट्टा फर्काएर निकासीको तयारी भइरहेको घिमिरेल बताए ।
भारतको पानीटयांकी भन्सारमा रोकिएका प्लाइ बोकेका ३४ ट्रक बीआईएसकै नाममा नेपाल फर्काइएको र ति प्लाइमा बीआईएस गुणस्तर प्रयोग गरेर पुन निकासीको तयारी भइरहेको घिमिरेले जानकारी दिए । ति ट्रकमा रहेको प्लाइमा बीआईएस गुणस्तर प्रयोग भएको थिएन । त्यसैले नेपाल फर्काएर बीआईएस प्रयोग गरेर निकासीको तयारी भइरहेको उनको भनाइ छ ।
भारतको उद्योग संवर्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बरमा जारी गरेको सूचनामा प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फरबरी २८ सम्म बीआईएस लिनु नपर्ने जनाएको थियो ।
विभागले २०२५ फरबरी २८ मा अर्को सूचना जारी गर्दै लघु, साना तथा मझौला उद्योगले आगामी मे २८ सम्म बीआईएस लिनुनपर्ने जनाएको थियो । उक्त अवधिमा उद्योगहरुले आफ्नो गुणस्तर बढाएर बीआईएस स्ट्याण्डर्डमा पुर्याउने समय सीमा दिइएको थियो । तर तीन साता अघि एकाएक प्लाइ निकासी रोकीएपछि नेपाली उत्पादनकर्ता अन्यौलमा परेका थिए।
भारतबाट प्राविधिक आएर उद्योगको निरीक्षण गर्दै बीआईएसको स्वीकृती दिन थालेकाले तीन महिना भित्रमा यहाँका निकासी गर्ने सबै उद्योगले गुणस्तर पूरा गरेको प्रमाणपत्र पाउने र निकासी सहज हुने अध्यक्ष घिमिरेले बताए ।
भन्सार विभागको तथ्यांकअनुसार भारत लगायतका मुलुकमा प्लाइउडको निकासी बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/२०७९ मा प्लाइउड, प्लसडोर र ब्लकबोर्डको निकासी २७ करोड ६६ लाख ७२ हजार थियो । त्यसैगरि आर्थिक वर्ष २०७९/२०८० मा ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार बराबरको प्लाइको निकासी भएको छ । त्यसैगरि आव २०८०/२०८१ मा ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार बरबरको प्लाइ भारत निकासी हुँदा चालु वर्षको फागुन मान्तसम्ममा ६ अर्बको प्लाइउड भारत निकासी भएको भन्सारको तथ्यांक छ ।
नेपालबाट प्लाइ मात्र नभएर चीनतर्फ भेनियर पनि निकासी हुँदै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/२०७९ मा नेपालबाट चीननतर्फ २४ लाख ४५ हजार बराबरको भेनियर निकासी भएको तथ्यांक छ । आव २०७९/२०८० मा ४ करोड १० लाख २८ हजार रुपैयाँ बरबरको भेनियर भारत निकासी भएको देखिन्छ । त्यसैगरि चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा २९ करोड ३१ लाख १२ हजार बराबरको भेनियर भारत र चीन निकासी भएको तथ्यांक छ ।
चालु वर्ष उद्योगीले करिब १० अर्बको निकासी गर्ने लक्ष्य राखेको घिमिरेले बताए । नेपाली प्लाइ उद्योगमा २ हजार ५०० ले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया