यस्तो छ दीपेन्द्रले झुटो कारोबार गरेको पाइएको धितोपत्र बोर्डको अध्ययन प्रतिवेदन (पूर्णपाठ)


काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अध्ययनपछि थप अध्ययनका लागि प्रहरीमा पठाएपछि सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परे । बोर्डको प्रारम्भिक अध्ययनमा अग्रवालमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि धितोपत्र बोर्डले फाइल प्रहरीमा पठाएको थियो ।

सोही प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । अग्रवालले सेयर लगानीकर्तालाई उक्साउने मात्रै नभई १५ जना लगानीकर्ताको नामबाट मूल्य बढाउने, आफैँ झुटो कारोबार गर्ने गरेको देखिएको धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

अग्रवालले झुक्याउने विवरण दिने, भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाएर सेयर बिक्री गरेर कानुन विपरीत नाफा आर्जन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार पक्राउ गरी अनुसन्धान सुरू गरेको जनाएको छ।

अग्रवालले अन्य व्यक्तिको टीएमएस खाता प्रयोग गरी आपसी खरिद-बिक्री तथा आफन्त/सम्बद्ध संस्थाबिच वास्तविक स्वामित्व नबदलिने गरी सेयर कारोबार गरेको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

जोशी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकमा झुक्याउने विवरण दिने, भ्रामक सूचना सार्वजनिक गर्ने र आपसी खरिद-बिक्रीमार्फत मूल्य बढाउने धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिमको कसुर गरेको आरोपमा सीआईबीले अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको हो ।

अग्रवालले धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिजविरुद्ध दिएको उजुरीमा पनि उनले मल्टिपल टीएमएस प्रयोग गरी आपसी कारोबार गर्ने गरेको देखाउँछ । अग्रवाललाई कृत्रिम कारोबार गर्न र कारोबार अग्रिम भुक्तानीबिना सीमा दिन सेयर ब्रोकर कम्पनीहरूले पनि सहयोग गरेको देखिन्छ । यति मात्रै नभएर फरक-फरक १५ जना व्यक्तिको टीएमएस युजर अग्रवालले कारोबार गर्न र सेयर ब्रोकर कम्पनीले त्यसको एकमुष्ट रूपमा सेटलमेन्ट गर्ने गरेको पाइएको धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अग्रवालले पहिले आफूले जोशी हाइड्रोपावरको सेयर खरिद गरेपछि कम्पनीको विषयमा भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाएर बिक्री गरेको धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अग्रवालले कम्पनीको सेयर औसत २७५ रुपैयाँ ७४ पैसामा खरिद गरेको देखिएको र भ्रामक सूचना सार्वजनिक गरेपछि मूल्य बढाएर औसतमा ३४२ रुपैयाँ ८५ पैसामा बिक्री गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

कुल ७३ हजार ३०७ कित्ता सेयर यसरी कारोबार हुँदा अग्रवालले प्रतिकित्ता ६७ रुपैयाँ ११ पैसाका दरले ४९ लाख १९ हजार ८६६ रुपैयाँ मुनाफा आर्जन गरेको बोर्डको प्रतिवेदनमा उल्लेख छ । अग्रवालले उक्त मुनाफा धितोपत्र सम्बन्धी ऐनको दफा ९७ (ग) अनुसार झुक्याउने विवरण दिने कसुर गरेको पुष्टि हुने बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै अग्रवालको नियन्त्रणमा रहेका १५ व्यक्तिको टीएमएस युजरमार्फत एक-आपसमा सेयर कारोबार गर्ने र वास्तविक स्वामित्व परिवर्तन नहुने गरी झुटा कारोबार गरेको धितोपत्र बोर्डको प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । बोर्डको प्रतिवेदनले अग्रवालका साथै सेयर ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेसमाथि पनि कारबाही सिफारिस गरेको छ ।