
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अनुसन्धानले सेयर कारोबारी दीपेन्द्र अग्रवालले गरेका सेयर बजारको ‘अपराध’ मा ब्रोकर कम्पनीहरूले मद्दत गरेको निष्कर्ष निकालेको छ । बोर्डको अध्ययनले ब्रोकरहरूले कतिपय अवस्थामा नीतिगत प्रावधानलाई समेत लत्याएको फेला पारेको हो ।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा शुक्रबार पक्राउ परेका थिए ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेका थिए । उनले उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको अनुसन्धानमा भेटिएको छ ।
अग्रवालले अन्य टीएमएएस युजर प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ ।
अग्रवाल काण्डमा मुख्य रूपमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेस पनि मुछिएका छन् ।
बोर्डको प्रतिवेदनअनुसार अग्रवालले चलाउने १५ वटा खाताको अखडा सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २०) हो । अग्रवालले सिप्ला सेक्युरिटिज मार्फत सबैभन्दा बढी चलखेल गरेका छन् । यस ब्रोकरमा अग्रवालले आफ्ना परिवार र नातागोताका १५ जनाको नाममा टीएमएस खाता खोलेर आफैंले अनधिकृत रूपमा चलाउने गरेका थिए ।
तिनै खाता प्रयोग गरेर अग्रवाल एउटा खाताबाट सेयर बेच्ने अर्डर राख्थे र अर्कोबाट किन्थे । यसरी उनले जोशी हाइड्रोको सेयर मूल्य बढाएको अनुसन्धानमा खुलेको छ । धितोपत्र बोर्डले एक अर्काबीच सेयर खरिद बिक्री भए तापनि वास्तविक स्वामित्व फरक नपरेको निष्कर्ष निकालेको छ । वास्तविक स्वामित्व परिवर्तन नुहेन गरी गरेको कारोबारलाई धितोपत्र सम्बन्धि ऐनले कृत्रिम वा झुटो कारोबार भनेको छ ।
अग्रवालको यो करतुतमा सिप्लाले सघाएको आरोप धितोपत्र बोर्डको छ । सिप्लाले वास्तविक धनीको पहिचान नगरी अग्रवाललाई अरूको टीएमएस खाता चलाउन दिएका हुन् ।
यसैगरी अग्रवाल र उनका आफन्तको नाममा रहेको लेजरमा करोडौँ रुपैयाँको ‘एडजस्टमेन्ट’ गरिएको भेटिएको छ । एउटाको खाताबाट सेयर किन्ने र अर्कोको खातामा पैसा ट्रान्सफर गर्ने गरी सिप्लाले अग्रवालको ‘निजी बैंक’ जस्तो काम गरेको प्रतिवेदनको निष्कर्ष छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम ग्राहकको सही पहिचान नगरेको र शंकास्पद कारोबारलाई बढावा दिएको कसुरमा सिप्लामाथि कारबाही हुनुपर्ने धितोपत्र बोर्ड प्रतिवेदनको निष्कर्ष छ ।
अनुसन्धान प्रतिवेदन अनुसार एकै हप्ताको अवधिमा सिप्ला, दीपेन्द्र अग्रवाल र उनकी दिदी ज्योति अग्रवालको बैंक खाता प्रयोग गरी करिब ३८ करोड रुपैयाँ ‘सर्कुलर’ (चक्रिय) ढंगले कारोबार गरिएको देखिएको छ।
सन् २०२४ जुन २७ देखि जुलाई ४ सम्मको छोटो अवधिमा सिप्ला सेक्युरिटिजले आफ्नो ग्लोबल आइएमई बैंकको खाताबाट दीपेन्द्र अग्रवालको खातामा ३८ पटक चेक मार्फत ३७ करोड ९५ लाख ६४ हजार ६० रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।
रोचक तथ्य के छ भने, सिप्लाबाट पैसा प्राप्त गरेकै अवधिमा दीपेन्द्र अग्रवालले आफ्नो खाताबाट ज्योति अग्रवालको खातामा २७ पटक चेक मार्फत ३६ करोड ९५ लाख ६४ हजार ६० रुपैयाँ पठाएको देखिन्छ । सोही रकम पुनः ज्योति अग्रवालको खाताबाट सिप्ला सेक्युरिटिजकै खातामा २७ वटा चेक मार्फत फिर्ता गएको प्रतिवेदनमा उल्लेख छ ।

यसरी ब्रोकरबाट व्यक्तिको खातामा र व्यक्तिको खाताबाट पुनः ब्रोकरकै खातामा ठूलो रकम घुमाइनुलाई बोर्डले शंकास्पद मानेको छ । ‘यसबाट एउटै रकम सिप्ला सेक्युरिटिजबाट दीपेन्द्र अग्रवाल र ज्योति अग्रवालले खरिद-बिक्री गरेको सेयरको रकम लेनदेन गर्न प्रयोग भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
अनुसन्धानले यो चक्रिय कारोबारको मुख्य उद्देश्य सेयर र रकमको वास्तविक धनी लुकाउनु रहेको र यी सबै कारोबारको पछाडि एउटै व्यक्ति (दीपेन्द्र अग्रवाल) को संलग्नता रहेको आधार फेला पारेको छ ।
यसैगरी हातेमालो फाइनान्सियल सर्भिसेस (ब्रोकर नं. ७२) कृत्रिम मूल्य वृद्धिको मतियार बनेको अनुसन्धानमा खुलेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा अन्तिम समयमा गरिएको चलखेलमा हातेमालो फाइनान्सियलको संलग्नता देखिएको छ । अग्रवालको मुख्य लगानी रहेको ‘स्मार्ट डोर्स लिमिटेड’ र अग्रवालकी दिदी ज्योती अग्रवालबीच यही ब्रोकरमार्फत कृत्रिम कारोबार भएको थियो ।
२०८२ बैशाख १६ गतेको कारोबारको अन्तिम १५ मिनेटमा ४ करोड ९० लाख ३४ हजार रूपैयाँ बराबरको कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर ज्योति अग्रवालले बेचेको र स्मार्ट डोर्सले किनेको पाइएको हो । जबकि स्मार्ट डोर्सको ९८ प्रतिशत स्वामित्व दीपेन्द्रले चलाउने १५ खातामध्ये ५ वटासँग छ । यस्तो कारोबारलाई धितोपत्र ऐनले झुटो कारोबार भनी पहिचान गरेको छ ।
यसरी कारोबार गरेर कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम सेयर मूल्य ११६ रूपैयाँ ८३ पैसाले बढाएको अनुसन्धानको निष्कर्ष छ ।


यता धितोपत्र नियमअनुसार सेयर खरिद आदेश दिँदा कम्तीमा २५ प्रतिशत रकम अग्रिम लिनुपर्नेमा हातेमालोले अग्रवालको समूहसँग मिति नभएको खाली चेक लिएर ३ अर्ब २० करोडसम्मको लिमिट दिएको भेटिएको छ ।
अग्रवालले सिप्लाबाट रकम प्राप्त नभएको अवस्थामा हातेमालोलाई कुल ३ करोड ५० लाख रुपैयाँ बराबरको मिति उल्लेख नभएका चेक दिएका थिए । ब्रोकरले तिनै चेकको आधारमा सेयर किन्न दिएर बजारमा कृत्रिम माग सिर्जना गर्न सघाएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी हातेमालोलले अन्तिम १५ मिनेटको खेलमा सघाएको र मिति नभएको चेकका आधारमा कोल्याटरल दिएको अनुसन्धानको निष्कर्ष छ ।
श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८)ले पनि अग्रवालले जोशी हाइड्रोपावर र कर्पोरेट बैंकको सेयरमा गरेको ‘पम्प एन्ड डम्प’ रणनीतिमा सघाएको अनुसन्धानको निष्कर्ष छ ।
श्रीकृष्णले दीपेन्द्र अग्रवाल, ज्योति अग्रवाल र सविना अग्रवाल लगायतका नामबाट भएका शंकास्पद कारोबारबारे नियमनकारी निकाय बोर्डलाई जानकारी नगराएको आरोप अनुसन्धान प्रतिवेदनको छ ।
बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले यी ३ ब्रोकर कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम कडा कारबाही गर्न सिफारिस गरेको छ । जसअनुसार सिप्लालाई ३० लाख तथा श्रीकृष्ण र हातेमालोलाई १०–१० लाख जरिवाना हुनेछ ।
यसैगरी सिप्लाले सेयर किनबेच गरेको रकम लिएदिए नगरेको र हातेमालोलाई मिति नभएको चेकका आधारमा कोल्याटरल दिएको कसुरमा हदैसम्मको कारबाही गर्न अध्ययन समितिले सिफारिस गरेको छ ।








प्रतिक्रिया