सेयर मूल्य घटबढको १५ प्रतिशत सीमाः बजारका लागि सकारात्मक कि जोखिमपूर्ण?

सेबोनले किन चलायो?

553
Shares

काठमाडौं । सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम भएसँगै यसको पक्ष–विपक्षमा बहसहरु भइरहेका छन् ।

धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को संशोधनमार्फत् सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएसँगै ‘उक्त प्रावधान’ बजारमा आवश्यक थियो वा थिएन? भन्नेमा लगानीकर्ताहरुको मत बाँझिएको छ ।

खागसरी, धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधनका ड्राफ्ट पठाउँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढाव सीमा घटबढ गर्ने विषय उल्लेख गरेको थिएन । धितोपत्र बोर्ड (सेबोन)ले नै यो व्यवस्था थप गरी कार्यान्वयनका लागि नेप्सेमा पठाएको हो ।

यस्तै, विनियमावली संशोधनपछि प्रारम्भिक कारोबार सत्रमा मूल्यमा ५ प्रतिशतसम्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइने व्यवस्था गरिएको छ । यसरी कायम हुने मूल्यको आधारमा तीन प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही सेयर किनबेच आदेश गर्नुपर्नेछ ।

यसअघि प्रारम्भिक कारोबार सत्रमा २ प्रतिशतसम्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइन्थ्यो । यो पनि नेप्सेले पठाएको मस्यौदामा उल्लेख नभई धितोपत्र बोर्डले नै थप गरी पठाएको प्रावधान हो ।

नेप्सेले सोमबारदेखि धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावलीले गरेका प्रावधान कार्यान्वयनमा लैजाने निर्णय गरेदेखि नै लगानीकर्ताले कम्पनीको मूल्यको उतारचढाव सीमा १० प्रतिशतबाट बढाएर १५ लगिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने विषयसमेत उठाइरहेका छन् ।

साथै, कतिपयले त यसलाई कसको स्वार्थमा यस्तो नियम ल्याइयो भन्दै प्रश्नसमेत उठाएका छन् । तर, पुँजीबजारका जानकार भने १० प्रतिशतको सीमा बढाएर १५ प्रतिशत पुर्याउनुलाई नकारात्मक नै मान्नुपर्ने स्थिति नरहेको बताउँछन् ।

पछिल्लो समय बजार घटेका कारण १५ प्रतिशतको सीमाले नकारात्मक असर गर्ने जस्तो देखिए पनि यसले बजार बढ्दा उति नै छिटो उचाई लिने उनीहरूको तर्क छ।

‘अहिले बजार घटिरहेको हुनाले १५ प्रतिशतको सीमाले गिरावटलाई थप मद्दत पु¥याउँछ भनेर आलोचना भइरहेको छ । तर, यो नियमले बजार बढ्दा पनि उत्तिकै भूमिका खेल्छ,’ पुँजीबजारका एक जानकारले भने, ‘कम्पनीको मूल्य १५ प्रतिशतको सीमाले बजार जुन रफ्तारमा घट्न सक्छ बजार बढ्दा पनि सोही रफ्तारमा बढ्ने बाटो खुल्छ ।’

उनका अनुसार यो व्यवस्थाले बजारमा उतारचढाव केही बढाए पनि यसलाई बजारको परिपक्वता र अन्तर्राष्ट्रिय अभ्यासका रूपमा लिनुपर्ने बताए । बजार घटेको बेला बढी अंकको गिरावट देखिए पनि बजारले लय समात्दा रिकभरी पनि छिटो हुने भएकाले लगानीकर्ताहरू आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘बजार बढ्दा हाम्रोमा १० प्रतिशतले सीमाले गर्दा माथि उक्लिनै कठिन भयो यो सीमा बढाउनुपर्यो । सूचकको सकारात्मक सर्किटको सीमा पनि बढाउनुपर्यो भन्ने तर्क गरिन्छ,’ ती जानकारले क्लिकमान्डुसँग भने, ‘फेरि, बजार घट्दा भने सोही सीमा धेरै भयो भन्ने कुरा गरिन्छ । यसरी, अवस्था अनुसारको व्याख्याको पछि लाग्नु हुँदैन ।’

उनले यो सीमालाई बजार घट्दो मात्रामा रहेको आधारमा मात्रै नहेरेर बढ्दो आधारमा पनि हेर्नुपर्ने बताए । साथै, यो नियम समग्र बजार र लगानीकर्ताका लागि आएकाले एउटा स्वार्थ समूहको फाइदाका लागि भनेर भनिने आलोचना उचित नभएको उनको तर्क छ ।

साधारण र अफहवाको पछाडि दौडने लगानीकर्ताका लागि जोखिमपूर्ण
तर, यसले कुनै कम्पनीको मूल्यलाई उचाल्ने र गिराउनेको खेलमा भने सहयोग गर्ने देखिन्छ । नेपाली बजारमा अकारण कुनै कम्पनीको मूल्य अस्वभाविक ढंगमा बढाउने र छोटो समयमा नै तीव्र गतिमा गिराउने काम हुँदै आएको छ ।

यसर्थ, लगानीकर्ता पनि परिपक्व नभएको हाम्रो जस्तो बजारमा साधारण लगानीकर्ता बढी जोखिममा धकेलिने सम्भावना रहन्छ ।

अहिले पनि कुनै कम्पनीको मूल्य बढाएर टुप्पोमा पुर्याउने र लगानीकर्ता फसाउने गरेको गुनासो आइरहेको हुन्छ । यस्तो अवस्थामा एकै दिन एउटा कम्पनीको मूल्य ठूलो मात्रामा घटबढ हुने हुनाले यो सीमा बढाउनु लगानीकर्ताका लागि बढी जोखिमयुक्त भएको देखिन्छ ।

नेपाल फाइनान्स जस्तो ६०० रुपैयाँ प्रतिकित्ता हाराहारीको सेयर मूल्य लगातार बढाएर २६०० रुपैयाँसम्म पुर्याउने र फेरि घटाएर ९०० हाराहारीमा झार्ने प्रवृत्तिलाई भने यसले मलजल गर्न सक्दछ ।

अझ भन्नुपर्दा अरुको भनसुनमा लागेर वा सामाजिक सञ्जालमा भएको चर्चाको पछि लागेर कारोबार गर्नेहरुको भने १५ प्रतिशतको सीमाले छोटो समयमा बढी नोक्सानी गराउन सक्छ ।

पहिला १० प्रतिशतमा सकारात्मक वा नकारात्मक सर्किट लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याउँदा अस्वभाविक मूल्य बढाएर साधारण लगानीकर्ता फसाउन सक्रिय हुने समूहको चाहना भने छोटो समयमा पुरा गर्न यसले मद्दत गर्न सक्दछ । त्यसैले लगानीकर्ताले अफहवाको भरमा भन्दा पनि सोच विचार गरेर लगानी गर्नुपर्ने हुन्छ ।

इन्ट्राडेमा जानका लागि १० प्रतिशतको सीमा १५ प्रतिशत?
नेपाली पुँजी बजारमा लामो समदेखि ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ जस्ता नयाँ फिचरहरु आउनुपर्ने माग रहँदै आएको छ । नेपाल धितोपत्र बोर्डले पनि पछिल्लो केही समय यता बजारमा ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ जस्ता नयाँ कारोबार सञ्चालन गर्ने तयारी गरिरहेको थियो ।

मार्जिन लेन्डिङलाई प्रभावकारी कार्यान्वयनका लागि पनि ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ आवश्यक पर्ने विषय उठिरहेका छन् । पुँजी बजारका एक बिज्ञका अनुसार ‘इन्ट्राडे’का लागि कम्पनीको मूल्यको उतारचढावको सीमा लचक र बढी नै हुनुपर्द छ । यसर्थ, इन्ट्राडे माग गर्नेका लागि भने यो झनै उचित मानिन्छ ।

‘इन्ट्राडेका लागि बजार बढी लचक हुनुपर्छ । त्यसैले यसको माग गर्ने र चाहिन्छ भन्नेका लागि मूल्यको उतारचढाव सीमा १० प्रतिशतबाट १५ प्रतिशत पुर्याउनु राम्रो हो,’ ती बिज्ञले भने, ‘खरिदबिक्री गर्नेका लागि पनि तत्कालै सकारात्मक र नकारात्मक सर्किट नलाग्ने भएकाले सो हिसाबमा पनि यो राम्रो मानिन्छ ।’

धितोपत्र बजार खुल्दा किनेको सेयर, बन्द हुनु अगाडि नै बिक्री गर्ने वातावरण बनेको हुनुपर्छ वा आज बेचेको सेयर आजै किन्ने व्यवस्था हुनुपर्छ, जसलाई इन्ट्राडे कारोबार भनिन्छ । इन्ट्राडे कारोबार नभएको खण्डमा सर्टसेलिङ, धितोपत्र बरोइङ एन्ड लेन्डिङ लागु हुन सक्दैन ।

यसर्थ, धितोपत्र बोर्ड इन्ट्राडे सुरु गर्ने योजनामा रहेकाले पनि नेप्सेले प्रस्ताव नगर्दा नगर्दै यस्तो व्यवस्था गरेको हुन सक्ने उनले बताए । यद्यपि, बोर्डले भने यो सीमा किन बढाइयो भनेर जानकारी दिएको छैन । ती बिज्ञले पनि यो सीमा बढाउँदैमा बर्बादै हुन्छ भनेर हिड्नुपर्ने अवस्था नरहेको बताए ।

तर, बजार घटेका बेला १५ प्रतिशतको सीमाले लगानीकर्ताको सम्पत्तिमा तीव्र गिरावट ल्याउने विषय एकथरी लिगानीकर्ताले राखिरहेका छन् । ब्रोकर तथा सरकारको आम्दानी बढाएपनि लगानीकर्तालाई भने यो नियमले कुनै फाइदा नहुने तर्क उनीहरुको छ ।

उनीहरुका अनुसार सामान्य चलखेलले पनि समग्र बजार सूचकलाई अस्वाभाविक रूपमा प्रभावित पार्ने काम हुँदै आएको छ । यस्तो स्थितिमा यो नियमले बजारको उतारचढावलाई थप तीव्र बनाउने र साना लगानीकर्तालाई जोखिममा पार्ने उनीहरुको दाबी छ ।

नेप्से सर्किट ब्रेकरको पनि आलोचना
हाल नेप्सेको सूचकमा गरिएको सर्किट ब्रेकरको प्रावधानको पनि आलोचना भइरहेको छ । संशोधित विनियमावलीले कारोबार सुरू भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिने र कारोबार अवधिको कुनै पनि समयमा परिसूचक ८ प्रतिशतले घटबढ भएमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द हुने व्यवस्था गरेको छ ।

यसअघि भने कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुने व्यवस्था थियो ।

त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्थ्यो । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरीका लागि कारोबार बन्द हुने गर्दथ्यो ।

तर, हाल भने ५ र ८ प्रतिशत गरी दुई वटा सीमा कायम गरेसँगै यसको समेत आलोचना भइरहेको हो । बजार चरम उतारचढावमा रहेका बेला पनि बजारलाई लामो समय खुला राख्दा लगानीकर्ताको जोखिम र घाटा झन् बढ्ने विषय कतिपय लगानीकर्ताले राखिरहेका छन् ।

यसैक्रममा हाल लागू गरिएका यी नीतिगत व्यवस्थाहरू गैरकानुनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै नेपाल सेयरबजार लगानीकर्ता संघले संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिएको छ । संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

नयाँ नियम आएपछिको पहिलो कारोबार दिन सोमबार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेन्ट इन, पाल्पा सिमेन्ट इन्ड्रस्टी लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेड कम्पनीको कारोबार सर्किट लागेको हो ।

लगानीकर्ताले माग गरेका विषय भन्दा पनि अनावश्यक विषय बजारमा ल्याउने काम भएको भन्दै कतिपयले धितोपत्र बोर्ड र नेप्सेको आलोचना समेत गरिरहेका हुन् ।

Skip This