बालुवाटार जग्गा प्रकरणमा सीआइबीको प्रतिवेदनः बिष्णु पौडेललाई क्लिन चिट, कर्मचारीलाई कारबाही हुने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका व्यक्तिलाई कारवाही गर्न आफ्नो प्रतिवेदन बुझाएको छ ।

सीआईबीले प्रहरी महानिरिक्षकको सचिवालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा नामसारी गर्ने सरकारी कर्मचारी तथा गुठी संस्थानसम्मका कर्मचारीलाई कारवाही गरेर मुद्दा चलाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।

बालुवटार जग्गा प्रकरणमा नेकपामा महासचिव बिष्णु पौडेल पनि जोडिएका थिए । पौडेलका छोराले त्यहाँ ८ आना जग्गा किनेका थिए । प्रहरीका स्रोतका अनुसार पौडेलको विषयमा प्रतिवेदन मौन बसेको छ ।

‘विष्णु पौडेलको विषयमा प्रतिवेदनमा केही पनि उल्लेख छैन,’ सीआइबी स्रोतले भन्यो, ‘उहाँको नाम पत्रिकाले उछालेका हुन्, किर्ते गर्नमा दर्जनौ कर्मचारीहरु संलग्न देखिएका छन् ।’

मुख्यरुपमा जग्गाको पहिलो र दोस्रो नामसारी हुने व्यक्तिहरुलाई कारवाही गर्न भनिए पनि अन्य व्यक्तिको नाम यसमा आएको छैन । २०४९ सालदेखि २०७० सालसम्म यो घटनामा मुछिएका सरकारी कर्मचारीलाई कारवाही गर्न ब्युरोले आफ्नो प्रतिवेदन दिएको छ ।


क्लिकमान्डु