प्रधानमन्त्री कार्की र रविबीच भेट, के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिष्टाचार भेट गरेका छन् ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीो सरकारी निवासमा भएको भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई ज्ञापन गरे । समयमै निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री, मन्त्रिपरिषद् र सचिवालय टोलीप्रति धन्यवाद व्यक्त गरे।

उनले प्रधानमन्त्रीको दृढता र अडानका कारण मुलुकले सहज निकास पाएको भन्दै विगतका निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्पन्न भएको उल्लेख गरे । सानो टोली र छोटो समयमै विश्वलाई चकित पार्ने गरी देशलाई लोकतान्त्रिक मार्गमा अघि बढाउन सफल भएको भन्दै उनले प्रधानमन्त्रीप्रति उच्च सम्मान व्यक्त गरे। साथै आगामी दिनमा पनि प्रधानमन्त्रीको अनुभव र मार्गदर्शन आवश्यक रहने धारणा राखे।

प्रधानमन्त्री कार्कीले भने रास्वपाले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि बधाई दिँदै देशप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरिन्। उनले युवाप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै चुनौतीबीच पनि सम्हालिएर अघि बढ्न सुझाव दिइन्। इमानदारीपूर्वक काम गरे अपेक्षित नतिजा प्राप्त हुने र आलोचनाको जवाफ कामबाटै दिनुपर्ने उनको भनाइ थियो।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। सो क्रममा सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयमा आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै अन्तिम समयसम्म सरकारले काम गर्न पाउने धारणा व्यक्त गरे। ऐतिहासिक जिम्मेवारी पूरा गरेको सरकारप्रति सम्मान व्यक्त गर्दै उनले सरकारका कदममा साथ दिने र निर्णयलाई स्वीकार गर्ने बताए।

यसैबीच, उनले अर्को सरकार गठन नहुँदासम्म सरकारले पूर्ण क्षमताका साथ काम गर्नुपर्ने सुझाव पनि दिए। साथै पोर्चुगलमा रहेका नेपाली विद्यार्थीका समस्या, मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा समेत चासो व्यक्त गर्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।