दीपेन्द्र अग्रवालले सामाजिक सञ्जालदेखि धितोपत्र बोर्डसम्म पुगेर केके हर्कत देखाए ?

882
Shares

काठमाडौं । सेयर कारोबार गर्ने र पुँजी बजारप्रति चासो राख्ने व्यक्तिका लागि दीपेन्द्र अग्रवाल जाने सुनेकै नाम हो । सामाजिक सञ्जालमा बजारका विषयमा गर्ने टिप्पणी र दिने अभिव्यक्तिले उनी बेलाबेला चर्चामा आइरहने पात्र हुन् । पुँजी बजारका निश्चित समूह (सेक्टर) तथा कतिपय अवस्थामा कम्पनीको नामै किटान गरेर मूल्य घटबढबारे प्रक्ष्येपण गर्नु अग्रवालले गर्दै आएको काम हो ।

यसैले गर्दा पनि अग्रवालप्रति पुराना मात्रै होइन, बजारमा हालसालै प्रवेश गरेका नयाँ लगानीकर्ताले पनि चासो देखाउने गर्दछन् । सेयर कारोबारमा लाग्नेहरुसामु उनले के बोल्छन् ? भन्ने सुन्नैपर्ने बाध्यता छ । सबै विभिन्न अभिव्यक्ति दिएर सधैं चर्चाको शिखरमा रमाउन चाहने अग्रवालको सामाजिक सञ्जाल फलोअर्स संख्या हजारौं मा छ । तर, अग्रवालले आफ्नो यो फलोअर्सलाई पुँजी बजार सुधारका निम्ति, नीतिअनुसार थिति बसाल्नका लागि र लगानीकर्ताको हितका लागि भन्दा पनि सधैं व्यक्तिगत स्वार्थ पूरा गर्ने काममा बढी प्रयोग स्थिति छ । नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनले पनि यस्तै देखाएको छ ।

नियामक निकायदेखि सामाजिक सञ्जाल प्लेटफर्मसम्ममा अराजक रुपमा अग्रवाल पटकपटक प्रस्तुत हुँदै आएका व्यक्ति हुन् । अग्रवालले अर्थमन्त्री र गभर्नरको राजीनामा माग गर्दै पटकपटक सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गर्ने गरेका थिए । लगानीकर्ताको हवाला दिँदै व्यक्तिगत स्वार्थ सिद्ध गर्न अग्रवाल धेरैपटक अनसन बसेर आम लगानीकर्ता र सञ्चारकर्मीको नजरमा परे ।

धेरैका लागि उनी टाउको दुखाई बन्ने गरेका छन् । आफूले चाहेअनुसार बोर्डले निर्णय नगर्दा त झन् अग्रवालले बजार सुधारका नाममा सेबोन नेतृत्वलाई धम्क्याउने, मानिस उचालेर अराजकता मच्चाउन लगाउने, अनावश्यक दबाब दिने सम्मका थुप्रै काम गरे । अर्थात्, यस्तो अवस्थामा अग्रवाल बजारमा नैतिक र जिम्मेवार ढंगबाट भन्दा पनि बढी अराजक र अस्वभनिय गतिविधिमा रमाउन तल्लिन भएका पात्र हुन् ।

अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नेदेखि क्लबहाउसमा कुराकानी गर्ने र बजारको समूहगत उतारचढावका विषयमा अनावश्यक टिप्पणी गर्ने कार्य गर्दै आएका थिए । उनले सेयर खरिद गर्न लगाएर फसाएको भन्दै विरोध गर्नेहरु पनि केही मात्रामा थिए । पछिल्लो पटक भदौ २३ र २४ को जनेजी प्रदर्शनपछि त झन् अग्रवालले नेपाल धितोपत्र बोर्ड (सेबोन)माथि उग्र प्रतिसोधपूर्ण व्यवहार प्रस्तुत गरे ।

खासगरी, आफ्नो स्मार्ट डोर्स कम्पनीले आईपीओ निष्कासन अनुमति नपाएको झोंकमा अग्रवालले एकपछि अर्को पोस्ट राख्दै बोर्डमाथि खनिए भने अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि व्यक्तिगत तबरमै रिसिबिमा उत्रिए । आफ्नो प्रतिसोधलाई नै बोकेर अग्रवालले अन्य लगानीकर्तालाई उचालेर सेबोन कार्यालयमा पटकपटक धर्ना र आन्दोलन मात्रै गरेनन्, सेबोन नेतृत्व कार्यालयमै थुनिनेसम्मको स्थिथि सिर्जना गरे ।

गत असोज २६ गते धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई लगानीकर्ताहरुले बोर्डमै थुनेका थिए । दिउँसो ३ बजेदेखि बोर्डमा धर्ना दिएका लगानीकर्ताले श्रेष्ठ भित्रै बसिरहेको समयमा बाहिर आन्दोलन गरेका थिए । यस समयमा पनि लगानीकर्ताहरु बोर्ड जानुमा अग्रवालकै हात थियो । लगानीकर्ताहरुले भने भ्रष्ट अध्यक्षकै कारण बजारमा सुधार हुन नसकेको भन्दै बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका थिए ।

सो समयमा बोर्ड सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन भएको थियो । विभिन्न ११ बुँदे माग राखेका लगानीकर्ता र सेबोनबीच छलफलका क्रममा सहमित जुट्न नसकेपछि रातको साढे १० बजेसम्म पनि धर्ना चर्किएको थियो ।

सहमती हुने अवस्था नबनेपछि सुरक्षाकर्मीको एक टोलिले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र कार्यकारी निर्देशकसहितको पदाधिकारीलाई सुरक्षा दिएर घर पठाएको थियो । यी लगानीकर्ताको नेतृत्वको रुपमा देखिएका अग्रवालले आफूहरुको कुनै पनि माग सम्बोधन नभएकाले आन्दोलन निरन्तर रहने बताएका थिए ।

असोज २६ मा अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मलाई भेट्न चाहने साथीहरू अहिले धितोपत्र बोर्ड आउनुहोला । म यहाँ पुगिसकेको छु । हाम्रो माग पुरा नभएसम्म रातभरी यहीँ बस्ने हो ।’ यहि दिन अर्को पोस्ट गर्दै अग्रवालले अध्यक्षलाई घेरेर राखेको भन्दै तत्काल बोर्डमा आउन आग्रह समेत गरेका थिए ।

यसपछि कात्तिक दोस्रो साता अग्रवालले विज्ञप्ति जारी गर्दै ‘हिँड काठमाडौं संघर्ष अभियान’ घोषणा गरे । पुँजी बजार सुधारका माग राख्दै सुरु गरिएको विरोध प्रदर्शनको घोषणामा सेबोन परिसरमा कात्तिक १४ गते शुक्रबार विरोध प्रदर्शन गर्ने जानकारीसमेत दिइएको थियो ।

बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजार सुधार तथा स्तरोन्नतिका नीति र कार्यक्रम कार्यान्वयन गर्न नसके तत्काल राजीनामा दिनुपर्ने मुख्य मागसहित अग्रवालले २८ बुँदे ज्ञापनपत्र सार्वजनिक गर्दै यस्तो आन्दोलनको घोषणा गरेका थिए ।

नभन्दै कात्तिक २१ गते अग्रवाल सहितका लगानीकर्ता धितोपत्र बोर्डमा पुगेर बिरोध कार्यक्रममा उत्रिए । सोही हिँड अभियान अन्तर्गत उनीहरुले धितोपत्र बोर्डमा पुगेर आन्दोलन गरे भने बजारलाई शुद्धीकरण वा सुधार नगरी बजार चलायमान नहुने धारणा राखे । यस आन्दोलनका दिन सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अग्रवालले ‘यताको माहोल यस्तो छ तपाईं छुट्नु भएन नि?’ भनेर धर्ना दिइरहेको तस्बिर सार्वजनिक गरे ।

‘लगानीकर्ताहरुको हक हितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन ? बोर्ड केका लागि स्थापना भएको हो ? लगानीकर्ताहरुको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो?’ भन्दै नारा लगाए । यसपछि, जेनजीका नाममा अग्रवालले विभिन्न युवालाई बोर्डमा पठाउने काम गरिरहे ।

मंसिर १९ गते नेपाली पुँजीबजारमा देखिएको अनिश्चितता, नियमनकारी निकायप्रतिको असन्तुष्टि र सुधारका लागि भन्दै जेनजी रिभोलुसन नेपाल समूहले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा माग गर्दै २८ बुँदे मागपत्र बुझायो । सो समूहले बोर्ड अध्यक्ष श्रेष्ठलाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गर्यो । सो कदमलाई लिएर उनले ‘हाम्रा भाइबहिनीहरुले मसँग कोर्डिनेट गरेर हाम्रै मागहरु जस्ताको त्यस्तै राखेकोमा खुसी छु’ भनि सामाजिक सञ्जालमा उल्लेख गरे ।

हुन त पछिल्लो समय मात्रै होइन, २०७९ असार पहिलो साता पनि लगानीकर्ताको आमरण अनसनको नाममा अग्रवाल नेतृत्वको समूहले सोही किसिमको हर्कत देखाएको थियो । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड परिसरमा जारी आन्दोलनमा तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालविरुद्ध चर्को नाराबाजीमा अग्रवाल समूह उत्रिएको थियो । हमालविरुद्ध अपशब्दसहित गाली गलौज गर्दै नाराबाजी गर्ने मध्येका मुख्य व्यक्तिमध्ये दीपेन्द्र अग्रवाल एक थिए ।

अग्रवाललाई काठमाडौं प्रहरी परिसरले ठगी तथा विश्वासघातको आरोपमा साउन ५ गते पक्राउ गरेको थियो । सेयर कारोबार मार्फत् लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई २२ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा पक्राउ परेका उनी १० दिनको हिरासतपछि हाजिरी जमानीमा रिहा भएका थिए ।

हिरासतबाट छुटेपछि सामाजिक सञ्जालमा अग्रवालले, ‘१० दिनको वनवास र अग्नी परीक्षापछि सत्यको जित हुँदै फर्किएको’ प्रक्रिया दिएका थिए । अग्रवालमाथि सेयर खरिदबिक्रीमा मानिसलाई ‘मिस लिड’ गर्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको थियो ।

सामाजिक सञ्जाल तथा विभिन्न प्लेटफर्ममा समेत उनले सेयर खरिद गर्न लगाएर फसाएको भन्दै विरोध हुँदै आएको थियो । सर्वसाधारण लगानीकर्तालाई सेयर खरिद गर्न लगाउने र फसाउने काम गरेको भन्दै अग्रवाल विवादमा तानिने क्रम पनि बढ्दै गएको थियो । नेपाल फाइनान्स जस्ता कम्पनीको सेयर खरिद गर्न लगाएर तीब्र गतिमा मूल्य उतारचढाव गराउने तथा साधारण लगानीकर्तालाई फसाउने काम गरेको आरोप उनीमाथि लाग्ने गर्दछ ।

सामाजिक सञ्जालहरुमा सक्रिय अग्रवाल क्लबहाउस लगायत सामाजिक सञ्जालमा बजारका विषयमा विभिन्न किसिमका छलफल तथा कुराकानी गर्ने गर्दछन् । अग्रवालमाथि लगानीकर्ताको गुनासो र उजुरी बढ्दै गएपछि धितोपत्र बोर्डले अनुसन्धान नै गर्यो ।

बोर्डले अनुसन्धान थालेपछि सञ्चारमाध्यममा उनका करतुत सार्वजनिक हुने क्रम बढ्यो । त्यसपछि त आफ्नो हर्कतबारे सप्रमाण समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई पनि छाडेनन् । समाचारको खण्डन गर्नुको सञ्चारकर्मीलाई बैरी माने, सेयर बजार विरोधी भने । तथानाम गाली गरे । असभ्य भाषा प्रयोग गरे ।

अनलाइनखबर डटकमका सिनियर सब इडिटर भुवन पौडेलले दिपेन्द्र अग्रवालको कारोबार : आफूले बेचेको सेयर आफैं किन्‍ने, महँगोमा जनता फसाउने, लगानीकर्ता फसाउन अग्रवालले क्लब हाउस र फेसबुक दुरुपयोग गरेको प्रहरीद्वारा पुष्टि, फर्जी सेयर कारोबार गरेर कसरी जनता फसाउँछन् दीपेन्द्र अग्रवाल ?, धितोपत्र ब्रोकर पनि जोगिन सकेनन् दीपेन्द्र अग्रवालको ठगीबाट लगायत शीर्षकका समाचार लेखे पछि अग्रवाल पौडेलमाथि खनिएका थिए ।

समयक्रममा पत्रकार पौडेलले लेखेको समाचार सत्य साबित भयो ।

अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेललाई अग्रवालले गरेको गालीगलौज

‘अग्रवालले सेयर खरिद बिक्री गर्न उक्साउने उद्देश्यले झुटा भ्रामक विवरण सम्प्रेषण गर्ने तथा पूर्व अनुमान बनाउने काम गरे/नगरेको र धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’ले उनले सेयर कारोबारमा गम्भिर चलखेल गरेको निष्कर्ष निकाल्यो । सोही प्रतिवेदनका आधारमा सीआईबीले अग्रवाललाई पक्राउ गर्‍यो ।

धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ सेबोनले अग्रवालले सेयर खरिद बिक्री गर्न उक्साउने उद्देश्यले झुटा भ्रामक विवरण सम्प्रेषण गर्ने तथा पूर्व अनुमान बनाउने विषयको पनि अध्ययन गर्यो । अग्रवालले बजारलाई प्रभावित पार्ने किसिमले २०८० फागुन २ मा ‘आज साथीहरुलाई प्रमिस गरे बमोजिम म के गर्दैछु भन्न गईरहेको छ । आज मैले आफ्नो सम्पूर्ण फाइनान्स, पिपुल्स पावर तथा रिभर फल्स बेचेर जोशी किन्ने किन्ने निर्णय गरेको छ । के जोशी १००० सम्म पुग्छ ?’ भनि आफ्नो फेसबुक पेजमा उल्लेख गरेका थिए ।

यस विषयमा बोर्डमा ईमेल मार्फत् गुनासो समेत पुगेका थियो । त्यसैगरी अग्रवालले ‘जोशीको ६५ प्रतिशत राइट आउँदैछ । जोशीले ६५ प्रतिशत राइट पछि १ः२ राइट फेरी जारी गर्नेछ । केही समाचार अनुसार जोशीले ५३ मेगावाटको हाइड्रपावर किन्दैछ त्यसैले यो स्क्रिप्ट छिटै एक हजार पुग्नेछ तसर्थ आफ्नो पुरै पोर्टफोलियो जोखीम सिफ्ट गर्दा सानो समयमा धेरै फाइदा हुने देख्दछु । धन्यवाद !’ लेखेका थिए ।

उक्त विषयमा आधिकारीक जानकारी लिनको लागि बोर्डले नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोसँग लिङ्क कसको हो र उक्त फेसबुक प्रयोगको लागि कुन मोबाईल नम्बर वा ईमेल ठेगाना उपयोग भएको हो भन्ने विवरण माग्यो । नभन्दै सो कार्य दीपेन्द्र अग्रवालले नै गरेको निष्कर्ष निस्कियो ।

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले कायम रहेको सेयरको १:०.६५ अनुपातमा हकप्रद सेयर निष्काशन पश्चात् फेरि १:२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा ५३ मेगावाटको हाइड्रोपावर किन्ने सम्बन्धमा कुनै निर्णय नगरेको भएपनि अग्रवालले यो विषयमा भ्रम फैलाउने काम गरेका थिए ।

जुन कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ को खण्ड (ग) बमोजिम अन्य लगानीकर्तालाई उक्त कम्पनीको सेयर खरिद गर्न उक्साउने उद्देश्यले बदनियत साथ झुट्टा तथा भ्रामक विवरण सम्प्रेषण गर्ने, पूर्व अनुमान बनाउने गरी झुक्याउने काम भएको धितोपत्र बोर्डको अध्ययनले निष्कर्ष निकालेको छ । उक्त भ्रामक कुराहरु सार्वजनिक गर्नुपूर्व गरेको सेयर कारोबारहरुबाट अग्रवालले जोशी हाईड्रोपावरको सेयरहरु खरिद गरी संकलन गरेको, भ्रामक कुराहरु सार्वजनिक गरेपछि बजार बढेको र उक्त सेयरहरु बढी मूल्यमा बिक्री गरेको देखिएको छ ।

सो अवधिमा निजले जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीबाट मात्रै ४९ लाख १९ हजार ८६५ रुपैयाँ कुल मुनाफा आर्जन प्रतिवेदनका निष्कर्ष छ । यसबाट पनि अग्रवालले सेयर कारोबारमा समेत कुन तहसम्मको हर्कत देखाउने गरेका थिए भन्ने प्रष्ट हुन्छ ।

प्रतिवेदनअनुसार अग्रवालले १५ व्यक्तिको टीएमएस प्रयोग गरी झुटा र कृत्रिम कारोबार गरेको, फर्जी कारोबार गर्न मिति नै नभएको साढे ३ अर्बको चेक कोल्याटरल प्रयोग गरेको र झुटो कारोबार गरी जोशी हाइड्रोबाट मात्रै ४९ लाख रुपैयाँ कानुन विपरीत कमाएको फेला पर्यो । हाल, सोही कसुर गरेको आरोपमा अग्रवाल पुस ४ गतेदेखि हिरासतमा छन् । यतिसम्म कि उनी प्रहरी हिरासतमै अनसन बसिरकेका छन् ।