ललिता निवास प्रकरणः १२ बैंकको १ अर्ब १० करोड ऋण उठाउन बाँकी, ३ बैंक थपिए



कठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा धितो राखेर दिएको ऋणमध्ये १ अर्ब १० करोड रुपैयाँ उठाउन बाँकी रहेको पाइएको छ । १२ वटा बैंकले सो बराबरको ऋण उठाउन बाँकी रहेको देखिएको हो ।

राष्ट्र बैंकले केही दिनअघि बैंकहरुसँग अहिले ललितानिवासको जग्गा धितोमा के कति कर्जा छ ? भनेर यथार्थ विवरण पठाउन निर्देशन दिएको थियो ।

बैंकहरुले पठाएको विवरण अनुसार १२ वटा बैंकले ऋण उठाउन बाँकी देखिएको राष्ट्र बैंकको सुपरिभिजन विभागका एक अधिकारीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा धितोमा बैंकहरुले व्यक्ति विशेषलाई सो परिमाणको कर्जा दिएको भन्दै गत माघ २३ गते छानविन गरी कारबाही गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

अख्तियारको पत्रपछि राष्ट्र बैंकले २ दिनभित्र विवरण पठाउन बैंकहरुलाई निर्देशन दिएको थियो ।

नयाँ विवरण अनुसार ललितानिवासको जग्गा धितोमा दिएको ऋण उठाउन बाँकी रहेका बैंकहरुको सूचीबाट कुमारी बैंक बाहिरिएको छ भने सिटिजन्स, सिभिल र एनसीसी बैंक थपिएका छन् । यी  बैंकको २९ करोड रुपैयाँ उठाउन बाँकी रहेको सुपरिभिजन विभागका एक अधिकारीले जानकारी दिए ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर कुन बैंकले कसलाई कति कर्जा दिए ? (सूचिसहित)

‘कुमारी बैंकले ऋण चुक्ता गरिसकेको जनाएको छ भने  सिटिजन्स, सिभिल र एनसीसी बैंक थपिएका छन्,’ स्रोतले भन्यो, ‘उनीहरुको २९ करोड कर्जा अहिले पनि उठाउन बाँकी छ ।’

ललिता निवास जग्गा प्रकरण : कसलाई कति बिगो ?

यसअघि इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया (तत्कालीन बैंक अफ एशिया), प्रभु बैंक (तत्कालीन किष्ट बैंक), हिमालयन बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, प्राइम बैंक, नेपाल बैंकले ऋण दिएको विवरण सार्वजनिक भएको थियो ।

ललिता निवासको जग्गामा बैंकको साढे २ अर्ब ऋण ! कारबाही गर्न राष्ट्र बैंकलाई अख्तियारको पत्र

त्यसैगरी, केही विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि कर्जा दिएको उक्त विवरणमा उल्लेख थियो । तर, तीमध्ये अधिकांश संस्थाहरु मर्जरमा गएर वाणिज्य बैंकहरुमै बिलय भइसकेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा सीआइबीको प्रतिवेदनः बिष्णु पौडेललाई क्लिन चिट, कर्मचारीलाई कारबाही हुने

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ४३ करोड रुपैयाँ उठाउन बाँकी भएको र सबैभन्दा कम नेपाल बैंकको २० करोड रुपैयाँ उठाउन बाँकी भएको भेटिएको छ ।

इन्भेष्टमेन्ट बैंकले पुरुषोत्तम पौडेललाई दिएको ४३ करोड रुपैयाँ उठाउन बाँकी छ । सरकारले ललितानिवासको जग्गा फिर्ता गराउने निर्णय गरिसकेको छ । जसकारण उक्त जग्गा धितोमा ऋण दिने बैंकहरुको ऋण डुब्ने संभावना बढेको छ ।

बालुवाटारको जग्गा ४ लाखमा किनेर बिष्णु पौडेलका छोरा नविनले लिए बैंकबाट ४९ लाख ऋण

‘कि त अर्को सम्पत्ति धितो लिनुपर्यो कि त चैत मसान्तको वित्तीय विवरणमा शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्यो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘एकाध बैंकलाई सानो समस्या परे पनि समग्रमा बैंकिङ क्षेत्रलाई भने खासै असर पर्दैन ।’

ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छेदार सहित १५९ विरुद्द विशेष अदालतमा मुद्दा दायर

प्राप्त विवरणका आधारमा अब राष्ट्र बैंकले थप अनुसन्धान गर्ने ती अधिकारीले जानकारी दिए ।

ग्लोवल आइएमइ बैंकमाथि छानविन गर्न पत्र

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ग्लोबल आइएमइ बैंकका तत्कालीन सीइओ र कर्जा शाखा प्रमुखमाथि छानविन गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

बैंकका सीइओमाथि खनियो सम्पत्ति शुद्धिकरण, २ सीइओलाई कारबाही गर्न राष्ट्र बैंकलाई पत्र

तत्कालीन आइएमइ फाइनान्सियल इन्स्टीच्युसनले उमाकुमारी ढकाल र माधवी सुवेदीका नाममा ललितानिवासको जग्गा धितोमा १ करोड ९० लाख र ग्लोबल आइएमइ बैंकले शोभकान्त ढकाल र उमाकुमारी ढकालका नाममा ३ करोड ७५ लाख रुपैयाँ कर्जा दिएको भेटिएको थियो ।

उक्त कर्जामाथि शंका गर्दै विभागले छानविन गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

‘विभागको पत्रअनुसार हामी अनुसन्धान गरिरहेका छौं, प्रतिवेदन तयार भइनसकेकाले गुह्य कुरा के हो भनेर अहिले नै भन्न सक्ने अवस्था छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बदमासी भएको रहेछ भने कोही पनि उम्किँदैनन् ।’


पुष्प दुलाल