फेवातालमा हावाहुरी, ११ जनाको उद्धार

0
Shares

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनालाई सशस्त्र प्रहरीले चैत २२ गते दिउँसो करिब सवा ४ बजे सकुशल उद्धार गरेको छ।

उक्त समूह अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा फसेका थिए। जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको सहायक निरीक्षक विशाल घर्ती मगरको कमान्डको टोली उद्धारका लागि पुगेको थियो।

उद्धार गरिएका व्यक्तिहरूमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमाराकी २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्ला अन्नपूर्ण–३ की २१ वर्षीया सञ्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया सञ्जिता मगर र १९ वर्षीया रिया मगर रहेका छन्।

यसैगरी, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय असलाम र २६ वर्षीय शादबको पनि उद्धार गरिएको छ। सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Skip This