राष्ट्र बैंकका हाकिमका छोरा शिक्षामन्त्री सस्मित २४ करोड सम्पत्तिका मालिक

0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो र परिवारको नाममा रहेको करिब २४ करोड बराबरको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको विवरण अनुसार, मन्त्री पोखरेलको अधिकांश सम्पत्तिको स्रोत उनका बुबा रमेशकुमार पोखरेलले नेपाल राष्ट्र बैंकमा गरेको जागिर र पैतृक सम्पत्ति देखिएको छ ।

सार्वजनिक विवरण अनुसार पोखरेल परिवारको नाममा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा महँगा घर र जग्गाहरू रहेका छन् । मन्त्रीकी आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंको सुकेधारामा ४ करोड र मुलपानीमा ५ करोड बराबरको दुई वटा घरहरू रहेका छन् ।

त्यसै गरी, बुबा रमेशकुमार पोखरेलको नाममा काठमाडौँको सुकेधारामा २.५ करोड र मोरङको विराटनगरमा १ करोड मूल्य पर्ने जग्गा रहेको छ । ललितपुरको गोदावरी र काठमाडौँको गोकर्णेश्वरमा पनि मन्त्रीकी आमा र परिवारको नाममा करोडौँ मूल्यका जग्गाहरू रहेका छन् । विवरणमा गोदावरीमा रहेको एउटा कित्ता जग्गाको मात्रै अनुमानित मूल्य ५ करोड उल्लेख गरिएको छ।

मन्त्री पोखरेलको परिवारसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको हालको बजार मूल्य करिब ७५ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंक मौज्दातको कुरा गर्दा, मन्त्री सस्मितको नाममा सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी करिब ४ लाख ४७ हजार रुपैयाँ र ५ अमेरिकी डलर मात्र नगद रहेको देखिएको छ ।

पोखरेल परिवारले सेयर र सरकारी बचत पत्रमा पनि ठुलो लगानी गरेको पाइएको छ । बुबा रमेशकुमार र आमा मिनाक्षीको नाममा १ करोड ४७ लाख बराबरको राष्ट्रिय बचत पत्र रहेको छ । यस्तै, सानिमा क्यापिटल र अन्य कम्पनीहरूमा गरी करिब ३० लाख रुपैयाँको सेयर लगानी रहेको विवरणमा उल्लेख छ । यो सबै लगानीको स्रोत बुबाले नेपाल राष्ट्र बैंकबाट अवकास हुँदा पाएको रकम र पारिश्रमिकलाई देखाइएको छ ।

सवारी साधनतर्फ यो परिवारसँग दुई वटा महँगा इलेक्ट्रिक कारहरू रहेका छन् । बुबा रमेशकुमारको नाममा ७० लाख मूल्यको ‘किया निरो’ र मन्त्री सस्मितको नाममा ३९ लाख ६५ हजार मूल्यको ‘बीवाइडी डल्फिन’ कार रहेको छ ।

सम्पत्तिसँगै मन्त्री पोखरेलको परिवारमा ७५ लाख रुपैयाँ ऋण पनि देखिएको छ । मन्त्री सस्मितले गाडी किन्न हिमालयन बैंकबाट २५ लाख र उनकी आमाले माछापुच्छ्रे बैंकबाट ५० लाख ओभरड्राफ्ट (OD) कर्जा लिएका छन् ।

मन्त्री पोखरेलले बुझाएको विवरण अनुसार उनको परिवारको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ । ऋण कटाउँदा उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ कायम हुन्छ । विवरणमा उल्लेख गरिएका अधिकांश स्थिर र चल सम्पत्तिको मुख्य स्रोत बुबाको नेपाल राष्ट्र बैंकको जागिर, पारिश्रमिक, सुविधा र पैतृक सम्पत्तिलाई नै आधार मानिएको छ ।

विवरणमा मन्त्री पोखरेलको सम्पत्तिको सबैभन्दा ठुलो र मुख्य स्रोत उनका बुबा रमेशकुमार पोखरेलको जागिरलाई देखाइएको छ । बुबा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
उनले नेपाल राष्ट्र बैंकमा रहँदा पाएको पारिश्रमिक, भत्ता र सुविधाबाट घर-जग्गा खरिद गरेको उल्लेख छ ।
पोखरेल अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत कार्यरत रहेको र त्यहाँबाट प्राप्त पारिश्रमिक र सुविधाले पनि जग्गा खरिद गरिएको खुलाइएको छ । सस्मितले अमेरिकामै अध्ययन गरेका थिए ।

अधिकांश स्थिर सम्पत्ति (घर र जग्गा) को स्रोतमा ‘पैतृक सम्पत्ति’ उल्लेख छ । पुर्ख्यौली जग्गा जमिन बिक्री गरेर आएको पैसाबाट काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा नयाँ घर-जग्गा जोडिएको देखिन्छ । सुन र चाँदीको स्रोतमा पनि पैतृक सम्पत्ति र आमालाई मामाघर (आमाको दाइजो) बाट प्राप्त भएको उल्लेख छ ।

सस्मितका बुबाले नेपाल राष्ट्र बैंकबाट अवकास हुँदा (रिटायर हुँदा) एकमुस्ट प्राप्त गरेको रकमलाई लगानीको स्रोत बनाइएको छ । झन्डै १ करोड ४७ लाख बराबरको राष्ट्रिय बचत पत्र खरिद गर्न बुबाले राष्ट्र बैंकबाट अवकास हुँदा पाएको रकम (निवृत्त हुँदा प्राप्त रकम) प्रयोग गरिएको कैफियतमा उल्लेख छ ।
सेयर लगानी पनि पारिश्रमिक र सुविधाबाट प्राथमिक बजार मार्फत गरिएको उल्लेख छ ।

विवरणमा धेरै ठाउँमा ‘हाल मूल्य वृद्धि भएको’ भनी उल्लेख गरिएको छ ।

मन्त्री सस्मित पोखरेलले चढ्ने बीवाइडी डल्फिन कार हिमालयन बैंकबाट २५ लाख ‘हायर पर्चेज’ कर्जा लिएर किनिएको हो । आमा मिनाक्षी ओझाको नाममा माछापुच्छ्रे बैंकबाट ५० लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा लिएको देखिन्छ ।

मन्त्री सस्मित पोखरेलको एउटा बैंक खाता (एनआईसी एसिया) मा रहेको रकमको स्रोत ‘काम न पा’ (काठमाडौँ महानगरपालिका) उल्लेख गरिएको छ, जसले उनले त्यहाँबाट कुनै पारिश्रमिक वा सुविधा लिएको संकेत गर्छ । समग्रमा मन्त्री पोखरेलको यो सम्पत्ति मुख्य रूपमा बुबाको उच्च पदस्थ सरकारी जागिर (नेपाल राष्ट्र बैंक/आईएमएफ), पैतृक सम्पत्तिको बिक्री र जग्गाको भाउमा भएको वृद्धिबाट आर्जन भएको देखिन्छ ।