दोहोरो आईजीन विवादः यस्तो छ सीडीएससीले धितोपत्र बोर्डलाई पठाएको निर्देशिकाको ड्राफ्ट

889
Shares

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी निर्देशिकाको मस्यौदा तयार पारेको छ । संसारमै नभएको व्यवस्था समेटेर सीडीएससीले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिकाको ड्राफ्ट बनाएको हो ।

सो ड्राफ्ट अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले अध्ययन समिति बनाउने भएको छ । नेपाल धितोपत्र बोर्डले सीडीएससीलाई अन्तर्राष्ट्रिय असल अभ्यास हेरेर आईजिनमा उपयुक्त काम गर्न निर्देशन दिएको थियो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटा कम्पनीको सेयरको आईजिन कोड एउटै कोड हुन्छ । तर सीडीएससीकी प्रबन्ध निर्देशक प्रवीन पन्दाकले संसारमै नभएको व्यवस्थालाई कानुनी रूप दिन दोहोरो आईजिन हुने गरी निर्देशिका बनाएर बोर्डमा प्रस्ताव गरेकी हुन् ।

ड्राफ्टमा भनिएको छ, ‘कुनै धितोपत्रलाई एउटै आईजीन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानून बमोजिम फरक-फरक आईजीन आवश्यक पर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार प्रदान गरिएको आईजीन छुट्याइ फरक फरक आईजीन प्रदान गर्न सक्नेछ । उपदफा (१) बमोजिम प्रदान गरिएका आईजीन छुट्याउनु परेमा सम्बन्धित संगठित संस्थाको देहाय बमोजिमको कागजात तथा प्रमाणसहित सीडीएससीमा निवेदन दिनुपर्नेछ ।’

यस्तो छ सीडीएससीले धितोपत्र बोर्डलाई पठाएको निर्देशिकाको ड्राफ्ट

के हो आईजीन ?

यो एक युनिक कोड वा नम्बर हो । कुनै एक कम्पनीको एक प्रकारको धितोपत्रलाई एउटामात्र आईजीन नम्बर दिइन्छ । यो १२ अक्षर–अंकको कोड हो, जसले विश्वव्यापी रुपमा धितोपत्रको पहिचान गर्छ । सेयर वा धितोपत्रको क्लियरिङ, रिपोर्टिङ वा सेटलमेन्टका लागि यसको प्रयोग हुन्छ । विश्वभर सबै कम्पनीको भिन्दाभिन्नै आईजीन नम्बर हुन्छ । नेपालको आईजीन कोड अंग्रेजी अक्षर एनपीबाट सुरु हुन्छ ।

मानौं, ए भन्ने कम्पनीले कमन इक्विटी सेयर जारी गरेको छ भने लिस्टिङका क्रममा सबै कमन इक्विटीको आईजीन कोड एउटै हुन्छ । यसैगरी कम्पनीले प्रिफरेन्सियल सेयर जारी गरेको छ भने त्यस्ता सेयरको आईजीन नम्बर फरक हुन्छ । यसैगरी कम्पनीले बोन्ड वा डिबेन्चर जारी गरेको छ भने ती धितोपत्रको फरक आईजीन नम्बर हुन्छ ।

कमन इक्विटी वा साधारण सेयरका लागि विश्वभर एउटै नम्बर दिइन्छ । नेपालमा भने बैंक र बिमा कम्पनीको हकमा साधारण सेयरलाई नै दुईथरी आईजीन नम्बर दिइएको छ । ती कम्पनीको संस्थापक र सर्वसाधारणतर्फको सेयर एकै प्रकृतिको भए पनि नियामकीय निकायहरु नेपाल राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरणले दुईथरी मानेर ट्रिट गरेका कारण उनीहरुको साधारण सेयर (कमन इक्विटी)लाई नै दुईथरी कोड दिइएको हो ।

यसकारण संस्थापक र सर्वसाधारणतर्फको सेयरलाई समान ट्रिट गरिने कम्पनीको कमन इक्विटीलाई एउटै आईजीन नम्बर दिइनुपर्ने दिइन्छ ।

बैंक र बिमाबाहेक अधिकांश कम्पनीमा लक–इन अवधिअघि संस्थापक र सर्वसाधारण सेयर फरक हुन्छ । तर, लकइन खुलेपछि दुवैलाई एकै व्यवहार हुन्छ । कानुनमै लकइन खुल्नुअघि संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था गरिएकाले संस्थापक र सर्वसाधारणतर्फको सेयरलाई दुई आईजीन नम्बर आवश्यक रहँदैन ।