ग्लोबल आईएमईको सिरानसम्मको यात्रा: वित्तीय सूचक, अवार्ड र लगानीकर्ताका लागि पनि ‘नम्बर वान’

931
Shares

काठमाडौं । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा वि.सं. २०६३ सालमा १८औं वाणिज्य बैंकको रूपमा बैंकको रुपमा स्थापना भयो, ग्लोबल बैंक । त्योबेला ग्लोबल बैंकको ‘पोजिसन’ वाणिज्य बैंकहरुमध्ये धेरै तल थियो । बैंकको नाम ग्लोबल मात्रै थियो । पछि आइएमई फाइनान्स गाभेपछि बैंकको नाम पनि ग्लोबल आइएमई बन्यो ।

साविकको ग्लोबल बैंक १ अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको थियो । अहिले २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको ग्लोबल आईएमई अहिले देशकै ठूलो बैंक बनेको छ ।

१८औं वाणिज्य बैंकको रुपमा ग्लोबल बैंकले लाइसेन्स पाउँदै नेपालमा बैंक स्थापना गर्ने लहर नै थियो । जतिबेला सरकारी र  केही संयुक्त लगानीमा स्थापना भएका बैंकले बजार ‘लिड’ गरिरहेका थिए, ग्लोबल सँगसँगै अन्य धेरै बैंक आएका थिए ।

स्थापनाको करिब २ दशक पुरा गर्दै गर्दा २१ वटा बैंक तथा वित्रीय संस्था मिल्दै सफल र देशकै नम्बर १ बैंकको रुपमा स्थापित भइसकेको छ ग्लोबल आईएमई ।

विदेशमा रोजगारी गरिरहेका नेपालीले रेमिट्यान्स पठाउने औपचारिक माध्यमको  रुपमा रेमिट्यान्स कम्पनी आईएमइ लिमिटेडको स्थापना र त्यसको सफलताबाट प्ररिचित भएका चन्द्र ढकालको नेतृत्वमा १८औं वाणिज्य बैंकको रुपमा स्थापना भएको ग्लोबल आईएमई अहिले हरेक सूचकका आधारमा पहिलो स्थानमा छ ।

बैंकले एक किसिमले भन्नुपर्दा ठूलो फ्‌डको मात्रै मारेको छैन, हरेक मोडमा सफल पनि भएको छ । त्यो फड्को संख्यात्मक र गुणात्मक दुवैमा छ । अंकमा हेर्ने हो भने ग्लोबल आइएमई बैंक अहिले मुलुकको धेरै नाफा कमाउने मध्येको वाणिज्य बैंक बन्न सफल भएको छ ।

गुणात्मक दृष्टिकोणले हेर्ने हो भने पनि बैंक विश्वाशिलो र भरपर्दो छ । अध्यक्ष ढकालको स्पष्ट भिजन, लक्ष्य र सही मर्जर नीतिले छोटो समयमा अधिकांश वित्तीय सूचकहरुमा यस बैंकले ठूलो सफलता प्राप्त गरेको हो ।

बैंक अंकको खेल हो । निक्षेप संकलन, कर्जा वितरण, सही लगानी र नाफा आर्जन जस्ता सबै पक्षमा ग्लोबल आइएमई बैंक अब्बल छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्चालन गर्ने निजी क्षेत्रको पहिलो बैंकको रूपमा स्थापित ग्लोबलको तथ्यले पनि बैंकले ग्राहकको सेवा र सन्तुष्टिका साथै भरपर्दो ब्रान्डको रुपमा आफूलाई पुष्टि गरेको छ । बैंक चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा निक्षेप, कर्जा तथा अन्य वित्तीय सूचकका आधारमा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा अग्र स्थानमा उभिएको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५९ लाख तथा कुल पुँजीकोष ६८ अर्ब ११ करोड ७७ लाख रहेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणले देखाउँछ ।

यस अवधिमा बैंकको निक्षेप ६ खर्ब ८ अर्ब तथा कर्जा ४ खर्ब ५२ अर्ब पुगेको बैंकको दाबी छ । निक्षेप तथा कर्जा दुवैका आधारमा समेत बैंक लिडरको रुपमा देखिएको छ ।

बैंकका संस्थापक समेत रहेका अध्यक्ष ढकालको स्पष्ट भिजन र सहित नेतृत्वले नै बैंकले यो उपलब्धि हासिल गरेको हो । ढकालको नेतृत्वमा बैंकले सदैव सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको बैंकको दाबी छ । सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्व तथा उद्यमशिलता विकासमा पुर्‍याएको योगदनका कारण नै विभिन्न अन्तराष्ट्रिय सम्मान समेत प्राप्त गरेको छ ।

ग्लोबल फाइनान्स पत्रिकाले लगातार दोस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड्स २०२५’ का विजेताहरू सार्वजनिक गर्दा ग्लोबल आइएमई बैंक लिमिटेड पुनः एकपटक अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्र बन्न पुग्यो । लगातार दोस्रो वर्ष नेपालकै ‘सर्वश्रेष्ठ बैंक’ को रूपमा सम्मानित हुँदै ग्लोबल आइएमई बैंकले आफूलाई राष्ट्रिय नेतृत्व मात्र होइन, क्षेत्रीय स्तरमा पनि वित्तीय उत्कृष्टताको मानकका रूपमा स्थापित गरेको बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल दाबी गर्छन् ।

उक्त पुरस्कार अमेरिकामा आयोजित समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिहरूले बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई प्रदान गरेका थिए। ‘सम्मानले बैंकको स्थायित्व, नवप्रवर्तन र बढ्दो प्रतिस्पर्धी वित्तीय परिवेशमा देखाएको दृढता उजागर गर्छ । निरन्तर उत्कृष्टताको पहिचान यो लगातार दोस्रो वर्ष हो जब ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ — जुन पुरस्कारले बैंकको भरपर्दोपन, रणनीतिक वृद्धि र ग्राहकमुखी सेवा मोडेललाई प्रतिबिम्बित गर्छ,’ अध्यक्ष ढकाल भन्छन् ।

वित्तीय सबलता, स्रोत परिचालन, पहुँच विस्तार, डिजिटल नवप्रवर्तन, रणनीतिक साझेदारी र क्रेडिट रेटिङ जस्ता सूचकका आधारमा ग्लोबल देशकै नम्बर वान बैंक हो । ग्लोबलले एचएसबीसी हङकङ, स्टेट बैंक अफ इन्डिया, चाइना कन्स्ट्रक्सन बैंक, यूओबी मलेसिया, सिटी बैंक बंगलादेश र एसएमबीसी जापान जस्ता प्रतिष्ठित संस्थासँगै बेस्ट बैंक अवार्ड्स २०२५ प्राप्त गरेको हो ।

यो सम्मान प्राप्त गर्ने ग्लोबल आइएमई पहिलो नेपाली बैंक हो । जसले नेपालका वित्तीय संस्थाहरूलाई विश्व बैंकिङ मानचित्रमा स्थापित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी बैंकले गरेको छ ।

बैंकका प्रमुख कार्याकारी अधिकृत सुरेन्द्र रेग्मी पर्यावरणीय उत्तरदायित्व र सामाजिक दायित्वलाई संयोजन गर्दै बैंकलाई राष्ट्रिय विकासमा योगदान गर्दै डिजिटल र विश्वसँग जोडिएको भविष्यतर्फ लैजान गर्न तत्पर रहेको बताउँछन् ।

रेमिट्यान्स र अन्तर्राष्ट्रिय पहुँच पारम्परिक बैंकिङभन्दा पर ग्लोबल आइएमई बैंकले नेपाल र विश्व अर्थतन्त्रबीचको वित्तीय सेतुको भूमिका निभाएको छ । बैंकको विस्तारित रेमिट्यान्स नेटवर्कमार्फत विदेशमा काम गर्ने नेपालीहरूले सजिलै स्वेदशमा पैसा पठाउन सक्छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स पठाउन सजिलो बनाएको ग्लोबल आईएमईले ।

डिजिटल प्लेटफर्म र स्थानीय पहुँचको संयोजनले बैंकलाई लाखौं प्रवासी नेपाली र उनीहरूको परिवारका लागि विश्वसनीय साझेदार बनाएको छ । जसले नेपालको वैदेशिक मुद्रा आम्दानी र आर्थिक स्थायित्वमा उल्लेखनीय योगदान पुर्‍याएको छ । नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धता ग्लोबल आइएमई बैंकको सञ्चालनको केन्द्रमा नवप्रवर्तन र दिगोपन रहेको छ। मोबाइल र इन्टरनेट बैंकिङदेखि साना तथा मध्यम उद्योगलाई वित्रीय सुविधा, डिजिटल वालेट र हरित ऊर्जा ऋणपत्रजस्ता आधुनिक औजार र माध्यमबाट बैंकले आधुनिक अर्थतन्त्रका आवश्यकता पूरा गर्दै आएको छ ।

बैंकले आफ्नो रणनीतिमा पर्यावरणीय, सामाजिक र सुशासन सिद्धान्तलाई समावेश गरेको छ, जसअन्तर्गत नवीकरणीय ऊर्जा, उद्यमशीलता र वित्तीय समावेशीकरण प्रवर्द्धन गर्ने परियोजनाहरूलाई समर्थन गर्दछ । यसरी बैंकले आर्थिक प्रगति र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाएको छ ।

स्थापनाकालदेखि बैंकको दृष्टि स्पष्ट छ । त्यो हो, नेपाललाई विश्व अर्थतन्त्रसँग जोड्ने, सशक्त, नवप्रवर्तनशील र समावेशी वित्तीय संस्था सिर्जना गर्ने भन्ने ।

सन् २००७ मा स्थापना भएयता बैंकले रणनीतिक रुपमा मर्जर तथा विस्तारित नेटवर्कमार्फत समावेशी बैंकिङ पहुँचलाई अगाडि बढाइरहेको छ। उदाहरणका लागि, कमर्ज एन्ड ट्रस्ट बैंक, जनता बैंक नेपाल, बैंक अफ काठमाण्डूलगायत बैंकहरूसँग मर्जर सम्पन्न गरेर बैंकले आफ्नो परिचालन र पहुँच दुवै दिगो बनाएको छ ।

वासलताका आधार मात्रै नभई बैंकले आफ्नो सञ्जाल विस्तारका क्रममा ७७ वटै जिल्लामा ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय सञ्चालन गरेको छ । यसरी बैंकले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा पहुँच विस्तार गरेर वित्तीय समावेशीकरणको महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

बैंकले सेवाग्रहीलाई उत्कृष्ठ सेवा प्रदा गर्न मात्रै नभई बैंकमा लगानी गर्ने लगानीकर्तालाई पनि कहिल्यै निराश बनाएन । बैंकले निरन्तर रुपमा लाभांश वितरण गर्दै आएको छ । पछिल्लो ३ आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको सिथिलतासँगै कतिपय बैंकले लाभांश दिन नसक्ने अवस्था आउँदा पनि बैंकले निरन्तर लाभांश दिदै आएको छ ।

अध्यक्षका रुपमा चन्द्र ढकालको उत्कृष्ठ नेतृत्वले नै ग्लोबल आईई बैंक सञ्चालनमा आएको २ दशक नपुग्दै उत्कृष्ट बैंकको रुपमा स्थापित भएको छ ।

बुधबार बैंकको १९औं वार्षिक साधारणसभा बस्दैछ । यस अवधिमा मर्जर तथा एक्विजीसन मार्फत २१ वटा बैंक हालको ग्लोबल आईएमई बैंकमा एकीकृत भएका छन् । जसमध्ये ५ वटा त वाणिज्य बैंक नै छन् । वाणिज्य बैंकको रुपमा इजाजत पाएको ग्लोबल बैंक र आईएमई फाइनान्स मर्जर भएर ग्लोबल आईएमई बनेको थियो । जसमा अर्को वाणिज्य बैंक कमर्ज एन्ड ट्रस्ट बैंक मर्जर भयो भने त्यसपछि जनता बैंक नेपाल पनि मर्जर भएको थियो । पछिल्लो पटक आर्थिक वर्ष २०७९/८० मा साविकको बैंक अफ काठमाण्डू पनि यसैमा मर्जर भएको थियो ।

दुई वाणिज्य बैंकहरु लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मिलेर बनेको बैंक अफ काठमाण्डूसँगको मर्जर अहिलेको ग्लोबल आईएमई बैंकमा ५ वटा वाणिज्य बैंक गाभिएका छन् ।

तथ्यांकमा ग्लोबल आईएई बैंक

शाखा संख्याः ३५२
एटीएम संख्याः ३८४
शाखारहित बैंकिङ केन्द्रः १५०
विस्तार तथा राजस्व संकलन काउन्टरः ६८
अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयः ३
निक्षेपः ६ खर्ब ८ अर्ब
कर्जाः ४ खर्ब ५२ अर्ब
चुक्तापुँजीः ३८ अर्ब १२ करोड
रिजर्भः २५ अर्ब ४५ करोड
कुल सम्पत्तिः ७ खर्ब २९ अर्ब ६३ करोड
पुँजीकोष अनुपातः १२.९८ प्रतिशत
प्राथमिक पुँजीको अनुपातः १०.४१ प्रतिशत
निष्क्रिय कर्जाः ४.९८ प्रतिशत
नेट एनपीएलः ०.९५ प्रतिशत
प्रतिसेयर नेटवर्थः १७९.५० रूपैयाँ
खुद ब्याज आम्दानी (पहिलो त्रैमास) : ४ अर्ब १३ करोड
खुद नाफा (पहिलो त्रैमास) : १ अर्ब ८६ करोड
प्रतिसेयर आम्दानी (पहिलो त्रैमास): १९.५१ रूपैयाँ

ग्लोबल आइएमई बैंकको माइलस्टोनहरू

२००७: विश्वस्तरको बैंकिङ सेवा नेपालमा उपलब्ध गराउने उद्देश्यसहित वाणिज्य बैंकको रूपमा स्थापना ।
२०१४: The Banker पत्रिकाद्वारा Bank of the Year उपाधिले सम्मानित ।
२०१६: डिजिटल सेवामा अग्रणी भई Best Internet Bank Award प्राप्त ।
२०१९: जनता बैंक नेपाल सँगको एकीकरणमार्फत नेपालकै इतिहासमा भएको ठूला बैंक मर्जरमध्ये एक सम्पन्न ।
२०२२, २०२४ र २०२५: Euromoney Award for Excellence प्राप्त ।
२०२४: Euromoney Award for Excellence अन्तर्गत Best Bank ESG उपाधिले सम्मानित ।
२०२४ र २०२५: Global Finance पत्रिकाद्वारा Nepal’s Best Bank घोषित ।
२०२३: बैंक अफ काठमाडौं लिमिटेडसँगको मर्जर सम्पन्न गरी पुँजी तथा सञ्जाल संरचना थप सुदृढ ।

कुन वर्ष कति दियो लाभांश ? 

आर्थिक वर्ष २०६८/७९ : १३ प्रतिशत
आर्थिक वर्ष २०६९/७० : १५ प्रतिशत
आर्थिक वर्ष २०७०/७१ : २५ प्रतिशत
आर्थिक वर्ष २०७१/७२ : २३ प्रतिशत
आर्थिक वर्ष २०७२/७३ : १५.७६ प्रतिशत
आर्थिक वर्ष २०७३/७४ : २० प्रतिशत
आर्थिक वर्ष २०७४/७५ : १६ प्रतिशत
आर्थिक वर्ष २०७५/७६ : २५.५० प्रतिशत
आर्थिक वर्ष २०७६/७७ : १६ प्रतिशत
आर्थिक वर्ष २०७७/७८ : १३.५० प्रतिशत
आर्थिक वर्ष २०७८/७९ : १३.६ प्रतिशत
आर्थिक वर्ष २०७९/८० : ९ प्रतिशत
आर्थिक वर्ष २०८०/८१ : ५.५ प्रतिशत
आर्थिक वर्ष २०८१/८२ : ८ प्रतिशत