बालेन सरकारलाई ब्रिफिङ

बैंकमा भएको पैसा व्यवसायीमार्फत सर्वसाधारणको हातहातमा पुगेमात्र अर्थतन्त्रको ‘अनुहार’ उज्यालो हुन्छ

7
Shares

भ्रष्टाचार नियन्त्रण, सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार जस्ता माग राख्दै युवापुस्ताले गत भदौ २३ र २४ गते गरेको प्रदर्शनमा अप्रिय घटना हुनपुग्यो ।

जेनजी प्रदर्शनपछि देश नयाँ राजनीतिक परिस्थितिमा अगाडि बढ्यो र फागुन २१ गत सम्पन्न निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले अभुतपूर्व जनमत प्राप्त गरेको छ ।

एकल बहुमतसहितको जनमत प्राप्त गरेको रास्वपाले नयाँ सरकार बनाउँदै गर्दा  अबको सरकारको आर्थिक नीति र प्राथमिकता कस्तो हुनुपर्छ ।

नयाँ सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई सुधार गर्न कस्तो कदम चाल्नुपर्छ ।

यी र यस्तै विषयमा केन्द्रित रहेर ‘क्लिक टक’को आजको यस शृंखलामा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवालीसँग संवाद गरेका छौं । प्रस्तुत छ, ज्ञवालीसँग क्लिकमान्डुका विजय पराजुलीले गरेको कुराकानीः

भर्खरै नयाँ जनादेश वा निर्वाचन परिणाम सार्वजनिक भएको छ । नयाँ जनादेशसँगै सरकार गठन गर्ने प्रक्रिया पनि अगाडि बढ्दै छ । एउटा बलियो सरकार गठन हुने अवस्था देखिएको छ । नयाँ बन्ने सरकारको आर्थिक नीति कस्तो हुनुपर्छ ? वा अर्थतन्त्रमा कस्तो प्राथमिकता हुनुपर्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा करिब दुई-तिहाइ बहुमतको सरकार बन्दै छ । रास्वपाको घोषणापत्रका उद्घोषहरू धेरै महत्त्वाकाङ्क्षी होलान्, तर यसको प्राथमिकता ‘जेनजी’ आन्दोलनले निम्त्याएको परिस्थितिको व्यवस्थापनमा केन्द्रित हुनुपर्छ । उक्त आन्दोलनका क्रममा झन्डै ७७ जनाले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा आर्थिक क्षति भएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार साढे ८४ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ ।

अब बन्ने सरकारको पहिलो प्राथमिकता जेन-जी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको पुनर्निर्माण हुनुपर्छ । आन्दोलनमा धन र जन दुवैको अपूरणीय क्षति भएको छ । त्यसैले, भौतिक संरचनाहरूको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । पुनर्निर्माणमा गरिने लगानीले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । यसले एकातिर समष्टिगत माग (एग्रिगेट डिमान्ड) बढाउँछ भने अर्कोतिर निर्माण सम्पन्न भएपछि त्यसले सकारात्मक प्रतिफल पनि दिन्छ ।

समष्टिगत माग कसरी बढ्छ भन्ने सन्दर्भमा निर्माण कार्यका लागि मजदुर, इन्जिनियर, प्राविधिकदेखि छड, सिमेन्ट जस्ता निर्माण सामग्रीको आवश्यकता पर्छ । यसले गर्दा धेरैले रोजगारी पाउँछन् र उनीहरूको आम्दानी बढ्छ । जब श्रमिकको हातमा पैसा पुग्छ, त्यसले बजारमा माग सिर्जना गर्छ र अर्थतन्त्रको ‘अनुहार’ उज्यालो देखिन थाल्छ । त्यसैले नयाँ सरकारले अर्थतन्त्रलाई पुनर्निर्माणको चरणमा लैजानु नै बुद्धिमानी हुनेछ ।

पुनर्निर्माणको यो प्रक्रियामा सरकारी र सार्वजनिक सम्पत्तिको मात्र नभई निजी क्षेत्रको पुनरुत्थानलाई पनि सँगसँगै लैजानुपर्छ । सरकारी संरचनाहरूको पुनर्निर्माण अर्थ मन्त्रालयमार्फत हुने नै छ, तर आन्दोलनबाट प्रभावित निजी सम्पत्ति, व्यवसाय र उद्योगहरूको पुनरुत्थानका लागि सरकारले विशेष सहुलियत दिनुपर्छ । कोभिड-१९ पछि अर्थतन्त्र उकास्न जसरी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको थियो, त्यसरी नै अहिले प्रत्यक्ष प्रभावित भएका व्यवसायीहरूलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्छ ।

अहिले निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर अवस्थामा छ व्यवसायीमा चरम नैराश्यता देखिएको बाहिर पोजिटिभ नै कुरा गरिरहे पनि अनौपचारिक कुराकानी गर्दा निकै निराशा प्रदर्शन गर्नुहुन्छ ? पहिला त व्यावसायिक जगतको कन्फिडेन्स नै बढाउनुपर्ने होला नि ?

हो, यो अत्यन्तै आवश्यक छ । लगानी मुख्यतः दुई प्रकारका हुन्छन् । पहिलो, सरकारले गर्ने लगानी सरकार आफैंले गर्नुपर्‍यो । दोस्रो, निजी क्षेत्रले गर्ने लगानीमा भने सरकारले विशेष सहजीकरण र सहुलियत प्रदान गर्नुपर्छ । ब्याजदर कम गर्ने र निश्चित समयावधि तोकेर निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्छ । विशेष गरी निजी क्षेत्रको पुनरुत्थानका लागि १ देखि ५ वर्षसम्मको आवधिक कर्जा (टर्म लोन) उपलब्ध गराउने व्यवस्था हुनुपर्छ । यसले निजी क्षेत्रलाई लगानीका लागि उत्साहित गर्नेछ र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ ।

दोस्रो महत्त्वपूर्ण कुरा, जेनजी आन्दोलनपछि व्यावसायिक जगत्‌को आत्मविश्वास निकै कमजोर भएको छ । नयाँ पुस्ता आफ्ना स्रोत र पुँजी लिएर बाहिर लगानी गर्न खोज्दैछन् भन्ने चर्चा सुनिन्छ । यसमा कति सत्यता छ, त्यो अध्ययनको विषय होला, तर यस्तो सोच पलाउनु अर्थतन्त्रका लागि सुखद सङ्केत होइन । यसले ‘पुँजी पलायन’ को ठूलो खतरा रहेको सङ्केत गर्छ । त्यसैले, अब बन्ने सरकारले सरकारी र निजी क्षेत्रको पुनर्निर्माणका साथै निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिन सक्नुपर्छ । सरकारले लगानीकर्ताको सुरक्षा र नीतिगत स्थिरताको पूर्ण प्रत्याभूति दिनु आवश्यक छ ।

‘हामी ५ वर्षसम्म काम गर्छौं, हामी निजी क्षेत्रमैत्री छौं र तपाईंहरूको लगानी तथा व्यवसायलाई सुरक्षा दिन्छौं’ भनेर सरकारले आश्वस्त पार्न सक्नुपर्छ । अहिले पहिलेको जस्तो अस्थिर सरकार छैन; करिब दुई-तिहाइको बहुमत भएकाले यो सरकार ५ वर्षसम्म टिक्ने बलियो सम्भावना छ । त्यसैले, ५ वर्षसम्मका लागि आर्थिक तथा लगानीसम्बन्धी नीतिहरूलाई स्थिर बनाउनुपर्छ । सरकारको नीति स्थिर भयो भने मात्र निजी क्षेत्रमा ढुक्कसँग काम गर्ने र लगानी बढाउने आत्मविश्वास पलाउँछ ।

निजी क्षेत्रलाई कस्तो सहुलियत दिन सकिन्छ ? स्रोत कसरी जुटाउने ?

नेपाल राष्ट्र बैंकले नै यस्तो सहुलियतको व्यवस्था गर्न सक्छ । निजी क्षेत्रमा धेरै ठूलो क्षति नभएकाले राष्ट्र बैंकका लागि यो व्यवस्थापन गर्न कठिन छैन । यस्तो ऋण वाणिज्य बैंकहरूमार्फत नै निजी क्षेत्रलाई उपलब्ध गराउनुपर्छ । वाणिज्य बैंकहरूबाट ५ वर्षको आवधिक कर्जा लिँदा न्यूनतम ब्याजदर कायम गर्ने व्यवस्था मिलाउन सकिन्छ । यदि ब्याजदरमा थप सहुलियत आवश्यक परेमा राष्ट्र बैंकले विशेष नीतिगत हस्तक्षेप गर्न सक्छ ।

ब्याजमा केही सहुलियत दिन सकिए पनि ऋणको साँवा र ब्याज भुक्तानी गर्ने जिम्मेवारी भने व्यवसायीकै हुनुपर्छ । यसरी दीर्घकालीन सोचका साथ निजी क्षेत्रको पुनरुत्थान प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।

हाल नेपाल राष्ट्र बैंकले ६ महिनाका लागि मात्र एउटा राहत प्याकेज ल्याएको छ । यो ६ महिने प्याकेज कुनै औद्योगिक एकाइमा क्षति पुग्दा त्यहाँ कार्यरत कर्मचारीहरूले तलब-भत्ता नपाएको अवस्थामा तत्कालको समस्या टार्नका लागि मात्र केन्द्रित छ । तर, निजी क्षेत्रको पूर्ण पुनर्निर्माण र व्यवसायलाई पुनः सञ्चालनमा ल्याउनका लागि दीर्घकालीन आवधिक सहुलियत ऋणको व्यवस्था गर्नु अनिवार्य छ ।

नेपाल राष्ट्र बैंकले नै सहुलियत ऋण दिनुपर्छ त भन्नुभयो । तर, वर्तमान अर्थमन्त्रीकै नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा कोभिडकालमा राष्ट्र बैंकमार्फत सहुलियत दिँदा अर्थतन्त्रमा सुस्तता देखिएको वा समस्या आएको उल्लेख फेरी त्यहि नीति लिनु उपयुक्त होला ?

होइन, त्यस्तो अवस्था आउँदैन । म आफैं पनि त्यो प्रतिवेदन तयार पार्ने टोलीको सदस्य थिएँ । उक्त प्रतिवेदनले कोभिडको समयमा कर्जा विस्तार उच्च भएको र त्यसमा राष्ट्र बैंकको सहुलियतले सहयोग पुर्‍याएको कुरा उल्लेख गरेको हो । त्यो सहुलियत तत्कालीन समयका लागि आवश्यक थियो, तर कोभिडको प्रभाव कम भएपछि त्यसलाई समयमै हटाउनुपर्थ्यो । अहिलेको परिस्थिति त्यतिबेलाको सहुलियतलाई समयमै खारेज (रिमुभ) गर्न नसक्दाको परिणाम हो । राष्ट्र बैंकले त्यतिबेला प्रवाह गरेको पुनर्कर्जालाई समयमै फिर्ता लिन नसक्दा यो समस्या उत्पन्न भएको हो ।

त्यतिबेला पुर्नकर्जा दिनु ठिक थियो तर, जतिबेला पुर्नकर्जा सुविधा झिक्नुपर्ने थियो सही समयमा सही निर्णय भएन भन्न खोज्नुभयो ?

राष्ट्र बैंकले कोभिडको समयमा दिएको सहुलियत समयमै फिर्ता (विथड्र) गर्न सकेन, जुन एउटा कमजोरी थियो । त्यसका कारण अर्थतन्त्र र बैंकिङ प्रणालीमा अत्यधिक तरलता भयो र अन्ततः समस्या निम्त्यायो । तर, अहिलेको क्षति कोभिडको तुलनामा त्यति ठूलो छैन । ८४.५ अर्ब रुपैयाँको क्षतिको व्यवस्थापन गर्नु सरकारका लागि सामान्य विषय हो । यदि सरकारले उचित सुविधा र सहुलियत दिएमा निजी क्षेत्र स्वतः उत्साहित हुनेछ । कूल ८४.५ अर्बको क्षतिमध्ये निजी क्षेत्रको हिस्सा करिब ४० प्रतिशत मात्रै हो, बाँकी सार्वजनिक र सामुदायिक सम्पत्तिको क्षति हो ।

तथ्याङ्कअनुसार कुल क्षतिमा निजी क्षेत्रको ४० प्रतिशत, सरकारी क्षेत्रको ५३ प्रतिशत र बाँकी सामुदायिक क्षेत्रको हिस्सा छ । यसको पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउनु ठूलो चुनौती होइन । सरकारले अब निजी क्षेत्रलाई ‘हाम्रा नीतिहरू ५ वर्षसम्म स्थिर रहनेछन्, तपाईंहरू ढुक्क भएर काम गर्नुस्, हामी सुरक्षाको पूर्ण प्रत्याभूति दिन्छौँ’ भनी आश्वस्त पार्नुपर्छ । निजी क्षेत्रलाई आवश्यक स्रोत उपलब्ध गराउँदै लगानीका लागि प्रोत्साहित गर्नुपर्छ ।

हाल बैंकिङ क्षेत्रमा लगानीका लागि पर्याप्त रकम उपलब्ध छ । एउटा परिभाषाअनुसार ६ खर्ब र अर्कोअनुसार ८ खर्ब रुपैयाँ ‘आइडल’ (अनुपयोगी) अवस्थामा छ । त्यसैले, बैंकिङ क्षेत्रलाई लगानी गर्न कुनै समस्या छैन; मुख्य समस्या व्यावसायिक जगत्‌ले कर्जा लिन नसक्नु र उनीहरूमा आत्मविश्वासको कमी हुनु मात्रै हो ।

करिब खर्ब तरलता राष्ट्र बैंकले व्यवस्थापन गरेको अवस्था ।  राष्ट्र बैंकले अधिक तरलता भयो भनेर अझै ऋणपत्र जारी गरेर तरलता प्रशोचन गर्दैछ अहिले रिसोर्स पर्याप्त राष्ट्र बैंकले प्रशोचन किन गर्नु पर्‍यो ?

निजी क्षेत्र, सरकारले उक्त स्रोत नलिएर वा उपयोग गर्न नसकेर तरलता प्रशोचन गर्नुपरेको हो । हिजो बैंकिङ क्षेत्रसँग पैसा थिएन, अहिले ब्याजदर ऐतिहासिक रूपमा न्यूनतम छ । यति हुँदा पनि कर्जा नगएका कारण राष्ट्र बैंकले पैसा खिच्नुपरेको हो ।

अहिलेको निर्वाचन सामान्य परिस्थितिमा भएको होइन नागरिकमा चरम नैराश्यता आक्रोश पैदा भएको थियो त्यसैले मुभमेन्ट  मुभमेन्ट भयो सोही ममुभमेन्टले चुनाव भयो अहिलेको परिस्थिति आउनुमा विगतमा सरकारले के कमजोरी गर्‍यो अबको सरकारको प्राथमिकता के हुनुपर्छ?

विगतको सरकारको कमजोरी स्पष्ट छ । पहिलो कुरा, जेनजीहरूले गरेको आन्दोलनमा ‘भ्रष्टाचार विरोधी’ स्वर प्रखर थियो । उनीहरूको मुख्य माग सुशासन र भ्रष्टाचार नियन्त्रण नै थियो । विगतको सरकारमाथि सुशासन कायम गर्न नसकेको र भ्रष्टाचारलाई बढावा दिएको गम्भीर आक्षेप छ । राजनीतिक नियुक्तिहरूमा आफ्ना मान्छेले मात्र अवसर पाए । पार्टीका इमानदार कार्यकर्ताले भन्दा नेताका नातेदार वा व्यावसायिक स्वार्थ भएका व्यक्तिहरूले अवसर पाउँदा आम नागरिकमा तीव्र वितृष्णा जाग्यो ।

अर्को कारण, राजनीतिक नेतृत्व र उनीहरूका सन्ततिको विलासी जीवनशैली थियो, जसले नयाँ पुस्तालाई निकै वाक्कदिक्क र आक्रोशित (इरिटेट) तुल्याएको थियो । सामाजिक कारणतर्फ हेर्दा, नागरिकले देशभित्र रोजगारीका अवसर पाएनन् । लाखौँ युवाहरू विदेशिनु पर्ने बाध्यताले उनीहरूमा आफ्नो देशको अवस्थाप्रति उकुसमुकुस र आक्रोश पैदा गर्‍यो । यो नयाँ पुस्ता ‘डिजिटल’ वा ‘मोबाइल’ पुस्ता हो । उनीहरू यहाँ बसेर युरोप र अमेरिकाको विकास प्रत्यक्ष देखिरहेका छन् । त्यसैले, उनीहरूले नेपालमा पनि त्यही स्तरको विकास र अवसर खोजेका हुन् ।

हाम्रो भौतिक पूर्वाधारमा केही विकास भयो, तर सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, लगायतका सार्वजनिक सेवामा  देखिएको बेथिति सास्तीले नैराश्यता बढायो भन्न सकिन्छ ?

अहिलेको ‘मोबाइल पुस्ता’ ले नेपालमै बसेर विश्वलाई नजिकबाट नियालिरहेका छन् । उनीहरूले हिजोको नेपाल कस्तो थियो र विगतमा कति कठिनाइ थियो भन्ने कुरा देखेका छैनन् । नेपालमा आर्थिक विकास नै नभएको त होइन, तर उनीहरूले खोजेको विकास र सेवाको मापदण्ड युरोपेली स्तरको छ ।

विडम्बना, हाम्रा सेवा प्रवाह गर्ने निकायहरू जस्तै यातायात, मालपोत, वडा वा नगरपालिका कार्यालयहरू—अझै पनि नागरिकमैत्री हुन सकेका छैनन् । अत्यधिक ‘प्रशासनिक झन्झट’, ढिलो सेवा र कतिपय ठाउँमा व्याप्त भ्रष्टाचारका कारण युवा पुस्ता निकै रुष्ट छ । यही असन्तुष्टिको प्रतिक्रिया स्वरूप पछिल्लो आन्दोलन भएको हो । त्यसैकारण, आन्दोलनकारीको मुख्य निसानामा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू परे र कैयौं सरकारी कार्यालयहरूमा आगजनीसमेत भयो ।

अहिले दुई तिहाइ बहुमतको बलियो सरकार बन्दै यसले सार्वजनिक सेवा प्रवाह विकास निर्माण सँगसँगै कस्तो आर्थिक नीति लिनुपर्छ?

अब बन्ने सरकारको आर्थिक नीतिमा पहिलो प्राथमिकता पुनर्निर्माण हुनुपर्छ । दोस्रो, व्यावसायिक क्षेत्रको आत्मविश्वास बढाउनु आवश्यक छ । हाल लगानीकर्ताहरू लगानी गर्न हिचकिचाइरहेका छन् । त्यसैले, नयाँ सरकारले ‘हामी उदार अर्थतन्त्रमा विश्वास गर्छौं; तपाईंहरू इमानदारीपूर्वक लगानी गर्नुस्, हामी सुरक्षाको पूर्ण प्रत्याभूति दिन्छौं’ भन्दै व्यवसायीलाई आश्वस्त पार्नुपर्छ । साथै, निजी क्षेत्र स्वयं पनि व्यावसायिक रूपमा इमानदार हुनु जरुरी छ ।

तेस्रो, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको व्यवस्थापन । विशेष गरी मध्यपूर्वमा बढ्दो तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरूका लागि यहाँ नै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । मध्यपूर्वमा करिब १७ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । यदि त्यहाँको द्वन्द्वका कारण फर्कने नागरिकहरूलाई स्वदेशमा रोजगारी दिन सकिएन भने, त्यसले अर्को ठूलो सङ्कट निम्त्याउन सक्छ र पुनः आन्दोलन वा प्रदर्शनहरू हुन सक्छन् । यदि सरकारले रोजगारी सिर्जना गर्न सक्यो भने मात्र आम जनतामा सरकारप्रति विश्वास बढ्नेछ । रास्वपाको घोषणापत्रमा पनि रोजगारी सिर्जना र विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

चौथो, अधिक तरलताको परिचालन । हाल बैंकिङ क्षेत्रमा ६ देखि ८ खर्ब रुपैयाँ बराबरको अधिक तरलता छ । यसलाई सरकारले आन्तरिक ऋणमार्फत परिचालन गरेर वा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । यी चार बुँदालाई केन्द्रमा राखेर अघि बढेमा मात्र देशको अर्थतन्त्रले गति लिन सक्छ ।

अधिक तरलताको कुरा गर्नुभयो कतै हाम्रो मौद्रिक नीति अधिक तरलताको कारण ‘लिक्विडिटी ट्र्याप’मा पर्दै गएको होइन? मौद्रिक उपकरण प्रभावकारी हुन नसकेको होइन भन्ने प्रश्न उठ्न लागेको यसबाट बाहिर आउन के गर्नुपर्छ ?

मौद्रिक नीतिमा अधिक तरलताको असर स्पष्ट रूपमा देखिएको छ । सुरुमा अर्थ मन्त्रालयको दबाबका कारण नेपाल राष्ट्र बैंकले ब्याजदर आवश्यकताभन्दा बढी घटायो । नेपालको इतिहासमै अहिले निक्षेपको ब्याजदर सबैभन्दा न्यून छ । १ वर्ष अवधिको मुद्दती निक्षेपमा ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतसम्म मात्र छ, जबकि भारतमा यही दर ६ देखि ७ प्रतिशत छ । ब्याजदर यति न्यून बिन्दुमा रहँदा पनि तरलताको उचित उपयोग हुन नसक्नुले हाम्रो अर्थतन्त्र ‘लिक्विडिटी ट्र्याप’मा रहेको सङ्केत गर्छ ।

यसले के प्रमाणित गर्छ भने ब्याजदर घटाउँदैमा मात्र लगानी र आर्थिक वृद्धि बढ्ने होइन रहेछ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ब्याजदर घटाउन दिइएको अनावश्यक दबाबका कारण यो जटिल अवस्था सिर्जना भएको हो । अब राष्ट्र बैंकले अझै धेरै ऋणपत्र जारी गरेर बजारमा रहेको अधिक तरलता प्रशोचन गर्नुपर्छ । यसो गर्दा तरलताको चाप कम भई ब्याजदर बिस्तारै सन्तुलित हुन थाल्छ ।

ब्याजदर असाध्यै कम हुँदा अहिले ‘पुँजी पलायन’ को जोखिम पनि बढेको छ । खुला सिमाना र भारतको तुलनात्मक रूपमा उच्च ब्याजदर एवं उदार नीतिका कारण नेपालको पुँजी अनौपचारिक माध्यमबाट बाहिरिने खतरा छ । त्यसैले, पुँजी पलायन रोक्न राष्ट्र बैंकले केही कसिलो मौद्रिक नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ । अर्थ मन्त्रालयले मौद्रिक नीतिमा हस्तक्षेप गर्नुहुँदैन । अर्थ मन्त्रालयले वित्त नीति र राष्ट्र बैंकले पूर्ण स्वायत्तताका साथ मौद्रिक नीतिमार्फत आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

रास्वपाले आफ्नो घोषणापत्रमा वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो कत्तिको सम्भव छ ?

नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्‍याउने लक्ष्य अलि बढी महत्त्वाकाङ्क्षी सुनिन्छ । नेपालको इतिहासमा औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले नेपालको ‘सम्भावित वृद्धिदर’ ५ प्रतिशत मात्र रहेको बताएका छन् । यद्यपि, भूकम्पपछिको पुनर्निर्माणका बेला हामीले एकपटक ८ प्रतिशतको आर्थिक वृद्धिलाई छोएका थियौं ।

अहिलेको अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धि तत्कालै हासिल हुन्छ भन्न सकिँदैन । तर, रास्वपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेबमोजिम रोजगारी विस्तार, लगानीको सुरक्षा र वित्तीय स्रोत तथा तरलताको सही उपयोग गर्न सकेमा ५ देखि ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ ।

यति हुँदाहुँदै पनि, मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण रेमिट्यान्स घट्न सक्ने, पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने र त्यसले मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिमा दबाब सृजना गर्ने जस्ता चुनौतीहरू छन् । अब बन्ने सरकारले यी चुनौतीहरूको सामना गर्न सक्नुपर्छ । यदि मध्यपूर्वको द्वन्द्व अझै लम्बियो र त्यहाँ कार्यरत नेपाली श्रमिकहरू स्वदेश फर्कनुपर्ने अवस्था आयो भने, उनीहरूका लागि रोजगारी सिर्जना गर्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । रेमिट्यान्सकै कारण अहिले हाम्रो भुक्तानी सन्तुलन बचतमा छ र विदेशी विनिमय सञ्चिति बलियो छ; तर यसमा कमी आएमा अर्थतन्त्रमा ठूलो दबाब पर्न सक्छ । साथै, इन्धनको मूल्य बढ्दा महँगी, उत्पादन लागत र ढुवानी खर्च बढ्ने जोखिम पनि उत्तिकै छ । यी सम्भावित सङ्कटहरूको सामना गर्नु नै अब बन्ने सरकारको मुख्य परीक्षा हुनेछ ।

विदेशमा रहेका युवालाई फर्काएर नेपालमै रोजगारी दिन कस्तो नीति कुन क्षेत्रमा प्राथमिकता दिनुपर्छ ?

रास्वपाको मुख्य प्राथमिकता आत्मनिर्भर अर्थतन्त्रको निर्माण हो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, किनकि सरकारी क्षेत्रमा रोजगारीका अवसरहरू सीमित हुन्छन् । हाल कृषि क्षेत्रमा हाम्रो ठूलो व्यापार घाटा छ । त्यसैले, कृषि उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्नु अनिवार्य छ । वैदेशिक रोजगारीबाट फर्कने युवाहरूसँग आधुनिक प्राविधिक ज्ञान र सीप हुन्छ । उनीहरूलाई ‘स्टार्टअप’ र व्यावसायिक कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराएर स्वरोजगार बनाउन सकिन्छ । यसले मुलुकमा ठूलो मात्रामा रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ ।

नयाँ सरकारलाई एउटा अर्थशास्त्रीका रूपमा तपाईको के सुझाव छ?

जनताले ठूलो विश्वासका साथ यो जनादेश दिएका छन् । विशेष गरी स्वदेशका युवा पुस्ता र विदेशमा रहेका नेपालीहरूको सक्रियता एवं प्रभावका कारण यो मत प्राप्त भएको हो । त्यसैले, उनीहरूको अपेक्षाअनुरूप रोजगारी सिर्जना गर्नु नै अब बन्ने सरकारको मुख्य प्राथमिकता र नीति हुनुपर्छ । व्यावसायिक जगत्‌का लागि लगानीमैत्री वातावरण निर्माण गर्दै उनीहरूको मनोबल बढाउनु अहिलेको आवश्यकता हो । यसका लागि सरकारले निजी क्षेत्रलाई नीतिगत स्थिरता र सुरक्षाको पूर्ण प्रत्याभूति दिन सक्नुपर्छ ।

साथै, सरकारले पुँजीगत खर्च बढाउन विशेष ध्यान दिनुपर्छ । ‘स्टार्टअप’ लाई प्रोत्साहन र आयात प्रतिस्थापनमार्फत अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सोहीअनुसारको ठोस नीति ल्याउनु जरुरी छ । यदि सरकारले केही नवीन र परिणाममुखी काम गरेर देखाउन सक्यो भने मात्र आगामी निर्वाचनमा पुनः जनादेश प्राप्त हुनेछ । अन्यथा, ५ वर्षको अवधि पूरा नहुँदै जनताले विकल्प खोज्ने परिस्थिति निर्माण हुन सक्छ ।