
काठमाडौं । नेपालको पुँजी बजारमा खुलामुखी म्युचुअल फण्डहरूको विस्तारसँगै सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) आयोजनाहरु थपिनेक्रम पनि बढ्दो छ । छोटो समयमा नै नेपालमा ओपन इन्डेड म्युचुअल फण्डको सञ्चालन सबैजसो क्यापिटलले अपनाउँदा हालसम्म १३ वटा एसआईपी योजना सञ्चालनमा आइसकेका छन् ।
सन् २०२३ सम्ममा नेपालमा एनआईबिएलको सहभागिता फण्ड, एनआईसी एशियाको डायनामिक डेप्ट फण्ड, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनएमबी क्यापिटलको एनएमबि सरल बचत फण्ड–ई, लक्ष्मी क्यापिटलको शुभ लक्ष्मी कोष, नबिलको नबिल फ्लेक्सी क्याप फण्ड र कुमारी सुनौलो लगानी योजना गरी कुल सात एसआईपी योजना सञ्चालनमा थिए ।
तर, सन् २०२४ मा कुनै पनि एसआईपी योजना सञ्चालनमा आएनन् । यद्यपि, त्यसयता भने थप ६ वटा एसआईपी फन्ड सञ्चालमा आइसकेका छन् । जसमा, सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्ड, प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम, सिटिजन क्यापिटलको सिटिजन सदाबहार योजना, नबिल इन्भेस्टमेन्टको एनआई–३१, एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम र माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआईपी योजना छन् ।
खासगरी, एसआईपीका लागि उपयुक्त म्युचुअल फन्ड छनोट गर्दा इक्विटी, डेप्ट र हाइब्रिड फन्डबारे बुझ्नुपर्ने हुन्छ । इक्विटी फन्डमा जोखिम र प्रतिफल दुवै उच्च हुने, डेप्ट फन्डमा जोखिम कम र स्थिर आम्दानी हुने तथा हाइब्रिड फन्डमा दुबैको मिश्रण रहने किसिमको अवस्था हुन्छ ।
उमेर र जोखिम वहन क्षमताअनुसार फन्ड छनोट गर्नुपर्नेमा युवाहरूले इक्विटी फन्ड रोज्दा उपयुक्त हुने र उमेर बढ्दै जाँदा डेप्ट वा हाइब्रिड फन्डमा ध्यान दिँदा उचित हुने विषय उठ्दै आएको छ ।
यसका अलावा, फन्ड छनोट गर्दा एसेट एलोकेसन, नेट एसेट भ्यालु (एनएभी), एक्सपेन्स रेसियो, कम्पाउन्ड एनुअल ग्रोथ रेट, डिभिडेन्ड इतिहास र फन्ड साइजजस्ता सूचकहरू विश्लेषण गर्नुपर्ने हुन्छ । विशेषगरी एनएभीको दीर्घकालीन वृद्धि, कम एक्सपेन्स रेसियो र राम्रो डिभिडेन्ड इतिहास भएका फन्डहरूलाई प्राथमिकता दिनुपर्ने बताइन्छ ।
साथै, ठूलो फन्ड साइजले लगानीकर्ताको विश्वास र लिक्विडिटी देखाए पनि त्यसैले मात्र फन्ड राम्रो हुन्छ भन्ने सुनिश्चित नहुन पनि सक्छ । नेपाली बजारमा इक्विटी ओरेन्टेड फण्ड र डेप्ट ओरेन्टेड फण्ड गरी दुई प्रकारका एसआईपी सञ्चालमा छन् । नेपालमा सञ्चालित मध्ये एनआईसी एशियाको डायनामिक डेप्ट फण्ड मात्रै एउटा डेप्ट ओरेन्टेड एसआईपी फन्ड हो । अन्य सबै भने इक्विटी ओरेन्टेड फण्ड नै रहेका छन् ।
इक्विटी ओरेन्टेड फण्डहरूले आफ्नो लगानीको ठूलो हिस्सा सेयर बजार (स्टक मार्केट) मा परिचालन गर्छन् । जब सेयर बजार सकारात्मक दिशामा रहन्छ, यस्ता फण्डहरूले उल्लेख्य नाफा आर्जन गरी इकाइधनीहरूलाई आकर्षक लाभांश वितरण गर्छन् ।
यद्यपि, नेप्से परिसूचक ओरालो लाग्दा यस्ता फण्डहरूको कार्यसम्पादन पनि कमजोर हुन सक्छ । जोखिम र प्रतिफल दुवै उच्च हुने भएकाले बुल मार्केटको समयमा यी फण्डहरूबाट उच्च प्रतिफलको अपेक्षा गर्न सकिन्छ । तर, यस्ता फण्डहरूमा लाभांश दर भने नियमित नहुन सक्छ ।
डेप्ट ओरेन्टेड फण्डहरु भने जोखिम कम लिन चाहने लगानीकर्ताका लागि उपयुक्त मानिन्छ । यस्ता फण्डहरूले आफ्नो लगानीको मुख्य हिस्सा ऋणपत्र (बण्ड र डिबेन्चर) तथा मुद्दती निक्षेप जस्ता स्थिर आय हुने क्षेत्रमा परिचालन गर्छन् । यस्ता फण्डहरूको प्रतिफल तुलनात्मक रूपमा स्थिर र अनुमान योग्य हुन्छ ।
समग्रतामा हेर्दा सेयर बजारको उतारचढावलाई झेल्न सक्ने र दीर्घकालीन रूपमा उच्च प्रतिफलको खोजीमा रहेका लगानीकर्ताका लागि इक्विटी फण्ड उपयुक्त हुन सक्छ । तर, जो लगानीकर्ता आफ्नो लगानी सुरक्षित राख्दै नियमित र स्थिर आम्दानी चाहन्छन्, उनीहरूका लागि डेप्ट फण्ड बढी उचित हुन सक्दछ ।
सन् २०२५ यता आएका एसआईपी फण्डहरु नयाँ भएको र उनीहरुको लाभांश लगायतको हिस्ट्री पनि धेरै नभएको हुनाले यहाँ हामी सन् २०२५ भन्दा अगाडि सञ्चालनमा आएका सात एसआईपी योजनाको पर्फमेन्स र उनीहरुको स्थितिलाई केलाएर हेर्ने छौं ।
एनआईबिएल सहभागिता फण्ड
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले २०७६ वैशाख ९ गते योजना सञ्चालन अनुमति पाएको थियो । सम्पत्ति व्यवस्थापन, कोषको आकार र लाभांश वितरण तीनवटै सूचकमा एनआईबिएल सहभागिता फण्ड अग्रस्थानमा छ । यसले हाल बजारमै सबैभन्दा बढी ८ अर्ब ६३ करोड ३५ लाख ३१ हजार रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको छ ।
२०८१ मंसिरमा ५ अर्ब १७ करोड रुपैयाँ रहेको यसको कोषको आकार एक वर्षमै १५.८५ प्रतिशतले बढेर मंसिर २०८२ मा करिब ६ अर्ब (५ अर्ब ९९ करोड रुपैयाँ) पुगेको छ ।
लाभांशको इतिहास हेर्दा यसले निरन्तर आकर्षक प्रतिफल दिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ८.२५ प्रतिशत, २०७७/७८ मा ५० प्रतिशत, २०७८/७९ मा ७.२० प्रतिशत, २०७९/८० मा ४ प्रतिशत र गत आर्थिक वर्ष २०८१/८२ मा ७ प्रतिशत लाभांश दिएको छ ।
यसले हासम्म कुल ७६.४५ प्रतिशत दिएको छ जसको वार्षिक औसत प्रतिफल १२.७४ प्रतिशत छ । लगानी रणनीतितर्फ, यसले आफ्नो कुल पुँजीको ८० प्रतिशत सेयर बजार (इक्विटी)मा, ३ प्रतिशत निश्चित प्रतिफल दिने क्षेत्र (ऋणपत्र÷मुद्दती) मा र १७ प्रतिशत नगद तथा अन्य क्षेत्रमा राखेको छ ।
एनआईबिएल सहभागिता फण्डले सार्वजनिक गरेको २०८२ माघमहिनासम्मको अपरिष्कृत विवरणअनुसार यसको खुद सम्पत्ति ६ अर्ब १५ करोड २७ लाख रुपैयाँ छ । जम्मा खर्च ५ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको यस फण्डको कुल आय भनेको २७ करोड ७३ लाख ६२ हजार रुपैयाँले ऋणात्मक छ ।
एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड
एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड २०७७ कात्तिक २१ गते सञ्चालन अनुमति पाएको खुलामुखी योजना हो । ऋणपत्रमा आधारित लगानीका लागि चिनिने यो फण्डले निरन्तर लाभांश दिँदै आएको छ ।
आव २०७७÷७८ मा १० प्रतिशत, २०७८/७९ मा ६ प्रतिशत, २०७९/८० मा १० प्रतिशत र २०८०/८१ मा यसले १० प्रतिशत लाभांश दिएको छ । यस्तै, यस फण्डले २०८१/८२ मा ५.५५ प्रतिशत लाभांश दिएको छ जसमा कुल गरी हालसम्म ४१.५५ प्रतिशत पु¥याएको छ । यसको वार्षिक औसत प्रतिफल ८.३१ प्रतिशत छ ।
एक वर्षमा ६१ प्रतिशतले वृद्धि भई यसको कोषको आकार १ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यसले १ अर्ब ६६ करोड २५ लाख रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेको छ । यसको लगानी संरचना अलि फरक छ । यसले ५० प्रतिशत सेयरमा, २५ प्रतिशत निश्चित प्रतिफल दिने क्षेत्रमा र १५ प्रतिशत नगदमा राखेको छ ।
२०८२ माघसम्मको प्रकाशित वित्तीय विवरणअनुसार यस फण्डको कुल लगानी १ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ छ । यस फण्डको कुल सम्पत्ति भने १ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ छ भने जम्मा आम्दानी २९ लाख ६२ हजार रुपैयाँ छ ।
वित्तीय विवरणअनुसार १ करोड ९० लाख रुपैयाँ कुल खर्च रहेको यस कम्पनीको कुल नाफा भने १ करोड ६० लाख रुपैयाँले ऋणात्मक छ ।
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टमेटिक लगानी योजनाले २०७८ जेठ २७ गते सञ्चालन अनुमति पाएको थियो ।
सिद्धार्थ क्यापिटलको यस फण्डले एक वर्षमा आफ्नो कोषको आकार ९४.४६ प्रतिशतले बढाएको छ । २०८१ मंसिरसम्म १ अर्ब १२ करोड रहेको यस फण्डको कोषको आकार २०८२ मंसिरमा आउँदा बढेर २ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
यसले हाल २ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको छ । यस योजनाले २०८१/८२ मा पहिलो पटक ८ प्रतिशत लाभांश दिएको छ । लगानीतर्फ यसले ८२ प्रतिशत सेयर बजारमा, ३ प्रतिशत निश्चित प्रतिफलमा र १५ प्रतिशत नगद मौज्दात राखेको छ ।
२०८२ माघसम्मको प्रकाशित वित्तीय विवरणअनुसार यस फण्डको खुद सम्पत्ति २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ छ । समिक्षाअवधिमा ७३ लाख २९ करोड रुपैयाँ आम्दानी गरेको यस फण्डको जम्मा खर्च २ करोड २६ लाख ८७ हजार रुपैयाँ छ । यसको कुल आय भने १ करोड ५३ लाख ५७ हजार रुपैयाँले ऋणात्मक छ ।
एनएमबि सरल बचत फण्ड–ई
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचनत फण्ड–ई ले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २०७८ साउन २२ गते सञ्चालन अनुमति पाएको थियो ।
सम्पत्ति व्यवस्थापनको हकमा यो दोस्रो ठूलो फन्ड हो । एनएमबि सरल बचत फण्डले ४ अर्ब १७ करोड ७६ लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको छ । २०८१ मंसिरसम्ममा २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको यसको कोषको आकार ५७.१७ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
यस योजनाले २०८१/८२ मा ४.२७ प्रतिशत लाभांश वितरण गरेको छ । यस फण्डले सबैभन्दा बढी अर्थात् ८५ प्रतिशत लगानी सेयर बजारमा गरेको छ भने ५ प्रतिशत निश्चित प्रतिफल क्षेत्रमा र १० प्रतिशत नगदमा राखेको छ ।
२०८२ माघसम्मको प्रकाशित वित्तीय विवरणअनुसार यस फण्डको कुल सम्पत्ति ४ अर्ब ५१ करोड २१ लाख रुपैयाँ छ । ४ करोड ५२ लाख रुपैयाँ जम्मा खर्च रहेको यस फण्डको कुल आय १० करोड २७ लाख ९८ हजार रुपैयाँले ऋणात्मक छ ।
शुभ लक्ष्मी कोष
लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभलक्ष्मी कोषले नेपाल धितोपत्र बोर्डबाट २०७९ जेठ ३१ गते सञ्चालन अनुमति पाएको थियो । लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको शुभ लक्ष्मी कोषले छोटो समयमै आफ्नो आकार ८५.४४ प्रतिशतले बढाएर ६० करोड ८० लाख रुपैयाँ पु¥याएको छ । यसले हाल ६२ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको छ ।
यसले आर्थिक वर्ष २०८०/८१ मा यसले ७.५० प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा १६ प्रतिशत लाभांश दिएको छ । यसको वार्षिक औषत लाभांश ७.८३ प्रतिशत छ । यसले ७३ प्रतिशत सेयरमा, २ प्रतिशत निश्चित आयमा र २५ प्रतिशत नगदमा लगानी गरेको छ ।
२०८२ माघसम्मको प्रकाशित वित्तीय विवरणअनुसार यसको कुल लगानी ५३ करोड २७ लाख रुपैयाँ छ भने चाु सम्पत्ति १५ करोड २३ लाख रुपैयाँ छ । ६८ करोड २५ लाख रुपैयाँ खुद सम्पत्ति रहेको यस फण्डको जम्मा आम्दानी भने ४४ लाख ८७ हजारले ऋणात्मक छ ।
७० लाख २६ हजार रुपैयाँ कुल खर्च रहेको यस फण्डको कुल आय भने १ करोड १५ लाख १४ हजार रुपैयाँले ऋणात्मक छ ।
नबिल फ्लेक्सी क्याप फण्ड
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डलाई नेपला धितोपत्र बोर्डले २०७९ भदौ २७ मा कोष सञ्चालन अनुमति प्रदान गरेको थियो । पछिल्लो पटक प्रतिशतका आधारमा कोषको आकार बढाउनेमा नबिल फ्लेक्सी क्याप फण्ड पहिलो नम्बरमा छ ।
नबिल फ्लेक्सी क्याप फण्डले एक वर्षको अवधिमा ११०.९७ प्रतिशतले कोष फण्ड बढाएको छ । २०८१ मंसिरसम्ममा ८५ करोड ३५ हजार रहेको यसको कोष फन्ड २०८२ मंसिरमा पुग्दा १ अर्ब ७९ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
हाल यसले १ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको छ । यस योजनाले २०८०/८१ मा ५ प्रतिशत र २०८१/८२ मा ९ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश दिएको छ । यसले आफ्नो ८० प्रतिशत लगानी सेयर बजारमा, ३ प्रतिशत निश्चित प्रतिफल दिने क्षेत्रमा र १७ प्रतिशत नगदमा राखेको छ ।
२०८२ माघसम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार यस फण्डको कुल लगानी १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ छ । २ अर्ब ९ करोड रुपैयाँ खुद सम्पत्ति रहेको यस फण्डको जम्मा आम्दानी १ लाख ५२ हजार ९७३ रुपैयाँ छ ।
२ करोड १८ लाख रुपैयाँ जम्मा खर्च रहेको यस फण्डको कुल नाफा २ करोड १७ लाख रुपैयाँले ऋणात्मक छ ।
कुमारी सुनौलो लगानी योजना
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनालाई धितोपत्र बोर्डले २०७९ फागुन ३ गते सञ्चालन अनुमति प्रदान गरेको थियो । यसपछि, यो २०७० चैत २९ गतेबाट सञ्चालनमा आएको थियो ।
साना तथा मझौला लगानीकर्तामाझ लोकप्रिय यो योजनाले एक वर्षमा ८३.०७ प्रतिशतले कोषको आकार बढाएर ७६ करोड १० लाख रुपैयाँ पु¥याएको छ । यसको कुल सम्पत्ति व्यवस्थापन ८३ करोड ६९ लाख रुपैयाँ छ ।
आव २०८०/८१ मा १०.५० प्रतिशत र २०८१/८२ मा ८.८८ प्रतिशत गरी यसले कुल १९.३८ प्रतिशत लाभांश दिएको छ । यसको वार्षिक औसत प्रतिफल ९.६९ प्रतिशत छ ।
यसले सबैभन्दा बढी अर्थात् ८६ प्रतिशत हिस्सा सेयर बजारमै लगानी गरेको छ । २०८२ माघसम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार यसको जम्मा लगानी ९५ करोड १८ लाख रुपैयाँ छ ।
१ अर्ब ४ करोड खुद सम्पत्ति रहेको यस कोषको जम्मा आम्दानी ५ करोड २० लाख रुपैयाँ छ । वित्तीय विवरणअनुसार १ करोड २२ लाख रुपैयाँ जम्मा खर्च रहेको यसको कुल नाफा ३ करोड ९७ लाख ८९ हजार रुपैयाँ छ ।








प्रतिक्रिया