इरानसँगको वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति भ्यान्स पाकिस्तान जान सक्ने

126
Shares

एजेन्सी । पश्चिम एसियाको द्वन्द्व कम गर्ने जारी प्रयासहरूका बीच प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले गरेको रिपोर्ट अनुसार, अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्स इरानसँगको युद्ध अन्त्य गर्ने बाटो खोज्ने उद्देश्यले वार्ताका लागि यसै हप्ताको अन्त्यतिर पाकिस्तान जान सक्नेछन् ।

प्रस्तावित भ्रमण यस्तो समयमा हुन लागेको हो ट्रम्प प्रशासनले तेहरानसँग ब्याकच्यानल कूटनीति खोजिरहेको छ जसमा पाकिस्तान र टर्की छलफलका लागि सम्भावित स्थलहरूको रूपमा अगाडि आएका छन् ।

अधिकारीहरूले सीएनएनलाई बताएअनुसार, भ्यान्स र अन्य वरिष्ठ अमेरिकी प्रतिनिधिहरू सम्मिलित सम्भावित बैठकको तयारी भइरहेको छ यद्यपि समय, स्थान र सहभागीहरूको बारेमा अझै निश्चित भइसकेको छैन ।

यो घटनाक्रम इरानी प्रतिनिधिहरू अमेरिकी दूत स्टिभ विट्कोफ र जेरेड कुश्नरसँग वार्ता गर्न अनिच्छुक रहेको र भ्यान्समार्फत वार्ता गर्न रुचाउन सक्ने संकेतहरूका बीच आएको हो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, कुश्नर र विट्कोफ सबै जारी कूटनीतिक प्रयासहरूमा संलग्न रहेको बताएका थिए ।

यद्यपि, ह्वाइट हाउसले भ्यान्सको भूमिकाले रणनीतिमा कुनै परिवर्तन भएको भन्ने सुझावलाई कम महत्त्व दिएको छ । प्रेस सचिव क्यारोलिन लेभिटले भनिन्, ‘मलाई लाग्दैन, केही परिवर्तन भएको छ । उपराष्ट्रपति सधैं एक प्रमुख सदस्य, राष्ट्रपतिका दाहिने हात र राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीका महत्त्वपूर्ण सदस्य रहँदै आउनुभएको छ ।’

उनले थपिन्, ‘उहाँ यस प्रशासनको सम्पूर्ण कार्यकालभरि यी छलफलहरूको हिस्सा रहनुभएको छ ।’

राष्ट्रपति ट्रम्पले विदेशी र आन्तरिक दुवै मामिलामा भ्यान्सको सल्लाह लिने गरेको कुरा पनि लेभिटले बताइन् ।

लेभिटले वार्तामा संलग्न इरानी समकक्षहरूको बारेमा विवरण खुलाउन अस्वीकार गर्दै भनिन्, ‘हामी यी वार्ता र निरन्तर भइरहेका कुराकानीहरूको विवरणमा जाँदैनौं । तपाईं कल्पना गर्न सक्नुहुन्छ, यी धेरै संवेदनशील कूटनीतिक छलफलहरू हुन् ।’

अमेरिकाले सैन्य दबाब कायमै राखेको अवस्थामा पनि छलफल जारी रहेको कुरा दोहोर्याउँदै उनले इरानले वर्तमान समयको यथार्थलाई स्वीकार गर्न असफल भयो भने ट्रम्प नर्क निम्त्याउन (कडा आक्रमण गर्न) तयार रहेको उनले चेतावनी दिइन् ।

पाकिस्तानले वार्ताको वातावरण मिलाउन आफू इच्छुक रहेको संकेत दिएको छ । प्रधानमन्त्री शहबाज सरिफले इस्लामाबाद अर्थपूर्ण र निर्णायक वार्तालाई समर्थन गर्न तयार रहेको बताएका छन् र रिपोर्टहरूले पाकिस्तानले आफूलाई वार्ताको स्थलको रूपमा प्रस्तुत गरिरहेको संकेत गरेका छन् । द गार्डियनको रिपोर्टले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै यो हप्ता नै बैठक हुन सक्ने उल्लेख गरेको छ ।

यसैबीच, क्षेत्रीय पक्षहरूले सावधानी अपनाउन आग्रह गरेका छन् । सीएनएनका अनुसार, खाडीका सहयोगी राष्ट्रहरूले अमेरिकालाई द्वन्द्व थप नबढाउन निजी रूपमा चेतावनी दिएका छन् । उनीहरूले विशेषगरी स्थल सेना परिचालन गर्ने वा खार्ग टापु जस्ता रणनीतिक स्थानहरू कब्जा गर्ने कुनै पनि कदम विरुद्ध व्यापक प्रतिशोध र दीर्घकालीन अस्थिरताको जोखिमलाई औंल्याएका छन् ।

यो कूटनीतिक प्रयास निरन्तर सैन्य तैनाथीको साथमा आएको छ जसमा ८२औं एयरबोर्न डिभिजनका करिब १ हजार अमेरिकी सैनिकहरू क्षेत्रमा परिचालन हुन सक्ने रिपोर्टहरू छन् । कूटनीतिक र सैन्य दुवै मार्गहरू एकैसाथ अगाडि बढिरहेका बेला चौथो हप्तामा प्रवेश गरेको द्वन्द्व रोकिएको छैन र वार्ताको सम्भावना अझै अनिश्चित छ ।