
काठमाडौं । नेपाल चिनी उद्योग संघले खुला सिमानाबाट भइरहेको अनधिकृत र अनियन्त्रित चिनी पैठारीलाई रोक्न सरकारले चालेको कदमको स्वागत गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै सिमानामा गरिएको कडाइले स्वदेशी उखु कृषक र चिनी उद्योगको संरक्षणमा टेवा पुग्ने भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरेको हो ।
रुग्ण अवस्थामा पुगेका उद्योगलाई राहत
नेपाल र भारतबीचको खुला सिमानाका कारण कर नतिरी भित्रिने चिनीले स्वदेशी उत्पादनको बिक्री वितरणमा गम्भीर असर पारेको संघले जनाएको छ ।
अनधिकृत आयातका कारण आन्तरिक बजारमा स्वदेशी चिनी नबिक्दा कृषकलाई भुक्तानी दिन समस्या परेको र उद्योगहरू बैंकको ऋण सीमा नाघेर रुग्ण अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
सिमानामा कडाइ भएसँगै अब स्वदेशी उत्पादन समयमै बिक्री हुने र त्यसबाट कृषकको भुक्तानी तथा बैंकको साँवा-ब्याज तिर्न सहज हुने विश्वास व्यवसायीहरूले लिएका छन् । यस कदमले कृषक, उद्योग र सरकार तीनै पक्ष लाभान्वित हुने भन्दै व्यवसायीले यस नीतिलाई दीर्घकालीन रूपमा निरन्तरता दिन अपिल गरेका छन् ।
हाल स्वदेशमा १३ वटा चिनी उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ६० हजार कृषक परिवार आबद्ध छन् । उखु रोप्ने, काट्ने र ढुवानी गर्ने कार्यमा मात्रै दैनिक ५० हजारभन्दा बढी जनशक्ति परिचालित हुने गरेको संघले जनाएको छ । शतप्रतिशत स्वदेशी कृषिजन्य उत्पादनको संरक्षणले विशेष गरी तराई क्षेत्रको बजार विस्तार र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणमा मद्दत पुग्ने संघको ठहर छ ।
संघले उपभोक्ताहरूलाई पनि स्वदेशी उत्पादन खरिद गर्ने संस्कार विकास गर्न आग्रह गरेको छ । ‘पहिले स्वदेशी उत्पादन’ भन्ने साझा अभियानलाई सार्थक बनाउन आह्वान गर्दै संघले नेपाली श्रम र करको सम्मान गर्न सबै सरोकारवालाहरूसँग अपिल गरेको छ । स्वदेशी उत्पादनको प्रयोगले देशलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न योगदान दिने विज्ञप्तिमा भनिएको छ ।










प्रतिक्रिया