
काठमाडौं । सीडीएस एन्ड क्लियरिङले संसारमै नभएको व्यवस्था कार्यान्वयन गर्न खोज्दा सेयर लिस्टिङ प्रक्रिया नै बिथोलिएको छ ।
आईपीओ जारी गरी लिस्टिङ पर्खेर बसेका कम्पनीको सेयरलाई दुईथरी इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अर्थात् आईजीन नम्बर दिनुपर्ने भन्दै सीडीएससीले बखेडा झिकेपछि ती सेयर लिस्टिङ भएर दोस्रो बजारमा कारोबार हुन सकिरहेका छैनन् ।
सीडीएससीकी सीईओ प्रविन पन्दाकको हठले जलविद्युत तथा उत्पादनमुलक कम्पनीको सेयरलाई पनि दुईथरी आईजीन नम्बर चाहिने भन्दै सेयरधनीको खातामा सेयर हालिदिएको छैन ।
साधारण र संस्थापक सेयरमा दोहोरो ‘आईजीन’ नम्बर कायम गर्नुपर्ने भनेर पन्दाकले सूचीकरण प्रक्रिया नै अड्काइदिएपछि आईपीओ पर्ने लगानीकर्ताको खातामा सेयर आएको छैन भने सूचीकरण लम्बिँदा दोस्रो बजारमा कारोबार हुने दिन पनि निरन्तर धकेलिएको छ ।
दोहोरो आईजीनको बखेडा झिकेर लगानीकर्तालाई दु:ख दिएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आईजीन नम्बर राख्ने व्यवस्था हटाउनका लागि अर्थमन्त्री, संसदको अर्थसमिति, सेबोन र सीडीएससीको ध्यानाकर्षण गराएर दबाब बढाएको थियो ।
सीडीएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको ८७ अर्ब रुपैयाँ बराबरको र ऊर्जा कम्पनीको मात्र ४७ कम्पनीको ५३ अर्ब रुपैयाँ बराबरको र आईपीओको पाइपलाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ बराबरको पुँजी बन्धक हुने भई पुँजी बजारमा ठूलो प्रभाव पार्ने इप्पानको दाबी छ ।
सेयर सूचीकृत गर्दा प्रदान गरिने कोड र आईजीनलाई कर्मचारीले कमाइ खाने भाडो बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमतोमा कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना गरी असुली धन्दा चलाएको भन्दै कर्मचारी उपर छानबिन गरी कारबाही गर्न माग गरिएको छ । आईजीनको नाममा भएको विकृति रोक्नका लागि अमर लम्सालले सी–०६७३७० को दर्ता नम्बरमार्फत अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
‘प्रमोटर र पब्लिक गरी दुई भागमा विभाजन गरिएको सेयरलाई नेप्सेले एउटै कोड नम्बर उपलब्ध गराउने तथा सोही कोडको आधारमा सीडएस एण्ड क्लियरिङले एउटै आइजीन नम्बर दिएर सर्वसाधारण लगानीकर्तामाथि शोषण गर्नुका साथै अख्तियारको समेत दुरुपयोग गरी गैरकानूनी कार्य गर्दै आएका छन्,’ उजुरीमा भनिएको छ, ‘एउटै कोड र आइजिन नम्बर दिएका कारण कतिपय लगानीकर्ताले जानाजान लकिङ पिरियड नखुल्दै आफुसँग भएको सेयर दोस्रो बजारमा बिक्री गरेको पाईएको छ भने एउटै कोड र आइजिनकै कारण कतिपयले भुलबस लकिङ समयावधिमा रहेको सेयर बिक्री गरेका छन् । जुन नेपालको सेयर बजारको दुर्भाग्य र नेप्सेले गर्दै आएको गैरकानूनी क्रियाकलाप हो।’
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सीडीएससीलाई अन्तर्राष्ट्रिय असल अभ्यास हेरेर काम गर्न निर्देशन दिएको थियो । नेप्सेले पनि बोर्डले भनेकै कुरा भनेको थियो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कोड हुन्छ । तर पन्दाकले सेबोन र नेप्से दुबैको निर्देशन मानिनन् । त्यसपछि सेबोनले निर्देशिका बनाएर ल्याउन निर्देशन दिएको थियो । सीडीएससीले गत साता नै निर्देशिकाको ड्राफ्ट पठाएको छ । ड्राफ्टमा पनि सीडीएससीले आफ्नो ढिपी कायमै राख्न खोजेको देखिन्छ ।
सीडीएससीले पठाएको निर्देशिकाको ड्राफ्टमा धितोपत्र बोर्डले स्वीकृति दिइसकेपछि फेरि सीडीएससीबाट पनि स्वीकृति लिनुपर्ने प्रस्ताव गिरएको छ । जुन यसअघि धितोपत्र बोर्डको मात्रै स्वीकृति चाहिन्थ्यो ।
‘कुनै एक काममा एउटा नियकायबाट स्वीकृति लिइसकेपछि फेरि अर्को निकायबाट त्यही प्रक्रिया पूरा गरी स्वीकृति लिनुपर्छ भन्ने कुरा आफैंमा लज्जास्पद हो,’ धितोपत्र बोर्डका एक अधिकारी भन्छन्- ‘सीडीएससीको ड्राफ्टले धितोपत्र बोर्डबाट स्वीकृति लिएर आए पनि सीडीएससीले अल्झाउन सक्ने प्रष्ट भनेको छ ।’
ड्राफ्टमा भनिएको छ ‘कुनै धितोपत्रलाई एउटै आईजीन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानून बमोजिम फरक-फरक आईजीन आवश्यक पर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार प्रदान गरिएको आईजीन छुट्याइ फरक फरक आईजीन प्रदान गर्न सक्नेछ । उपदफा (१) बमोजिम प्रदान गरिएका आईजीन छुट्याउनु परेमा सम्बन्धित संगठित संस्थाको देहाय बमोजिमको कागजात तथा प्रमाणसहित सीडीएससीमा निवेदन दिनुपर्नेछ ।’
क, आइजिन छुट्याउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारणसभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि ।
ख, धितोपत्र छुट्याउने सम्बन्धमा राष्ट्रियस्तरको दैनिक पत्रिका तथा अन्य आमसञ्चारका माध्यममा कम्तिमा दुईपटक सूचना प्रकाशन गरेको प्रमाणपत्र,
ग, धितोपत्र छुट्याउने सम्बन्धमा धितोपत्र बोर्डको सहमतिको प्रमाणपत्र,
घ, धितोपत्र छुट्याउने सम्बन्धमा धितोपत्र बोर्डलाई जानकारी गराइएको प्रमाणपत्र,
ङ, प्रचलित कानून बमोजिम फरक फरक आइजिन पर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा ।
संसारभर एउटै आईजीन भएको तर नेपालमा सीडीएससीले भने बखेडा झिकिरहेको विषयलाई कानूनी प्रक्रियाबाटै समाधान गर्ने गर्न लागिएको बोर्डका अधिकारीहरु बताउँछन् ।
सीडीएससीले पठाएको ड्राफ्टमाथि अध्ययन गर्न धितोपत्र बोर्डले कमिटी नै गठन गर्ने तयारी गरेको छ ।
‘सीडीएससीले पठाएको ड्राफ्टमाथि प्रारम्भिक छलफल भएपछि अध्यक्षज्यूले नै अध्ययन गर्न कमिटी गरेर टुंगोमा पुर्याउनुपर्छ भन्नुभएको छ,’ धितोपत्र बोर्ड स्रोतले भन्यो, ‘केही दिनमा कमिटी बन्छ र कमिटीले अन्तर्राष्ट्रिय असल अध्यास हेरेर भविष्यमा समस्या नआउने गरि र विकृति विसंगतीहरु पनि रोकिने गरी काम हुन्छ ।’
धितोपत्रको दोस्रो बजारमा तत्काल कारोबार नहुने धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराउने युनिक स्टक सिम्बल र रिफरेन्स नम्बर आवश्यक नपर्ने सीडीएसीले प्रस्ताव गरेको निर्देशिकाको मस्यौदमा उल्लेख छ ।
कुनै धितोपत्रलाई फरक फरक आईजीन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानुन बमोजिम फरक आईजीन आवश्यक नपर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार प्रदान गरिएको आईजीन मिश्रण (मर्जर) गर्न सक्ने प्रस्तावित निर्देशिकामा उल्लेख छ ।
फरक फरक आईजीन प्रदान गरिएको धितोपत्र एउटै आईजीनमा मिसाउनु परेमा सम्बन्धित संगठित संस्थाले ५ वटा प्रक्रिया पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
– आईजीनमा मिसाउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि,
– धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तिमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण,
– धितोपत्र मिश्रण गराउने सम्बन्धमा बोर्डको सहमतीको प्रमाण,
– धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराईएको प्रमाण,
–प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा,
के हो आईजीन ?
यो एक युनिक कोड वा नम्बर हो । कुनै एक कम्पनीको एक प्रकारको धितोपत्रलाई एउटामात्र आईजीन नम्बर दिइन्छ । यो १२ अक्षर–अंकको कोड हो, जसले विश्वव्यापी रुपमा धितोपत्रको पहिचान गर्छ । सेयर वा धितोपत्रको क्लियरिङ, रिपोर्टिङ वा सेटलमेन्टका लागि यसको प्रयोग हुन्छ । विश्वभर सबै कम्पनीको भिन्दाभिन्नै आईजीन नम्बर हुन्छ । नेपालको आईजीन कोड अंग्रेजी अक्षर एनपीबाट सुरु हुन्छ ।
मानौं, ए भन्ने कम्पनीले कमन इक्विटी सेयर जारी गरेको छ भने लिस्टिङका क्रममा सबै कमन इक्विटीको आईजीन कोड एउटै हुन्छ । यसैगरी कम्पनीले प्रिफरेन्सियल सेयर जारी गरेको छ भने त्यस्ता सेयरको आईजीन नम्बर फरक हुन्छ । यसैगरी कम्पनीले बोन्ड वा डिबेन्चर जारी गरेको छ भने ती धितोपत्रको फरक आईजीन नम्बर हुन्छ ।
कमन इक्विटी वा साधारण सेयरका लागि विश्वभर एउटै नम्बर दिइन्छ । नेपालमा भने बैंक र बिमा कम्पनीको हकमा साधारण सेयरलाई नै दुईथरी आईजीन नम्बर दिइएको छ । ती कम्पनीको संस्थापक र सर्वसाधारणतर्फको सेयर एकै प्रकृतिको भए पनि नियामकीय निकायहरु नेपाल राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरणले दुईथरी मानेर ट्रिट गरेका कारण उनीहरुको साधारण सेयर (कमन इक्विटी)लाई नै दुईथरी कोड दिइएको हो ।
यसकारण संस्थापक र सर्वसाधारणतर्फको सेयरलाई समान ट्रिट गरिने कम्पनीको कमन इक्विटीलाई एउटै आईजीन नम्बर दिइनुपर्ने दिइन्छ ।
बैंक र बिमाबाहेक अधिकांश कम्पनीमा लक–इन अवधिअघि संस्थापक र सर्वसाधारण सेयर फरक हुन्छ । तर, लकइन खुलेपछि दुवैलाई एकै व्यवहार हुन्छ । कानुनमै लकइन खुल्नुअघि संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था गरिएकाले संस्थापक र सर्वसाधारणतर्फको सेयरलाई दुई आईजीन नम्बर आवश्यक रहँदैन ।







प्रतिक्रिया