‘आफ्टर मार्केट अर्डर’मा पछिल्लो कारोबार मूल्यको १५ प्रतिशतसम्म घटबढ गरी अर्डर राख्न मिल्ने

यी हुन् संशोधन भएका प्रावधान

483
Shares

काठमाडौं । नेपाली पुँजी बजारमा सुरु हुन लागेको ‘आफ्टर मार्केट अर्डर’ अर्थात् (एएमओ)मा कम्पनीको मूल्यको १५ प्रतिशतसम्म घटबढ हुनेगरी अर्डर राख्न मिल्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पठाएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनको प्रस्तावलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृत गरी नेप्सेमै पठाइसकेको छ ।

अब नेप्सेको सञ्चालक समिति बैठकले कार्यान्वयनको मिति तोकेसँगै यो विनियमावली कार्यान्वयनमा जानेछ।

धितोपत्र बोर्डले स्वीकृत गरेर नेप्सेमा पठाएको संशोधित प्रस्तावमा ‘नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिएमा त्यस्तो आदेशलाइ सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गरी कारोबार समय सुरु हुनासाथ नियमअनुसार सीमाभित्र भएका आदेश नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ,’ भनिएको छ ।

यसमै ‘कारोबार समय अघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा आदेश प्रविष्टि गर्दा पछिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्नेछ’ भनिएको छ ।

अहिले सामान्यता, साढे १० देखि ३ बजेसम्म मात्र अर्डर हाल्ने समय छ । तर, यो समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा नेपालमा दिन हुँदा रात हुने अन्य देशमा रहेका नेपालीका लागि असहज भएपछि नेप्सेले एएमओ सुरु गर्न लागेको हो ।

यसअनुसार अब खरिद वा बिक्री गर्न चाहेको कम्पनीको पछिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी नहुनेगरी मार्केट बन्द भएको समयमा पनि अर्डर राख्ने मिल्नेछ ।

संशोधित विनियमावलीले प्रिओपन सेसनमा सूचीकृत कम्पनीको मूल्य दुई प्रतिशतले घटबढ गर्न पाउने व्यवस्थालाई पनि परिवर्तन गरेको छ । संशोधित विनियमावलीले मूल विनियमावलीको विनियम १२ मा रहेको मूल्य परिवर्तन सीमालाई संशोधन गर्दै यस्तो परिवर्तन गरेको हो ।

‘प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ । यस सत्रमा कारोबार नभएका आदेशहरुलाई नियमित सत्रमा प्रविष्टी गरी कारोबार हुने व्यवस्था गर्नुपर्नेछ,’ संशोधित विनियमावलीमा भनिएको छ, ‘निरन्तर कारोबार सत्रमा कायम भएको मूल्यको तीन प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्नेछ ।’

हालसम्म भने प्रारम्भिक कारोबार सत्रमा प्रविष्ट गर्दा अघिल्लो दिनको मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने व्यवस्था छ । यस्तै, निरन्तर कारोबार सत्रमा भने मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही प्रविष्ट गर्नुपर्ने प्रावधान छ ।

संशोधित विनियमावलीले मूल विनियमावलीको विनियम १७ मा रहेको सर्किट ब्रेकरको प्रावधानलाई पनि परिवर्तन गरेको छ । जसअनुसार अब निरन्तर कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक पाँच प्रतिशतले घटी वा बढी भएमा पन्ध्र मिनेटका लागि र निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक आठ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुने व्यवस्था गरिएको छ ।

हाल भने कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरीका लागि कारोबार बन्द हुने गर्दछ ।

संशोधित विनियमावलीमा ‘कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा पन्ध्र प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुने छैन,’ पनि भनिएको छ ।

जसअनुसार अब सूचीकृत कम्पनीको मूल्य १५ प्रतिशतले घटबढ भएर कारोबार गर्न मिल्नेछ । हाल भने सूचीकृत कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएर कारोबार हुन पाउने व्यवस्था छ ।

यी हुन् विनियमावलीमा संशोधन भएका प्रावधानः

धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्न वाञ्छनिय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नेपाल स्टक एक्सचेन्ज लिमिटेडले देहायका विनियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी विनियमहरूको नाम ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ रहेको छ ।
(२) यो विनियमावली नेपाल स्टक एक्सचेन्जले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ७ मा संशोधनः धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ (यसपछि ‘मूल विनियमावली भनिएको’) को विनियम ७ को उपविनियम (४) पछि देहायका उपविनियम (५) र उपविनियम (६) थप गरिएको छः
(५) नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिएमा त्यस्तो आदेशलाइ सम्बन्धित कारोवार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गरी कारोवार समय शुरु हुनासाथ विनियम १२ को उपविनियम (२) अनुसारको सीमाभित्र भएका आदेश क्रमशः नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ ।
(६) उपविनियम (५) बमोजम आदेश प्रविष्टि गर्दा पछिल्लो कारोवार दिनको अन्तिम कारोवार मुल्यको प्रन्ध प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्नेछ ।
३. मूल विनियमावलीको विनियम १२ मा संसोधनः मूल विनियमावलीको विनियम १२ को उपविनियम (१) र उपविनियम (२) को सट्टा देहायका उपविनियम (१) र उपविनियम (२) राखिएका छनः
(१) प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ । यस सत्रमा कारोवार नभएका आदेशहरुलाई नियमित सत्रमा प्रविष्टी गरी कारोवार हुने व्यवस्था गर्नुपर्नेछ ।
(२) निरन्तर कारोवार सत्रमा उपविनियम (१) बमोजिम कायम भएको मूल्यको तीन प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्नेछ ।
४. मूल विनियमावलीको विनियम १७ मा संशोधनः मुल विनियमावलीको विनियम १७ को उपविनियम (१) र उपविनियम (२) को सट्टा देहायका उपविनियम (१) र उपविनियम (२) राखिएका छनः –(१) निरन्तर कारोबार शुरु हुँदा कायम रहेको नेप्से परिसुचक देहाय बमोजिम घटबढ भएमा देहाय बमोजिम कारोवारमा सर्किट ब्रेकर लगाइनेछः
(क) निरन्तर कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक पाँच प्रतिशतले घटी वा बढी भएमा पन्ध्र मिनेटका लागि,
(ख) निरन्तर कारोवार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक आठ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द गर्ने ।
(२) कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा पन्ध्र प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोवार हुने छैन ।