महासंघ कोशी अध्यक्षमा राउत र रिजाल भिड्दै, आज चुनाव

ढकाल समूहका तीन उपाध्यक्ष, कोषाध्यक्ष र दुई एशोसिएट सदस्य निर्विरोध


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीको नयाँ कार्यसमितिको अध्यक्षका लागि आइतबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृत अधिवक्ता विकास थापाका अनुसार अध्यक्षका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नवीन रिजालको उम्मेदवारी परेको छ ।

राउत केन्द्रीय अध्यक्ष चन्द्र ढकाल पक्ष र रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहका हुन् ।

संघको जिल्ला नगर, वस्तुगत, एशोसिएट उपाध्यक्ष, कोषाध्यक्ष र एशोसिएट दुई सदस्य निर्विरोध चुनिएका छन् । निर्विरोध निर्वाचित सबै राउत समूहका हुन् ।

जिल्ला नगर उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध चुनिएको निर्वाचन अधिकृत थापाले बताए ।

वस्तुगत उपाध्यक्षमा जिल्ला नगर र एशोसिएट उपाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी परेको थियो । थापाका अनुसार वस्तुगत उपाध्यक्षमा राजन श्रेष्ठ र आदित्य पराजुलीको उम्मेदवारी परेर पराजुलीले फिर्ता लिएपछि श्रेष्ठ पनि निर्विरोध भएका हुन्।

त्यसैगरी एशोसिएट सदस्यमा पनि देवकीनन्दन अग्रवाल र भविश श्रेष्ठ निर्विरोध चुनिएको थापाले बताए । निर्वाचित तीन उपाध्यक्ष, कोषाध्यक्ष र एशोसिएट दुई सदस्य राउत समूहका हुन् ।

उनका अनुसार अध्यक्ष र जिल्ला नगर पाँच सदस्यका लागि आइतबार ७ बजे मतदान हुने कार्यतालिका छ । जिल्ला नगर ५ सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । तीमध्ये चार जना राउत र तीन जना रिजाल समूहका छन् ।

कोशी प्रदेशका १४ जिल्लामा ३८ जिल्ला र नगर, १९ वटा वस्तुगत र १४८ वटा एशोसिएट गरी २०५ मतदाताले मतदान गर्नेछन् । यसअघि संघका अध्यक्ष चन्द्र ढकालले संघको ८ औँ प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको उद्घाटन गरेका थिए ।

को हुन् राउत र रिजाल?

आइतबार साँझ हुने निर्वाचनमा महासंघको कोशी अध्यक्षका लागि विराटनगरका उद्योगी राउत र रिजाल आमनेसामने हुँदैछन् । राउत संघका हालका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य अनि उद्योगी व्यवसायीको पुरानो संस्था मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष हुन् ।

राउत र रिजाल एक–अर्काका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । उनीहरूबीच ८ वर्षपछि व्यावसायिक चुनावी मैदानमा भेट हुँदैछ । २०७४ सालमा मोरङ व्यापार संघको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुवै आ–आफ्नो प्यानलबाट प्रतिस्पर्धा गर्दा राउतको प्यानल पराजित भएको थियो ।

यसपालि राउतको दाउ मोरङ व्यापार संघमा आफूले भोगेको पराजयको बदला लिने र रिजाल चाहिँ राउत विरुद्धको आफ्नो विजयी यात्रा कायम राख्दै नेतृत्व हत्याउने रणनीतिमा रहेका छन् । राउत महासंघका हालका अध्यक्ष चन्द्र ढकाल र रिजाल वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट चुनावी मैदानमा खुलेका छन् ।

दुवै जनाले ८ वर्षपछि पुनः नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्ष दाबी गर्दै उनीहरू प्यानलसहित चुनावी मैदानमा छन् । त्यसैले यो पटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा रोचक बनेको छ ।

मोरङ व्यापार संघको कार्यकारिणी समितिको निर्वाचनमा राउतको प्यानल पराजित भए पनि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्ष बन्दै अध्यक्षसम्मको यात्रा तय गर्दा उनले जिल्लाका उद्योग वाणिज्य संघहरूलाई जोड्ने काम गरे भने जिल्लाका संघहरूलाई चलायमान बनाउने काम गरे । कोरोना कहरको बेला राउतले ग्रामीण क्षेत्रमा अक्सिजन र औषधि पठाउने काममा तल्लीन भए । अहिले बुढीगंगा गाउँपालिकामा नेवाउसंघ कोशीको भवन निर्माणाधीन छ । राउत निर्माण समितिका संयोजक हुन् ।

रिजाल मोरङ व्यापार संघको अध्यक्ष हुँदा बढ्दो बैंक ब्याज विरुद्धदेखि तत्कालीन सरकारले फलाम उद्योगहरूलाई लगाएको अतिरिक्त भन्सार महसुल र अन्तःशुल्क खारेजीको माग गर्दै सडक आन्दोलन गरेर ब्याजदर घटाउने र अन्तःशुल्क फिर्ता हुने गरी नियम संशोधन गर्न सरकारलाई बाध्य बनाए । रिजालकै नेतृत्वमा जोगवनी नजिकको मीरगन्जको पुल भासिएपछि बन्द भएको आयात–निर्यातलाई नयाँ पुल निर्माण गरी तत्काल सञ्चालन गर्न पहल गरेर जोगवनी र विराटनगर नाकाबाट आयात–निर्यात खुलाउन सफल भए ।

राउत शिवम अर्गनाइजेशनका अध्यक्ष तथा रिजाल रिजाल समूहका अध्यक्ष हुन् । दुवै उम्मेदवार कोशी प्रदेशको औद्योगिक र व्यापारिक क्षेत्रमा संघर्ष गरेर स्थापित भएका हुन् । समाजसेवामा दुवै सक्रिय छन् । आफूले नेतृत्व गरेको संघमार्फत दुवैले उद्योगी र व्यवसायीका हितमा काम गरेको दुवैको विगत छ ।

सिमेन्ट, फुटवेयर, अस्पताल, होटल, पर्यटन र निर्माणको क्षेत्रमा अग्रणी रहेको शिवम अर्गनाइजेशनका अध्यक्ष समेत रहेका राउत राजेन्द्र राई मुख्यमन्त्री हुँदा प्रदेश सरकारको आर्थिक सल्लाहकार समेत रहिसकेका छन् । उनकै नेतृत्वमा उद्योग वाणिज्य महासंघ कोशीको विराटनगरमा भवन निर्माण हुँदैछ ।

भाडाको घरबाट महासंघलाई आफ्नै भवनमा सारेर मात्र नेतृत्व छाड्ने मनस्थितिमा रहेको राउतको प्रतिक्रिया छ । उनी नेपाल उद्योग वाणिज्य महासंघ कोशीका सफल अध्यक्षमा गनिन्छन् ।

राउत र रिजालले कोरोनाको महामारीको बेला कोभिड अस्पताल स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । जीआई वायरमा सरकारले गरेको विभेदपूर्ण कर नीति र बैंकहरूको चर्को ब्याजदरको विरुद्धमा गरिएको सडक आन्दोलनको अगुवाइ गरेर रिजालले चर्चा बटुलेका थिए ।

Skip This