राइड सेयरिङ सवारीमाथि ट्राफिकको कडाइ : १७५ चालक कारवाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले राइड सेयरिङ सवारी साधनमाथि विशेष चेकिङ अभियान सञ्चालन गर्दै १७५ चालकलाई कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार उपत्यकाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन गरेको हो । अभियानका क्रममा नियमविपरीत सञ्चालन भइरहेका सवारी साधनलाई लक्षित गरी निगरानी बढाइएको थियो ।

प्रहरीका अनुसार कारवाहीका प्रमुख कारणमा अनलाइन अनुमति नलिई अफलाइन रूपमा सवारी सञ्चालन गर्नु, जथाभावी पिक एण्ड ड्रप गर्नु तथा सवारी साधन मापदण्डअनुसार नहुनु रहेका छन् ।

यस्ता गतिविधिले सडक सुरक्षा र यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने भएकाले कडाइका साथ अनुगमन र कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सबै सवारी चालकलाई नियमअनुसार सवारी सञ्चालन गर्न, ट्राफिक नियमको पालना गर्न तथा दुर्घटना न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ । साथै, सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।