दोहोरो आईजिन विवाद

विगतमा दोहोरो आईजिन लिएका माथि नै पन्दाकले बखेडा झिक्दा झनै तर्सियो निजी क्षेत्र

मर्जरको प्रावधानमा किन आशंका ?

322
Shares

काठमाडौं । दोहोरो आईजिनको विवादका विषयमा कुरा उठ्दा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड कम्पनीको नाम आउने गर्दछ । यस कम्पनीको पनि सुरुमा संस्थापक र सर्वसाधारण सेयरका लागि दुईवटा छुट्टाछुट्टै आईजिन नम्बर दिइएको थियो । पछि, कम्पनीले नियामक निकायहरूको स्वीकृतिपश्चात् दोहोरो आईजिनलाई एकल आईजिनमा रुपान्तरण गर्ने प्रक्रिया पूरा गर्दै एकल आईजिन कायम गर्यो ।

अर्थात्, पहिला कम्पनीको प्रबन्धपत्रमा साधारण र संस्थापक सेयर लेखिएको थियो । जसलाई कम्पनीको ११ औं वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण समूहको सेयरलाई एउटै समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्यो ।

सोही बमोजिम ३ वर्षे ‘लक–इन’ अवधि समाप्त भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीले कम्पनीलाई एकल आईजिन कायम गर्न अनुमति दिए ।

योसँगै कम्पनीको दुईवटा आईजिन एउटैमा रुपान्तरण भयो र संस्थापक सेयरधनीले पनि सर्वसाधारण सरह ‘एनआरएन’ सिम्बोलबाटै दोस्रो बजारमा आफ्नो सेयर कारोबार गर्न सक्ने अवस्था बन्यो । हाल पनि निजी क्षेत्रका कम्पनीहरुलाई दोहोरो आईजिन दिँदा पनि एनआरएनले पूरा गरेको प्रक्रिया नै गरेर जान सक्ने विषय उठिरहेको छ ।

अर्थात्, लकइन अवधि पुरा हुने बेलामा वार्षिक साधारणसभाबाट प्रबन्धपत्रमा रहेको संस्थापक र साधारण सेयरलाई परिवर्तन गर्दै सेयर मात्रै उल्लेख गरेर एकल आईजिनमा परिवर्तन गर्ने बाटो खुला छ ।

त्यसैले दोहोरो आईजिन हुँदा पनि निजी क्षेत्र आत्तिन नपर्ने भन्दै एउटा वार्षिक साधारणसभा पारित गरे मात्रै समस्या समाधान हुने विषय सीडीएससीले पनि राख्दै आएको छ ।

तर, दोहोरो आईजिनलाई एउटा वार्षिक साधारणसभा गरेर उल्लेखित प्रक्रिया पुरा गर्दै एकल आईजिनमा रुपान्तरण गर्ने व्यवस्था हुँदाहुँदै पनि निजी क्षेत्र बढी त्रसित हुनुपर्ने अवस्था बन्नुको प्रमुख कारण भने सीडीएससी कार्यकारी सञ्चालक प्रविन पन्दाकले झिकेको बखेडा नै हो । पन्दाकले यसअघि दोहोरो आईजिन लिएका कम्पनीलाई एक आईजिन प्रदान गर्न अनेकन बखेडा झिकेको निजी क्षेत्र थप बढी असन्तुष्ट बनेको हो ।

‘संस्थापक सेयरलाई तीन वर्ष लक–इनमा राख्न छुट्टै नम्बर चाहिँदैन । जस्तै, मैले बैंकमा सेयर धितो राखेर ऋण लिएँ भने मेरो सेयर रोक्का हुन्छ । यसका लागि आईजिन नम्बर बेग्लै चाहिँदेन,’ वित्तीय क्षेत्रका एक जानकारले भने, ‘लक–इनको लागि पनि त्यही प्रक्रिया अपनाउन सकिन्छ । त्यसैले एउटै सेयरका लागि दुईवटा आईजिन नम्बर बनाउन आवश्यक छैन ।’ उनले यो व्यावहारिक हिसाबमा पनि उचित नभएको बताए ।

के हो पन्दाकले झिकेको बखेडा?
विगतमा दुई आइजिन लिएका कुनै कम्पनीको संस्थापक सेयरको लकइन खुलेपछि त्यसलाई एउटै बनाउने प्रक्रियामा पन्दाक आफैंले रोक्ने काम गर्दै आएकी छिन् । संस्थापकको सेयरमा लकइन खुलिसकेपछि नेप्सेले एउटै सिम्बोल दिए पनि सीडीएससीले एउटै आइजिन बनाउन बखेडा झिकेसँगै निजी क्षेत्र दोहोरो आईजिन आउन नहुने विषयमा थप आक्रोसित बनेका हुन् ।

पन्दाकले यअसघिनै दोहोरो आईजिन लिएकालाई एकल बनाउन बखेडा झिकेर दुःख दिने बाटो समायपछि र उनकाो मानसिकता निजी क्षेत्रलाई बढी सताउने किसिमको भएपछि दोहोरो आईजिनको ठूलो विरोध भएको हो । जसअनुसार दोहोरो आईजिनलाई एक आईजिनमा रुपान्तरण गर्ने प्रावधान हुँदाहुँदै पनि निजी क्षेत्र असन्तुष्ट बनेको हो ।

गत फागुनमा संस्थापक सेयरधनीको लकइन अवधि सकिएको कम्पनी इमर्जिङ नेपाल सीडीएससीको बखेडाका कारण समस्यामा छ। संस्थापक सेयरमा लकइन खुलिसकेकाले एउटै आइजिनका लागि सीडीएससीलाई आग्रह गर्दा पनि सो काम गरेको छैन । नेप्सेले एउटै सिम्बोल दिँदा पनि सीडीएससीले अटेर गरेर बढी झुलाउने काम गरिरहेको छ ।

२०७८ मा आईपीओ गइसकेपछि कम्पनीलाई दुईवटा आइजिन दिइएको थियो । लगानी समूहको यस कम्पनीलाई दुई वटा आईजिन दिनु नै गलत थियो । अहिले फेरि एउटै आईजिन बनाउका लागि कम्पनीले हरसम्भव प्रयास गर्दा पनि सकेका छैनन् । हाल दुई आईजिनलाई मर्ज गर्ने सम्बन्धमा नीतिगत व्यवस्था नभएको भन्दै सिडिएससीले टार्दै आएको छ ।

एउटै आईजिन नम्बर दिने सम्बन्धमा कानूनी व्यवस्था नभएकाले त्यो काम रोकेको तर्क उनले गरेकी छिन् । अर्थात्, जसरी पछि धितोपत्र बोर्डबाट दोहोरो आईजिनको व्यवस्था सहितको निर्देशिका पारित गराउनका लागि उनले कम्पनीहरु दोहोरो आईजिनबाट एकल आईजिनमा रुपान्तरण हुन खोज्नेलाई नै उनले रोकेर राखेकी छिन् ।

विगतमा पनि एनआरएन इन्फ्रास्ट्रक्चर, चन्द्रागिरि हिल्स लगायत कम्पनीको सेयरलाई दुई वटा आइजिन प्रदान गरिएको थियो । संस्थापक सेयरमा ३ वर्षको लकइन खुलेपछि नेप्सेले एउटै सिम्बोल बनाइदियो र त्यहीं सिम्बोलका आधारमा सीडीएससीले पनि आइजिन एउटै गरायो ।

तर अहिले इमर्जिङ नेपालले पनि सोहीअनुसार गर्न नेप्सेबाट एउटै सिम्बोल लियो र सीडीएससीलाई बोदार्थ पत्र पठाउँदा पनि आइजिन एउटै बनाएन । नेप्सेले भने/गरेको व्यवस्थालाई कार्यान्वयन गराउने काम सीडीएससीको हो, तर सीडीएससीले सो बमोजिम गरिरहेको छैन ।

अर्कोतर्फ लकइन खुल्दैमा सबै संस्थापक सेयर पनि बिक्री गर्न पाइँदैन । सञ्चालक समितिमा भएकाले पद छाडेको १ वर्षपछि मात्रै सेयर बेच्न पाउने व्यवस्था छ । यस्तो हकमा लकइन कायम नै राख्नुपर्छ । जुन विषयले पनि निजी क्षेत्र दोहोरो आईजिनको विरोधमा उत्रिएको हो ।

‘कम्पनी ऐनमा पनि ‘संस्थापक समूहले धारण गरेको सेयर’ भनिएको छ, ‘संस्थापक सेयर’ भनेर छुट्टै धितोपत्रको श्रेणी नै तोकिएको छैन,’ अर्का एक विज्ञले भने, ‘सेयर त सेयर नै हो, कोही संस्थापकले होल्ड गरेका हुन्छन् भने कोही पब्लिकमा जारी भएका हुन्छन् । यति मात्रै फरक हो ।’ उनले यहि आधारमा दोहोरो आईजिनको खोजी गर्नु उचित नभएको बताए ।

प्रस्तावित निर्देशिकामा दोहोरो आईजिन प्रक्रिया के छ?

सीडीएससीले तयार पारेको धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को परिच्छेद ३ मा धितोपत्रको आईजिन दिने प्रक्रियाका विषयमा उल्लेख छ । जसमा अभौतिकीकरणको सम्झौता भए पश्चात धितोपत्रको निक्षेप गर्नका लागि उक्त संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टाछुट्टै आईजिन प्रदान गर्नुपर्नेछ भनिएको छ ।

तर, संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको सेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण सेयर समुहलाई छुट्टाछुट्टै आईजिन प्रदान गर्नु पर्ने पनि उल्लेख गरिएको छ । ‘यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आईजिन दिई लकइन अवधिमा भएका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात फरक–फरक आईजिन प्रदान गरिनेछ,’ निर्देशिकामा भनिएको छ ।

यस्तै, यसमै आईजिन प्रदान गर्ने विधि पनि उल्लेख छ जसमा धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य धितोपत्रका लागि धितोपत्र बजारले उपलब्ध गराएको युनिक स्टक सिम्बल र रिफरेन्स नम्बरको आधारमा सिडिएससिले विद्युतीय प्रणालीबाट आईजिन सिर्जना गर्नुपर्ने उल्लेख छ । तर, धितोपत्रको दोस्रो बजारमा तत्काल कारोबार नहुने धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराउने युनिक स्टक सिम्बल र रिफरेन्स गरिएको आईजिन तथा दर्ताको जानकारी र बोर्डलाई गराउनुपर्ने विषय पनि यसमै उल्लेख छ ।

सीडीएससीले तयार पारेको धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को परिच्छेद ४ मा आईजिन मिश्रण (मर्जर) प्रक्रिया उल्लेख छ । जसमा कुनै धितोपत्रलाई फरक–फरक आईजिन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानुन बमोजिम फरक आईजिन आवश्यक नपर्ने देखिएमा सम्बन्धित संगठिट संस्थाको अनुरोधमा सिडिएससीले आवश्यक्ताअनुसार प्रदान गरिएको आईजिन मिश्रण गर्न सक्ने भनेर उल्लेख गरिएको छ । फरक–फरक आईजिन प्रदान गरिएको धितोपत्र एउटै आईजिनमा मिसाउनु परेमा सम्बन्धित संगठित संस्थाले केही प्रक्रिया पुरा गर्नुपर्ने विषय पनि समेटिएको छ ।

यसमा आईजिनमा मिसाउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि, धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तिमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण, धितोपत्र मिश्रण गराउने सम्बन्धमा बोर्डको सहमतीको प्रमाण, धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराईएको प्रमाण र प्रचलित कानुन बमोजिम फरक आईजिन आवश्यक संस्थाको स्वघोषणा हुनुपर्ने उल्लेख छ ।

यसमा संगठित संस्थाहरु एक आपसमा गाभिई हुने आईजिनको मिश्रण सम्बन्धी व्यवस्था पनि छ । यसमा आईजिन छुट्याउने प्रक्रियाका विषयमा पनि उल्लेख गरिएको छ । यसरी, यो प्रक्रियाबाट दोहोरो आईजिनलाई एकल आईजिनमा कन्भर्ट गर्न सकिने भएकाले जलविद्युत् वा उत्पादन क्षेत्रका कम्पनीले यस विषयमा आपत्ति जनाउन आवश्यक नभएको सिडिएससीको तर्क छ।

‘अहिले सबैभन्दा बढी विरोध हाइड्रोपावर क्षेत्रबाट भइरहेको छ । किनभने उनीहरूको पहिले सजिलै ३ वर्षको ‘लक–इन’पछि सेयर खुला हुन्थ्यो । तर, अहिले दोहोरो आईजिनले प्रक्रिया थप जटिल बनेको छ,’ ती जानकारले भने, ‘कतिपयलाई दोहोरो आईजिन बनाएर संस्थापक र पब्लिक सेयर छुट्याउँदा बजारको शुद्धीकरण हुन्छ भन्ने लागेको छ । तर, यसले विकृति मात्र बढाउँछ ।’ कुनै पनि कुरालाई सरल बनाउनुपर्नेमा झन् जटिल बनाउँदा बुझ्न र कार्यान्वयन गर्न गाह्रो हुने उनको भनाइ छ ।

यसअघि

संसारमै नभएको व्यवस्था लागु गर्ने सीडीएसको प्रयास, पन्दाकको बदनियत
दोहोरो आईजीन खारेज गर्न इप्पानको ध्यानाकर्षण, १ खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुने
सोप्पानको चेतावनीः आईजिन नियमले नवीकरणीय ऊर्जा र विदेशी लगानी जोखिममा
दोहोरो आईजिन विवादः यस्तो छ सीडीएससीले धितोपत्र बोर्डलाई पठाएको निर्देशिकाको ड्राफ्ट
दोहोरो आईजिन विवादः धितोपत्र बोर्डलाई सीडीएससीले टेरेन, अख्तियारले थाल्यो अनुसन्धान
धितोपत्र बोर्डले स्वीकृत नै नगरेको निर्देशिकामा टेकेर पन्दाकको बदमासी, लगानीकर्ता आजित
दोहोरो आईजीन विवादः सीडीएससीले पठाएको ड्राफ्ट सेबोनले जस्ताको तस्तै स्वीकृत नगर्ने
दोहोरो आईजीन विवाद: सीडीएससीले पठाएको निर्देशिकाको ड्राफ्ट अध्ययन गर्न सेबोनले कमिटी गठन गर्ने
नेप्से र सीडीएससीका कर्मचारीले आईजीनलाई कमाउ धन्दा बनाएको भन्दै अख्तियारमा उजुरी
अन्तर्राष्ट्रिय मापदण्डविपरित पन्दाकको लिँडेढिपी, निजी क्षेत्र सिध्याउने मिसनमा लागेकी हुन् ?