दीपेन्द्र अग्रवालले १५ व्यक्तिको टीएमएस प्रयोग गरी यसरी गर्थे झुटा र कृत्रिम कारोबार


काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले सेयर लगानीकर्तालाई उक्साउने मात्रै नभई १५ जना लगानीकर्ताको नामबाट मूल्य बढाउने, आफैँ झुटो कारोबार गर्ने गरेको देखिएको छ ।

अग्रवालले झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाएर सेयर बिक्री गरेर कानुन विपरीत नाफा आर्जन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

अग्रवालले अन्य व्यक्तिको टीएमएस खाता प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त/सम्बद्ध संस्थाबिच वास्तविक स्वामित्व नबदलिने गरी सेयर कारोबार गरेको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

जोशी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकमा झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गर्ने र आपसी खरिद बिक्रीमार्फत मूल्य बढाउने धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ (ग) बमोजिमको कसुर गरेको आरोपमा अग्रवाललाई सीआईबीले पक्राउ गरेको हो।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा पक्राउ परेका अग्रवालले झुटा कारोबार गर्न १५ वटा टीएमएस प्रयोग गर्ने गरेको देखिएको हो ।

अग्रवालले धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिजविरुद्ध दिएको उजुरीमा पनि उनले मल्टिपल टीएमएस प्रयोग गरी आपसी कारोबार गर्ने गरेको देखाउँछ ।

अग्रवालले २०८१ जेठ १ गते धितोपत्र बोर्डमा दिएको उजुरीमा सिप्ला सेक्युरिटिजबाट १० वटा टीएमएस युजरसँगको लेनादेना बाँकी रहेको उल्लेख छ । जसमा सविता अग्रवाल, दीपेन्द्र अग्रवाल, ज्योति अग्रवाल, जय प्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, एस मल्टिपर्पोज कम्पनी, नरेन्द्र कुमार अग्रवाल, आहान मुरारका अग्रवाल नामको टीएमएस युजरसँग सिप्ला सेक्युरिटिजको लेनादेना बाँकी रहेको भन्दै अग्रवालले धितोपत्र बोर्डमा उजुरी दिएका थिए ।

उक्त उजुरीमा अग्रवालले सिप्ला सेक्युरिटिजबाट ७ करोड ८८ लाख १९ हजार ६६७ रुपैयाँ भुक्तानी लिनुपर्ने र त्यसको ब्याज ३ करोड गरी १० करोड ८८ लाख १९ हजार ६६७ रुपैयाँ भुक्तानी लिनुपर्ने माग गरेको धितोपत्र बोर्डको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

सिप्ला सेक्युरिटिजले भने २०८१ जेठ २९ मा धितोपत्र बोर्डमा अग्रवालले १५ वटा टीएमएस युजरबाट कारोबार गर्ने गरेको र अग्रवालले ७४ लाख रुपैयाँ सिप्ला सेक्युरिटिजलाई भुक्तानी दिनुपर्ने दाबी गरेको धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सिप्लाले पेस गरेको विवरणमा अग्रवालले सविता अग्रवाल, दीपेन्द्र अग्रवाल, ज्योति अग्रवाल, जय प्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, एस मल्टिपर्पोज कम्पनी, नरेन्द्र कुमार अग्रवाल, आहान मुरारका अग्रवालका साथै राम सिंह साउद, मनकुमारी गुरुङ, वीरेन्द्र बहादुर साउद, गोल्डम्यान इन्भेष्टमेन्ट र सीमा कुमारी अग्रवालको नामको टीएमएस युजरमार्फत पनि आपसी कारोबार गर्ने गरेको देखाउँछ ।

दीपेन्द्र अग्रवालले १० वटा टीएमएस युजरको कारोबारको विवरण सेबोनको उजुरीमा उल्लेख गरेकोले पनि उनले एक भन्दा बढी व्यक्तिको टीएमएस प्रयोग गरी आपसी कारोबार गर्ने गरेको देखाउँछ । ‘दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिज दुवैले पेस गरेको विवरणबाट उनीहरूबीचमा एकमुष्ट रकम लिने दिने गरेको, कारोबारको हिसाब मिलान एकमुष्ट गर्ने गरेको देखिन्छ,’ धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘यसबाट सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम दीपेन्द्र अग्रवालले अन्य व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना गरेको पाइयो।’

यसको जानकारी सिप्ला सेक्युरिटिजलाई समेत भएको तर ग्राहकको पहिचान तथा सम्पुष्टि गरेको नदेखिएकोले कम्पनीले समेत धितोपत्र सम्बन्धी कसुर गरेको देखिने प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

यति मात्रै नभएर अग्रवालले चलाउने गरेको १५ वटा टीएमएस युजरको बैंक खातामा समेत आपसी कारोबार हुने गरेको देखिएको छ । अग्रवालले सञ्चालन गर्ने व्यक्तिहरूको खाता विश्लेषण गर्दा विभिन्न व्यक्तिहरूबीचको रकम उक्त खाताबाट समायोजन गर्दा विभिन्न खातामा रकमान्तर गर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । ‘सिप्ला सेक्युरिटिजले दिएको विवरणमा पनि गरिएको पत्रमा दीपेन्द्र अग्रवालले अन्य विभिन्न व्यक्ति (१५ जना) को नामबाट कारोबार गरी आएको र ती व्यक्तिहरूको बीचमा विभिन्न रकमहरू रकमान्तर भएको तथा कारोबार समायोजन भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यसरी विभिन्न व्यक्तिहरूबीच भएको कारोबारमा एक अर्काबीच सेयर खरिद बिक्री भए पनि वास्तविक स्वामित्व भने परिवर्तन नभएको धितोपत्र बोर्डकै प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सिप्ला सेक्युरिटिजले पनि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था विपरीत एक ग्राहकको रकम अन्य ग्राहकको लागि प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेको सर्भलेन्स म्यानेजमेन्ट सिस्टममा समेत अग्रवालले प्रयोग गर्ने १५ व्यक्तिको टीएमएस युजरबीच नै एउटै कम्पनीको सेयर पटक पटक खरिदबिक्री भएको देखिएको सेबोनको प्रतिवेदनमा उल्लेख छ ।

रेशु अग्रवालले बिक्री गरेको सेयर दीपेन्द्र अग्रवालले खरिद गर्ने, दीपेन्द्र अग्रवालले बिक्री गरी ज्योति अग्रवालले खरिद गर्ने, ज्योति अग्रवालले बिक्री गरी राम सिंह साउदले खरिद गर्ने गरेको देखिएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, रिभर फल्स पावर लिमिटेड, हिमालयन एभरेष्ट इन्स्योरेन्स प्रमोटर सेयर, पिपुल्स पावर, सानिमा जिआईसी इन्स्योरेन्स, गोर्खाज फाइनान्स, नेपाल बैंक, पोखरा फाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको सेयर अग्रवालको नियन्त्रणमा रहेका १५ व्यक्तिको टीएमएसबाट एक आपसमा पटक–पटक खरिद भएको देखिएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘दीपेन्द्र अग्रवाल र उनले विभिन्न व्यक्तिको नामबाट कारोबार गरेका रेशु अग्रवाल, ज्योति अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, सविता अग्रवाल, मिता मुरारका अग्रवाल, जय प्रकाश अग्रवाल, राम सिंह साउद बीच नै विभिन्न सूचीकृत संस्थाको सेयर खरिद बिक्री भएको देखिन्छ,’ क्लिकमान्डुलाई प्राप्त धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘यसरी उक्त व्यक्तिहरू बीच सेयर खरिद बिक्री हुँदा स्वामित्वमा परिवर्तन भएको नदेखिएकोले यस कार्यबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क) को व्यवस्था विपरीत कारोबार भएको देखिन्छ ।’

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र खरिद वा बिक्री भएको भए पनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झुटो कारोबार गरेको मानिने बोर्डको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, धितोपत्र दलाल व्यवसायीहरू सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेसले दीपेन्द्र अग्रवाल र उनीसँग सम्बन्धित तथा अग्रवाल नै अन्तिम हिताधिकारी रहने गरी कारोबार गर्ने व्यक्तिहरूको ग्राहक पहिचान तथा सम्पुष्टि गर्दा अन्तिम हिताधिकारीको पहिचान नगरेको, विवरण नराखेको पाइएको छ । यसले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्था बमोजिम गर्नुपर्ने कार्य नगरेको देखिएको तथा यसबाट धितोपत्र सम्बन्धी कसुर हुन गएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सिप्ला सेक्युरिटिजले २०८१ असार १३ गते १ करोडका दरले चेकमार्फत ६ पटकमा ६ करोड रुपैयाँ दीपेन्द्र अग्रवालको खातामा भुक्तानी दिएको र सोही मितिमा ५ करोड ज्योति अग्रवालको खातामा भुक्तानी भई सोही मितिमा ज्योति अग्रवालबाट पुनः ५ करोड सिप्ला सेक्युरिटिजलाई भुक्तानी भएको देखिएको छ ।

दीपेन्द्रको खाताबाट ज्योतिको खातामा पनि १ करोडका दरले ५ पटकमा ५ करोड रुपैयाँ र ज्योतिको खाताबाट सिप्ला सेक्युरिटिजमा पनि १ करोडका दरले ५ पटकमा ५ करोड रुपैयाँ भुक्तानी भएको हो ।

२०८१ असार १४ गते पुनः सिप्ला सेक्युरिटिजको खाताबाट दीपेन्द्र अग्रवालको खातामा ९ करोड रुपैयाँ भुक्तानी भएको छ । चेकमार्फत नै भएको उक्त भुक्तानी १ करोडका दरले ९ पटकमा भएको हो । सोही मितिमा चेकमार्फत नै १ करोडका दरले ९ पटकमा ९ करोड रुपैयाँ ज्योति अग्रवालको खातामा भुक्तानी दिएको र ज्योति अग्रवालको खाताबाट त्यसरी नै ९ करोड रुपैयाँ सिप्ला सेक्युरिटिजको खातामा भुक्तानी भएको छ ।

यसरी ४ वटा फरक फरक मितिमा सिप्ला सेक्युरिटिजको ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट ३८ वटा चेकमार्फत दीपेन्द्र अग्रवाललाई ३७ करोड ९५ लाख ६४ हजार भुक्तानी भएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा दीपेन्द्र अग्रवालको ग्लोबल आईएमई बैंककै खाताबाट ज्योति अग्रवालको सोही बैंकमा रहेको खातामा २७ पटक चेकमार्फत ३६ करोड ९५ लाख ६४ हजार रुपैयाँ भुक्तानी भएको छ । सोही अवधिमा ज्योति अग्रवालको ग्लोबल आईएमई बैंकको खाताबाट सिप्ला सेक्युरिटिजको खातामा २७ पटकमा चेकमार्फत ३६ करोड ९५ लाख ६४ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ ।

यसरी एउटै रकम सिप्ला सेक्युरिटिजबाट दीपेन्द्र अग्रवाल र ज्योति अग्रवालले खरिद बिक्री गरेको सेयरको रकम प्रयोग भएकोले उक्त सेयर र भुक्तानी भएको रकमको वास्तविक धनी एकै जना हो भनी पुष्टि गर्ने आधार रहेको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

२०८२ वैशाख १६ मा नेप्सेमा कारोबार हुने अन्तिम १५ मिनेटको समयमा ज्योति अग्रवालको नामबाट २० हजार कित्ता सेयर बिक्री भएको र उक्त सेयर स्मार्ट डोर्स लिमिटेडले खरिद गरेको देखिन्छ । उक्त कम्पनीमा मिता मुरारका अग्रवाल अध्यक्ष र दीपेन्द्र अग्रवाल सञ्चालक छन् । अन्य सेयरधनीमा कुसुम देवी अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र जय प्रकाश अग्रवाल छन् । उनीहरू सबैको टीएमएस युजर दीपेन्द्रले नै चलाउँदै आएको देखिन्छ । ज्योति अग्रवालको कारोबार समेत दीपेन्द्र अग्रवालले नै गर्ने तथ्यले पुष्टि भएकोले कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर ज्योति अग्रवालले बिक्री र स्मार्ट डोर्स लिमिटेडले खरिद गर्दा वास्तविक स्वामित्वमा फरक नपर्ने बोर्डको अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

उक्त कारोबार धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४ खण्ड (क) र (ख) अनुसार झुटो कारोबार देखिने धितोपत्र बोर्डको दाबी छ । सोही २० हजार कित्ताको कारोबारले कर्पोरेट डेभलपमेन्टको अन्तिम कारोबार मूल्य २३७६.६३ कायम भएको थियो । उक्त कारोबार झुटो कारोबार नभएको भए कम्पनी मूल्य २२५९.८० कायम हुने देखिन्छ । यस झुटो कारोबारबाट कम्पनीको अन्तिम मूल्य ११६.८३ ले वृद्धि भएको देखिएको छ । उक्त कार्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९५ बमोजिमको कसुर गरेको बोर्डको दाबी छ ।

यसरी दीपेन्द्र अग्रवालले आफैँले नियन्त्रण गर्ने १५ वटा टीएमएस प्रयोग गरी अन्तिम समयमा मूल्य बढाउने, सेयर स्वामित्वमा फरक नपर्ने गरी झुटा कारोबार गर्ने, आफ्नै नियन्त्रणमा रहेको टीएमएस युजरबाट एक आपसमा सेयर खरिदबिक्री गरी कृत्रिम कारोबार गर्ने र त्यति मात्रै नभएर उनले मूल्य बढाउन विभिन्न कम्पनीको विषयमा झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाउने गरेको पाइएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

उनले आफूले सेयर खरिद गरिसकेपछि विभिन्न कम्पनीको नाममा सर्किट लाग्ने, हकप्रद आउने, ‘यो सेयर बिक्री गरेर यो कम्पनीको सेयर खरिद गर्दैछु’ भनी सामाजिक सञ्जालमा पोस्ट राख्ने तथा भिडियो सेयर गर्ने गरेको पाइएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

विशेष गरी धितोपत्र सम्बन्धी ऐनको दफा ९७(ग) बमोजिमको कार्य अग्रवालले गरेको सीआईबीले उल्लेख गरेको छ । ऐनको दफा ९७ (ग) मा बदनियत साथ झुटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्ने कार्यलाई झुक्याउने विवरण दिने कार्य गरेको मानिने उल्लेख छ ।

दफा ९७ अनुसारको कसुर गर्नेलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराइदिनु पर्नेछ ।