दोहोरो आईजीन विवादः सीडीएससीले पठाएको ड्राफ्ट सेबोनले जस्ताको तस्तै स्वीकृत नगर्ने*

1.6k
Shares

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी पठाएको निर्देशिकाको मस्यौदा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जस्ताको तस्तै स्विकृत नगर्ने भएको छ । सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी निर्देशिकाको मस्यौदा तयार गर्दै स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको थियो ।

उक्त मस्यौदालाई जस्ताको तस्तै स्वीकृत नगर्ने मुडमा बोर्ड रहेको स्रोत बताउँछ । ‘सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी पठाएको निर्देशिकाको मस्यौदा बोर्डले अक्षरस स्विकृत गर्नेछैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार मंगलबार सीडीएससीसँग सामान्य ब्रिफिङ लिइएको छ र यसमा आवश्यक अध्ययन गरेर चाँडोभन्दा चाँडो निष्कर्षमा पुगिने स्रोतले बतायो ।

संसारमै नभएको व्यवस्था समेटेर सीडीएससीले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिकाको ड्राफ्ट बनाएको थियो । सो ड्राफ्ट अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले अध्ययन समितिसमेत बनाउने तयारी गरेको थियो । बोर्डले सीडीएससीलाई अन्तर्राष्ट्रिय असल अभ्यास हेरेर आईजिनमा उपयुक्त काम गर्न निर्देशन दिँदै सो ड्राफ्ट फिर्ता पठाइएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटा कम्पनीको सेयरको आईजिन कोड एउटै कोड हुन्छ । तर सीडीएससीकी प्रबन्ध निर्देशक प्रवीन पन्दाकले संसारमै नभएको व्यवस्थालाई कानुनी रूप दिन दोहोरो आईजिन हुने गरी निर्देशिका बनाएर बोर्डमा प्रस्ताव गरेकी थिइन्।

ड्राफ्टमा भनिएको छ, ‘कुनै धितोपत्रलाई एउटै आईजीन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानून बमोजिम फरक(फरक आईजीन आवश्यक पर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार प्रदान गरिएको आईजीन छुट्याइ फरक फरक आईजीन प्रदान गर्न सक्नेछ । उपदफा (१) बमोजिम प्रदान गरिएका आईजीन छुट्याउनु परेमा सम्बन्धित संगठित संस्थाको देहाय बमोजिमको कागजात तथा प्रमाणसहित सीडीएससीमा निवेदन दिनुपर्नेछ ।’

यो एक युनिक कोड वा नम्बर हो । कुनै एक कम्पनीको एक प्रकारको धितोपत्रलाई एउटामात्र आईजीन नम्बर दिइन्छ । यो १२ अक्षर–अंकको कोड हो, जसले विश्वव्यापी रुपमा धितोपत्रको पहिचान गर्छ । सेयर वा धितोपत्रको क्लियरिङ, रिपोर्टिङ वा सेटलमेन्टका लागि यसको प्रयोग हुन्छ । विश्वभर सबै कम्पनीको भिन्दाभिन्नै आईजीन नम्बर हुन्छ । नेपालको आईजीन कोड अंग्रेजी अक्षर एनपीबाट सुरु हुन्छ ।

मानौं, ए भन्ने कम्पनीले कमन इक्विटी सेयर जारी गरेको छ भने लिस्टिङका क्रममा सबै कमन इक्विटीको आईजीन कोड एउटै हुन्छ । यसैगरी कम्पनीले प्रिफरेन्सियल सेयर जारी गरेको छ भने त्यस्ता सेयरको आईजीन नम्बर फरक हुन्छ । यसैगरी कम्पनीले बोन्ड वा डिबेन्चर जारी गरेको छ भने ती धितोपत्रको फरक आईजीन नम्बर हुन्छ ।

कमन इक्विटी वा साधारण सेयरका लागि विश्वभर एउटै नम्बर दिइन्छ । नेपालमा भने बैंक र बिमा कम्पनीको हकमा साधारण सेयरलाई नै दुईथरी आईजीन नम्बर दिइएको छ । ती कम्पनीको संस्थापक र सर्वसाधारणतर्फको सेयर एकै प्रकृतिको भए पनि नियामकीय निकायहरु नेपाल राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरणले दुईथरी मानेर ट्रिट गरेका कारण उनीहरुको साधारण सेयर ९कमन इक्विटी०लाई नै दुईथरी कोड दिइएको हो ।

यसकारण संस्थापक र सर्वसाधारणतर्फको सेयरलाई समान ट्रिट गरिने कम्पनीको कमन इक्विटीलाई एउटै आईजीन नम्बर दिइनुपर्ने दिइन्छ । बैंक र बिमाबाहेक अधिकांश कम्पनीमा लक–इन अवधिअघि संस्थापक र सर्वसाधारण सेयर फरक हुन्छ । तर, लकइन खुलेपछि दुवैलाई एकै व्यवहार हुन्छ । कानुनमै लकइन खुल्नुअघि संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था गरिएकाले संस्थापक र सर्वसाधारणतर्फको सेयरलाई दुई आईजीन नम्बर आवश्यक रहँदैन ।

*यसअघि शीर्षकमा अन्यथा रहेकाले सच्याइएको छ ।