
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गर्दै उनलाई पूर्ववत् जिम्मेवारीमा फर्किन सर्वसम्मत आग्रह गरेको छ ।
चैत्र ६ गतेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठक आइतबार राति सम्पन्न भएको हो ।
बैठकले हालको राजनीतिक परिस्थिति, प्रतिनिधिसभा निर्वाचनको परिणाम र पार्टीको आगामी महाधिवेशनको जिम्मेवारीलाई मध्यनजर गर्दै सभापतिको भूमिकाको आवश्यकता अझै रहेको निष्कर्ष निकालेको जनाएको छ ।
केवल ५० दिनको कार्यकालमा केन्द्रीय कार्यसमितिलाई मात्र जिम्मेवार ठहर गर्न नमिल्ने भन्दै यो विषय समग्र पार्टीको साझा जिम्मेवारी भएको बैठकले ठहर गरेको छ।
बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई सदस्यहरूबाट आएका सुझाव समेटेर परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई सक्रिय हुन आग्रह गरिएको छ। इरानको बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई शीघ्र मुक्त गरी सकुशल स्वदेश फर्काउन पनि सरकारसँग माग गरिएको छ।
बैठकले जेनजी प्रदर्शनसम्बन्धी घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मूल्य घटाउन र आपूर्ति सहज बनाउन आग्रह गरिएको छ।
बैठकमा पार्टीका विभिन्न पदाधिकारी र सदस्यहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए।
चैत्र ८, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र ६ गतेदेखि संचालन भएको बैठक उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बिहान ८ः३० बजेदेखि प्रारम्भ भएर १२ घण्टासम्म निरन्तर संचालन भई राति ८ः४० बजे सम्पन्न भयो । बैठकको निर्णयहरू देहाय बमोजिम रहेको छ—
बैठकका निर्णयहरू
१. नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २६(१) बमोजिम २०८२ चैत्र ३ गते दिनु भएको राजीनामाका सम्बन्धमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले दिएको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रुपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको, देशको मौजुदा परिस्थितिमा नेपाली कांग्रेसको सभापतिको रुपमा उहाँले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारी समेतलाई मध्यनजर राखी उहाँलाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै यो बैठक सर्वसम्मतिबाट उहाँको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।
२. नेपाली कांग्रेसका उपसभापति श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नु भएको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई बैठकमा साथीहरुबाट प्राप्त सुझावहरु समेत समावेश गरी परिमार्जन सहित पारित गर्ने निर्णय यो बैठक गर्दछ ।
३. मध्यपूर्वमा चर्किएको युद्ध विश्व शान्तिको अनिवार्य आवश्यकतालाई दृष्टिगत गर्दै चाडै नै अन्त्य हुने नेपाली कांग्रेस अपेक्षा गर्दछ । युद्धग्रस्त क्षेत्रमा लाखौं नेपालीहरुको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
४. हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।
५. २०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न सरकारसँग यो बैठक माग गर्दछ ।
६. पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृतिम अभाव सिर्जना गरिएको तर्फ नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।
पारित शोक प्रस्ताव ः
कार्यसमितिको २०८२ माघ ९ देखि यो बैठकका बीचको अवधिमा— नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरूको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
बैठकमा धारणा व्यक्तः
आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीहरू— प्रदीप पौडेल र गुरुराज घिमिरे, सह–महामन्त्रीहरू— डा. डिला संग्रौला पन्त, बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही र मुक्ताकुमारी यादव, सदस्यहरू— ओमकारप्रसाद श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी, अमृत अर्याल, डा. गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार के.सी., ई. मोहन आचार्य, प्रतिमा गौतम, जानकी सिंह, नानु वास्तोला, अजयवावु शिवाकोटी, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, हिमालय कर्माचार्य, नरेन्द्रकुमार केरुङ, दिपकजंग शाह, रेशमबहादुर वानियाँ, कृष्णबहादुर के.सी., उज्ज्वल बराल, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, प्रकाश पन्थ, कुसुमदेवी थापा मगर, नगेन्द्र कुमाल, मधु शाही, सीता मिजार, मनकुमारी गुरुङ, नवोदिता चौधरी, प्रवक्ता देवराज चालिसे, प्रदीपराज शर्मा, सुरेशकुमार योङ्ग्या, जगतप्रसाद जोशी, शम्भुबहादुर बुढाथोकी, तिलक रानाभाट, राजेन्द्रगोपाल सिंह, प्रेमबहादुर खड्का, डा. केदारनरसिंह के.सी., प्रमोदहरि गुरागाइँ, तीर्थजंग शाही, धर्मराज गौतम, वजरंग नेपाली, सन्तोषी साउँद ऐरी, गीता सत्याल, शारदादेवी कोइराला, रामानन्दप्रसाद यादव, उमा दाहाल, विष्णुदेवी पाण्डे, रामबहादुर कार्की, रामादेवी खड्का, चिनी पोखरेल, हिमबहादुर रावल, शिवनारायण सिंह गनगाई, छाया सुनार, गंगा सुनार, लीला नेपाली, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्यबहादुर वि.क., दिनेश सुनार, प्रमिला राई, छिन्दुल्होमु शेर्पा, अष्टकुमार कवे, छन्दबहादुर पहराई मगर, भीम श्रीस, बाला अधिकारी, मुना भुसाल, विनिता खड्का, सम्झना खत्री, विजयकुमार स्वाँर, मथुराप्रसाद घिमिरे, जगदीशचन्द्र उपाध्याय, चन्द्रकला कुमारी यादव, रामपल्टन साह, राधेश्याम पाठक, रामरुप प्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया