
विराटनगर । विराटनगर–४, राजबंशी चोकमा अवस्थित सिटिजन्स बैंकको शाखाका कर्मचारीले निक्षेपकर्ताको ५ करोड रूपैयाँ हिनामिना गरेको खुलेको छ । शाखाको अपरेसन इन्चार्ज रोजी कँडेलले निक्षेपकर्ताको ५ करोड रूपैयाँ रकम हिनामिना गरी चलाएको पाइएको हो ।
कर्मचारीले सर्वसाधारणको निक्षेप रकमलाई धितोमा परिणत गरी नक्कली कर्जा फाइल तयार गरेर हिनामिना गरेको पाइएको छ। बैंकले शाखाका ९ कर्मचारीलाई निलम्बन गरेर अनुसन्धान गरी थप अनुसन्धानका लागि प्रहरीलाई पठाएको छ ।
बैंकले कँडेललाई जागिरबाट निकालिसकेको छ । निलम्बन गरिएका कर्मचारीलाई कसुरका आधारमा कारबाही हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । जसमध्ये केहीले राजीनामा दिइसकेका छन् । कँडेलले हिनामिना गरेको रकम १५ दिनभित्र तिर्छु भने पनि नतिरेपछि बैंकले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेपछि घटना बाहिर आएको थियो ।
बैंकको आन्तरिक अडिट विभागले कर्मचारीले नै निक्षेपकर्ताको रकम दुरुपयोग गरेको फेला पारेपछि बैंकले नै अध्ययन गरी आवश्यक कारबाहीका लागि प्रहरीमा सिफारिस गरेको सीईओ पोखरेलले बताए ।
सिटिजन्स बैंक विराटनगर–४ स्थित राजबंशी चोक शाखामा ४ करोड ९१ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप कर्मचारीको मिलेमतोमा हिनामिना भएको उजुरी आएको र त्यस विषयमा अनुसन्धान सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । ‘रकम हिनामिना भएको पुष्टि भई उजुरी आएपछि अनुसन्धान सुरु भएको छ । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पछि थप जानकारी आउला, ‘ उनले भने ।
बैंकले दुई महिना पहिले गरेको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको थियो ।
बैंकको अनुसन्धानमा उक्त शाखाकी अपरेसन इन्चार्ज रोजी कँडेल रकम हिनामिनामा संलग्न देखिएको जनाएको छ । कँडेललाई बैंकले कारबाही गरेर बर्खास्त नै गरिसकेको र उक्त शाखामा कार्यरत कर्मचारीहरूलाई भने निलम्बन गरेर अनुसन्धान भइरहेको सीईओ पोखरेलले जानकारी दिए । बैंकले ९ जना कर्मचारीलाई निलम्बन गरेको उनले बताए । निलम्बन गरिएका कर्मचारी सबै दोषी नहुन पनि सक्ने सीईओ पोखरेलको भनाइ छ ।
रोजी कँडेलसँग व्यक्तिगत कारोबार भएको र उनकै आइडीबाट मुद्दती निक्षेपको दुरुपयोग भएको देखिएको आधारमा बैंकले अध्ययन गर्दा केही कर्मचारीलाई निलम्बन गरेको उनले बताए ।
उक्त प्रकरणमा संलग्न भएको आशंका गरिएका ४ जना कर्मचारीको राजीनामा आइसकेको बैंकले जनाएको छ ।
‘घटना जानकारी आएपछि केन्द्रीय कार्यालयबाट चार्टर्ड एकाउन्टेन्टसहितको टोली पठाएको थियौं । उक्त टोलीले आवश्यक अध्ययन गरेपछि रोजी कँडेलले रकम तिर्छु, समय दिनु भनेर कागज पनि गरेको छ,’ सीईओ पोखरेलले भने, ‘तर बैंकमा रकम हिनामिना गरेको कर्मचारीलाई पैसा तिर्न समय दिन सक्ने अवस्था नभएपछि कारबाहीका लागि प्रहरीमा सिफारिस गरेको हो ।’
१५ दिनभित्र पैसा तिर्छु भने पनि उक्त समयमा नतिरेपछि प्रहरीमा पठाएको उनले बताए । अन्य कर्मचारीलाई भने रकम हिनामिना भएको जानकारी पाए पनि किन रिपोर्ट नगरेको भन्ने सोधपुछ भएको सीईओ पोखरेलले बताए । युजर आइडी प्रयोग भएर कारोबार भएका कर्मचारीहरूलाई भने बैंकले निलम्बन गरेको उनले बताए ।
निक्षेपकर्ताले फिक्स डिपोजिट (मुद्दती निक्षेप) मा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको देखिएको बैंकले जनाएको छ । बैंकले दुई महिनाअघि नै आन्तरिक छानबिनका क्रममा यो घोटाला भएको फेला पारी थप अनुसन्धान अगाडि बढाएको थियो ।







प्रतिक्रिया