युक्रेनको ओडेसामा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमण, १२ जनाको मृत्यु

105
Shares

एजेन्सी । रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि बुधबार रातभर भीषण आक्रमण गरेपछि कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणी बन्दरगाह शहर ओडेसामा मिसाइल र ड्रोन आक्रमणबाट ६ जनाको मृत्यु भएको कुरा शहरको सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले बिहीबार टेलिग्राममा लेखेका छन् ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार, राजधानी किभमा भएका आक्रमणमा १२ वर्षीय एक बालकसहित कम्तीमा चारजनाको ज्यान गएको छ । त्यस्तै क्षेत्रीय प्रशासनका प्रमुख ओलेक्जेन्डर गान्झाका अनुसार, मध्य सहर डिनिप्रोमा अन्य दुईजनाको मृत्यु भएको छ ।

गान्झाले यसअघि आक्रमणमा ४० वर्षीया महिलासहित १० जना घाइते भएको र ती महिलालाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताएका थिए । मारिएका भनिएका व्यक्तिहरूमध्ये ती महिला हुन् वा होइनन् भन्ने कुरा तुरुन्तै स्पष्ट हुन सकेको छैन ।

किभका मेयर विटाली क्लिट्स्कोका अनुसार पोडिल्स्की जिल्लामा भत्किएको एक आवासीय भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले एक बच्चालाई जीवितै निकालेका छन् । राजधानीमा भएको आक्रमणमा केही स्वास्थ्यकर्मीसहित कम्तीमा १० जना घाइते भएको उनले थपे ।

राजधानीको ओबोलोन्स्की जिल्लामा मिसाइलका टुक्राहरू खसेपछि एउटा भवनमा आगो लागेको र कारहरूमा पनि आगो सल्किएको क्लिट्स्कोले बताए ।

किभको सैन्य प्रशासनका प्रमुख तैमुर टाकाचेन्कोले मिसाइल सतर्कताको सूचना नहटेसम्म नागरिकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरे ।

उत्तरपूर्वी शहर खार्किभमा भएको ड्रोन आक्रमणमा ७७ वर्षीया महिला र ६६ वर्षीय पुरुष घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभले टेलिग्राममा जानकारी दिएका छन् ।

चार वर्षअघि युद्ध सुरु भएदेखि मस्कोले लगभग हरेक रात आफ्नो छिमेकी देशमाथि सयौं ड्रोनहरू प्रहार गर्दै आएको छ र हालैका दिनमा दिउँसोको समयमा गरिने आक्रमणहरू पनि विस्तार गरेको छ ।