चन्द्र ढकालः बैंकको जागिरेदेखि उद्योग वाणिज्य महासंघको अध्यक्षसम्म, यस्तो छ संघर्षको कथा
![](https://clickmandu.com/wp-content/uploads/2023/04/Chandra-dhakal-chairman-768x403.jpg)
काठमाडौं । २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर ।
तर, जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै बढाउन सकेनन् । र, २०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए ।
‘जागिर खाइरहेका बेला म व्यवसाय पनि गर्थें । कर्मचारी भएकाले बैंकले मलाई व्यवसाय गर्न ऋण दिएन,’ ढकालले क्लिकमान्डुसँग भने- ‘त्यसपछि बैंकबाट ऋण लिएर व्यवसायलाई निरन्तरता दिनकै लागि जागिर छोडिदिएँ ।’
सरकारी जागिर छोडेर व्यवसाय सुरु गर्दा पनि ढकालले सोचका थिएनन् कि यति ठूलो सफलता हासिल गर्छु भनेर । तर, उनले यसरी प्रगतिको शिखर चुमे कि त्यो प्रगतिलाई देख्दा आरिसेहरुको मन जल्छ भने सकारात्मक सोच भएकाहरुलाई उत्साह मिल्छ ।
एकातिर मनग्य पैसा कमाएर खर्बको हाराहारीमा आफ्नो पोर्टफोलियो पुर्याउँदै व्यावसायिक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भएका छन् ।
ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन् ।
‘जागिर छोडेर व्यवसायमा लागेको ३० वर्ष भयो तर ममा १७-१८ वर्ष अघिदेखि मात्रै महासंघको नेतृत्वमा आउनुपर्छ भन्ने महत्वकांक्षा जागेर आयो,’ उनले भने, ‘आज आएर उक्त आकांक्षा पूरा भएको छ ।’
ढकालले लगानी समिति र रोजगारदाता परिषद्को सभापतिको भूमिका निर्विवाद सम्हालेका थिए ।
![](https://clickmandu.com/wp-content/uploads/2023/04/chandra-dhakal-sapath-768x432.jpg)
कसरी आए महासंघको नेतृत्वमा ?
ढकाल दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल एसोसिएट उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुँदै महासंघको अध्यक्ष बनेका हुन् ।
ढकाललाई महासंघको नेतृत्वमा जानुपर्छ भनेर महत्वकांक्षा देखाउने व्यक्ति हुन् सुरज वैद्य । ‘अहिले सर्वसहमतिमा निर्वाचित हुनु भनेको भविष्यमा योभन्दा माथिल्लो पदमा पुग्ने सम्भावनालाई प्रस्टसँग देखाउँछ,’ एसोसिएट उपाध्यक्षमा निर्वाचित भएपछि महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले प्रतिक्रिया दिएका थिए, ‘चन्द्रजीलाई जसरी हामीले निर्विरोध बनाउन सक्यौं, यो हामी सबैका लागि गौरवको विषय पनि हो ।’
सबैसँग सम्बन्ध स्थापित गर्न सफल भएका ढकाल पशुपति मुरारकाको कार्यकालको अन्त्यतिर अर्थात् ७ महिना अघिदेखि एसोसिएटतर्फको उपाध्यक्षमा चुनाव लड्ने भन्दै प्रचार गर्न थाले । त्यसबेलासम्म पनि गोल्छा समूहले ढकाललाई सुरज वैद्यतिरको मान्छे भनेर पूर्णरुपमा विश्वास गरिसकेको थिएन । त्यसैले मुरारका र गोल्छा एसोसिएटतर्फको उापध्यक्षका लागि ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानप्रति बढी झुकाव राख्थे ।
महासंघमा नेवार र माडवारी समुदायको बाहुल्य छ । उनीहरु सकेसम्म बाहुन नेतृत्वमा पुगोस् भन्ने चाहँदैनन् । त्यो फ्याक्टरले यहाँ पनि केही प्रभाव पारेको थियो । महासंघको इतिहासमा १७ अध्यक्षमध्ये २-३ जनामात्रै बाहुन, २ जना माडवारी र बाँकी सबै नेवार समुदायका छन् ।
‘बाहुन समुदायबाट अध्यक्ष बनेका चण्डीराज ढकालको आज पनि महासंघमा वर्चस्व छ । त्यो देखेका माडवारी र नेवार समुदायको भित्री मनमा भने चन्द्र नआइदिए हुन्थ्यो भन्ने नभएको भने होइन,’ महासंघको वर्तमान कार्यसमितिका एक अधिकारीले भने ।
गोल्छा समूहबाट ज्ञानेन्द्रलाल र चन्द्रको एसोसिएट उपाध्यक्षमा दाबी थियो । दुवैले चुनाव लड्ने बताउँदै आएका पनि थिए । त्यसैले यो टिम फुट्छ कि भन्ने आशंका पनि गरिएको थियो ।
पूर्वअध्यक्ष चण्डीले चन्द्रलाई खुलेआम सहयोग र समर्थन गरे । महासंघको राजनीतिक समीकरणमा चण्डीको निकै ठूलो भूमिका विगत र अहिलेको समीकरणले पनि पुष्टि गर्छ ।
गोल्छा समूहको एकमात्र उद्देश्य शेखरलाई वरिष्ठ उपाध्यक्षमा चुनाव जिताउनु हो । ‘अवस्था यस्तो बनिदियो कि गोल्छा समूहले चन्द्रलाई लिएर अघि नबढे निर्वाचन जित्ने ढुक्क भएन,’ गोल्छा समूहलाई समर्थक गर्ने एक पूर्वअध्यक्ष भन्छन्, ‘त्यसैले हामीले उनलाई उपाध्यक्षको उम्मेदवार बनायौं ।’
लामो अध्ययनपछि टिमले गरेको विश्लेषणलाई अर्का प्रत्यासी ज्ञानेन्द्रले स्वीकार गरे । र, उपाध्यक्षको दाबी छाडेर कोषध्यक्षमा चुनाव लड्न तयार भए ।
गोल्छा समूहले ज्ञानेन्द्र र चन्द्रको व्यवस्थापन गर्न सफल भयो । तर, गोल्छा समूहकै सौरभ ज्योतिले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे । समीकरण मिलिसकेको अवस्थामा ज्योतिको उम्मेदवारी घोषणाले गोल्छा समूहको टाउको दुखायो ।
कतै गोल्छा समूह छाडेर ज्योति किशोर प्रधानको टिममा पो जान्छन् कि भन्ने चिन्ता भइरह्यो । तर, गोल्छा समूहले अन्तिम समयमा आएर ज्योतिको पनि व्यवस्थापन गर्यो । किनभने, गोल्छा र ज्योति समूहबीच बाउ पुस्तादेखिकै अब्बल सम्बन्ध थियो । जुन अहिले शेखर र सौरभको पुस्तासम्म पनि यथावत् छ ।
वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले विराटनगर पुगेर उम्मेदवारी घोषणा गरेका थिए । त्यसबेला उनले आफ्नो र आफ्नो टिमबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षको उम्मेदवारी घोषणा गरे । र, चन्द्र ढकाल आफ्नो टिमबाट एसोसिएटको उपाध्यक्ष हुनसक्ने प्रचार गरे । प्रधानको त्यस्तो प्रचारले गोल्छा समूहलाई चन्द्रलाई नछाड्न झन दबाब पर्यो । र, अन्तिममा गोल्छा समूहले चन्द्रलाई एसोसिएट उपाध्यक्षको उम्मेदवार बनाउने निधो गर्यो ।
ढकाललाई दुबै समूहले आफ्नो दाबी गरेपछि अब सुरु भयो उनलाई निर्विरोध बनाउने राजनीति । ढकाललाई निर्विरोध बनाउन शेखर गोल्छा समूह र किशोर प्रधान समूह दुबै लाग्यो । त्यसबेला, गोल्छा समूहका समर्थक चण्डीराज ढकाल, पशुपति मुरारकाहरु पनि लागे भने प्रधान समूहका समर्थक सुरज वैद्य, कुशकुमार जोशीहरु पनि । फलस्वरुपः ढकाल एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
![](https://clickmandu.com/wp-content/uploads/2023/04/shaker-team.jpg)
किन दुबैको नजरमा परे ?
स्वभावका हिसाबले ढकालको सबैसँग अच्छा सम्बन्ध राख्ने क्षमता छ । यही स्वभावले उनलाई सबैले आफ्नो सम्झिए ।
उनी नम्र भएर बोल्छन् । कसैलाई बिझाउँदैनन् । विवादमा आउनै चाहँदैनन् । सम्बन्ध स्थापित गर्न उनी निकै माहिर छन् ।
व्यावसायिक वृत्तमा मात्रै होइन, त्योभन्दा माथि उठेर राजनीति र कर्मचारीतन्त्रमा पनि असाध्यै राम्रो सम्बन्ध स्थापित गरेका छन् । मिडिया र पत्रकारहरुसँगको सम्बन्ध पनि उस्तै राम्रो छ । जसले सबैतिर उनको चर्चा भएको छ ।
‘चर्चित र लोकप्रिय मान्छेलाई सबैले आफ्नो बनाउन चाहन्छन्,’ एक व्यवसायीले भने, ‘त्यतिमात्रै होइन, त्यस्ता व्यक्तिसँग चुनाव लड्ने हिम्मत पनि जो कोहीले गर्न नसक्ने रहेछन् ।’
आफ्नै बलबुताले वरिष्ठ उपाध्यक्षमा सानदार जित
एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका ढकालले वरिष्ठ उपाध्यक्षमा भने चुनाव लडेरै जित्नुपर्यो । एसोसिएटमा उनलाई समर्थन गर्ने टिम वरिष्ठ उपाध्यक्षको चुनावसम्म आइपुग्दा तितरबितर भइसकेको थियो । वरिष्ठ उपाध्यक्षमा चन्द्रलाई चण्डीको समर्थन थियो । स्वतः अध्यक्ष बन्दै गरेका शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाहरु भने किशोर प्रधानलाई जिताउन खुलेरै लागेका थिए ।
![](https://clickmandu.com/wp-content/uploads/2023/04/image-28-768x437.png)
चण्डीराजले जिल्लानगरलाई आफ्नो आधारक्षेत्र भएको दाबी गर्थे । जिल्लानगरको २५-३० मत आफूले जहाँ भन्यो त्यहीँ खस्ने दाबी गर्दै उम्मेदवारहरुसँग बार्गेनिङ गर्थे । तर, मत परिणामले के बताइदियो भने चन्द्र ढकालले चण्डीले समर्थन गरेकै कारण चुनाव जितेका होइनन् । आफ्नै बलबुता र पब्लिक रिलेसनले मात्रै चन्द्र चुनाव जित्न सफल भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा चण्डीको समर्थन पाएका कारण हौसिएका चन्द्र ढकाल जिल्ला नगरको मत परिणाममा प्रतिस्पर्धी किशोर प्रधानभन्दा १ मतले पछि परे । किशोरले ५३ ल्याउँदा चन्द्रले ५२ मात्रै ल्याए । वस्तुगत र एसोसिएटमा चन्द्रले राम्रो मत पाए । जसकारण महासंघको चुनावमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरको १ मतमा पछि परे पनि चन्द्र नै विजयी भए ।
चन्द्र समूहको दाबी के थियो भने जिल्लानगरकै ६० भन्दा बढी भोट ल्याउने । एसोसिएट र वस्तुगतमा थोरै मतले अघि हुने र ६५ देखि ७० प्रतिशत मत ल्याएर चुनाव जित्ने ।
तर, ढकाल समूहले दाबी गरेअनुसारको भोट आएन । ढकालले ५४.२६ प्रतिशत मत पाए भने प्रधानले ४५.७४ प्रतिशत मत पाए ।
‘मलाई चण्डीको समर्थन छ, जिल्ला नगरकै भोटले चुनाव जितिहाल्छु’ भनेर ढुक्कसँग बसेका भए चन्द्रले चुनाव हार्ने रहेछन् भन्ने तथ्य मतपरिणामले देखायो ।
ढकालले वरिष्ठमा निर्वाचित भएलगत्तै सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भनेका थिए, ‘तेरो-मेरो समूह भन्ने चुनावका दिनसम्म मात्रै हो, अब हामी सबै मिलेर शेखर गोल्छाको नेतृत्व र भिजनमा निजी क्षेत्रलाई सबल, सुदृढ र बलियो बनाउन काम गर्छौं ।’
र, चन्द्रले वरिष्ठ उपाध्यक्षको कार्यकालभरि अध्यक्ष गोल्छालाई सहयोग गरिरहे । यतिसम्म कि कुनै पनि विषयमा अध्यक्षको अभिव्यक्तिलाई काउन्टर दिनेगरी समेत बोलेनन्, विधान संशोधनको विषयमा बाहेक ।
![](https://clickmandu.com/wp-content/uploads/2023/04/image-29-768x512.png)
को हुन् ढकाल ?
ढकाल बागलुङको अमलाचौरमा २०२२ साल असार ९ गते जन्मिएका हुन् । उनले ०४८-४९ सालदेखि नै व्यवसाय सुरु गरेका थिए । तर, सन् २००१ मा इन्टरनेसनल मनि ट्रान्सफर (आईएमई)ले उनलाई स्थापित गरायो ।
रेमिट्यान्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन, पूर्वाधार, जलविधुत, सूचना प्रविधि, अटोमोबाइल, कार्गो, चन्द्रागिरिलगायतका सातै प्रदेशका केबलकारमा उनको लगानी छ ।
ढकाल अध्यक्ष रहेको आईएमईले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । त्यसैगरी, रेमिट्यान्स कम्पनीमध्ये सबैभन्दा बढी कर भुक्तान गरेबापत आईएमईले पटक-पटक ठूला करदाताको रुपमा सम्मान पाइसकेको छ । नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये २५ प्रतिशतभन्दा बढी आईएमईमार्फत् भित्रिने गरेको छ ।
सरकारले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मानबाट पटक-पटक विभूषित भएका ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्य दूतसमेत भएर काम गरे ।
![](https://clickmandu.com/wp-content/uploads/2021/01/chandra_hemraj.jpg)
उद्यमशीलता विकासमा भूमिका
महासंघको अध्यक्षका रुपमा ढकालले संकटको घडीमा उद्योगी व्यवसायीको मनोबल उच्च बनाउनुलाई पहिलो प्राथमिकतामा राखेका छन् । अर्थतन्त्रका तत्कालीन समस्याको समाधानमा पहल गर्दै दीर्घकालीन रणनीति तयार गर्नु उनको मुख्य प्राथमिकता हो ।
त्यस्तै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवर्धन गर्ने र स्वदेशी-विदेशी लगानी प्रवर्धनसँगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेन्डालाई उनले मुख्य प्राथमिकतामा राखेका छन् ।
वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने ढकालको लक्ष्य अध्यक्षको कार्यभार सम्हाल्दै गर्दा पूरा हुने भएको छ । महासंघको नेतृत्वमा रहँदा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने र रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवर्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने उनको लक्ष्य छ ।
आमजनतालाई प्रत्यक्ष फाइदा वा सेवा दिने, सरकारको प्राथमिकता र व्यावसायिक सम्भावनाको क्षेत्रमा लगानी गर्न रुचाउने ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । जागिर छाडेको छोटो अवधिमा उनी आफू पनि व्यावसायिक जगतमा स्थापित भए भने २० हजारभन्दा बढी मानिसलाई पनि स्थापित गराए, प्रत्यक्ष रोजगारीमा जोडेर ।
ढकाल नेतृत्वको आईएमई ग्रुप २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आईएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् ।
उनले २०४८ सालमा कार्गो कम्पनी हुँदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरेर व्यावसायिक फड्को मारेका हुन् । आईएमई ग्रुपसँग सम्बद्ध उनका थुप्रै व्यवसाय र उद्योग प्रतिष्ठान नेपालसहित विश्वबजारमा स्थापित छन् ।
ढकालको नेतृत्वमा आईएमई ग्रुपले सेवा, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी उद्यम व्यवसाय विस्तार गरिरहेको छ । रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा उनको लगानी छ ।
ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीमा आईएमई ग्रुपको प्रमुख हिस्सेदारी छ ।
पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेख्य योगदान छ । र, उनको यो सपना साकार पार्न वरिष्ठ उपाध्यक्षका रुपमा सारथि बनेका छन् अन्जन श्रेष्ठ ।
![](https://clickmandu.com/wp-content/uploads/2023/04/image-30.png)
नबदलिएको मध्यमार्गी शैली
व्यावसायिक जीवनको ३५ वर्षमा ढकालको उद्यम यात्राले ठूलो आरोह‑अवरोह पार गरिसकेको छ । तर, उनको शैलीमा खासै ठूलो बदलाव आएको छैन ।
मध्यमार्गी स्वभाव र सकारात्मक सोच राख्ने ढकाल उस्तै मिजासिलो स्वाभावका छन् । नेपाल राष्ट्र बैंकले मर्जर नीति लिनु अघिदेखिको उनको मर्जर यात्रा अझै जारी छ । २२-२३ संस्थालाई मिलाउन सक्ने खुबीकै कारण उनी देशकै सबैभन्दा ठूलो संस्थाको नेतृत्वमा छन् । यसले पनि उनको स्वभावलाई प्रतिबिम्बित गर्छ ।
अहिले अर्थतन्त्र गम्भीर संकटको सामना गरिरहेको छ । आन्तरिक उत्पादन खस्किरहेको छ । उद्योगीहरु उद्यम छाडेर व्यापारतिर लागेका छन् । निर्यातमूलक उद्योग खुल्न नसक्दा आयात बढ्दो छ । अर्थतन्त्र नै एकखाले मन्दीको सामना गरिरहेको छ ।
सरकारका नीति र ऐन कानुनप्रति उद्योगी व्यवसायी सन्तुष्ट छैनन् । व्यवसायीले विभिन्न फोरममा भन्ने गरेका छन्- ‘उद्योग स्थापना गर्न १७ वटा कानुन पढ्नुपर्छ, उद्योगीलाई थुन्न २१ वटा कानुन बनाइएका छन् । हरेक पटक बजेट आउँदा आर्थिक नीति फेरबदल हुन्छ । उद्योग मन्त्रालयको कानुन अर्थ मन्त्रालयले चिन्दैन ।’
यस्ता कानुनी खोट पहिचान गरी समाधानको उपाय खोज्नुपर्ने चुनौती अध्यक्ष ढकालसामु हुनेछ । अव्यावहारिक नीति परिमार्जनमा लागि पर्दै लगानीमैत्री र औद्योगिक वातावरण बनाउन पहल गर्नु ढकाल नेतृत्वको टिमको मुख्य कार्यभार हुनेछ । व्यावसायिक जीवनमा उनको अनवरत यात्राको सफलता-असफलताको मानक पनि यही बन्नेछ ।
![](https://clickmandu.com/wp-content/uploads/2023/04/chandra-dhakal-1-768x432.jpg)
ढकालकै शब्दमा संघर्षको कथा
बाग्लुङको विकट गाउँको सामान्य परिवारमा मेरो जन्म भएको हो । मेरो घरबाट गाडी चढ्न एक दिन हिँड्नुपर्थ्यो । अहिले घरसम्म बाटो बनिसकेको छ । मेरो परिवारमा एक भाइ र दुई बहिनी छन् । म परिवारको जेठो सन्तान हुँ ।
म १६ वर्षको हुँदा बुवाको मृत्यु भयो । त्यतिबेला भाइ हेमराज १० वर्षको थियो । एसएलसी परीक्षा दिन जिल्ला सदरमुकाम गएका बेला बुवाको मृत्युको खबर सुनेँ । जसका कारण मेरो परीक्षा राम्रो हुन सकेन र फेल भएँ ।
१६ वर्षको उमेरमा बुवा गुमाउनुपरेको पीडा थियो । यस्तो पीडा भोग्नेले मात्रै महसुस गर्न सक्छन् । एकाएक नसोचेको जिम्मेवारी ममा आयो । आमा, भाइ र बहिनीको राम्रोसँग ख्याल गर्नुपर्ने मेरो सबैभन्दा ठूलो जिम्मेवारी थियो ।
गाउँमा आधारभूत आवश्यकतासमेत कसरी पूरा गर्ने भन्ने चिन्ता हुन्थ्यो । गाउँघरमा डोको, नाम्लो, भकारी, थुन्से जस्ता सामान किन्नसमेत पैसाको अभाव हुन्थ्यो । मैले घरमा आवश्यक पर्ने यस्ता सबै सामान आफैं बनाउन सिकेको थिएँ । जसले गर्दा हामीलाई घर व्यवहार चलाउन केही सहज भयो । आफूले देखेका सबै काम सिक्नुपर्छ भन्ने मेरो सानैदेखिको सोच थियो ।
बुवा बित्नुभएको एक वर्षपछि मात्रै मैले एसएलसी पास गरेँ । एसएलसी पास भएपछि उच्च शिक्षाका लागि काठमाडौं जाने निर्णय गरें ।
घरबाट पैसा ल्याएर काठमाडौंमा घर भाडा तिर्ने, पढाई खर्च जुटाउन सक्ने आर्थिक अवस्था मेरो थिएन ।
त्यसैले, ठमेलमा एक कोल्डस्टोर सुरु गरें । आकारमा कोल्ड स्टोर सानै भए पनि लुक्लासम्म व्यापार गर्थ्यो । कोल्डस्टोरमा काम गर्दा गर्दै राष्ट्रिय वाणिज्य बैंकमा विज्ञापन खुल्यो ।
काठमाडौं बाहिरबाट आएका व्यक्तिमा सरकारी जागिर खानुपर्छ भन्ने सोच हुन्थ्यो । जसले गर्दा बैंकको सहायक पदमा आवेदन दिएँ । लिखित परीक्षामा सफल भएँ । अन्तर्वार्ताका लागि थप मेहनत गरें र अन्तर्वार्तामा पनि सफल भएँ । त्यस बखत बैंकको प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाँडे हुनुहुन्थ्यो ।
अझै पनि याद छ, २०४५ जेठ २ गते मलाई न्युरोडको विशालबजार शाखामा पठाइयो । मेरो तलब ५४५ रुपैयाँ थियो । कार्यालय समय १० देखि ५ ।
तर, मैले कहिल्यै १०-५ मात्रै काम गरिन । १० बजेभन्दा अगाडि म कार्यालय पुग्थें । ५ बजेपछि पनि काम गरिरहेको हुन्थें ।
कार्यालय समयबाकेहको अवधिमा मैले राष्ट्र बैंकमा रिपोर्टिङ गर्न आवश्यक डक्कुमेन्ट तयार गर्थें । केही साथीहरुले मलाई तिमीले ओभरटाइम काम गर्दा पनि पाउने भनेको ५४५ रुपैयाँ मात्र हो । हामीले १० देखि ५ काम गर्दा पनि त्यहीँ ५४५ रुपैयाँ पाउँछौं । तिमी बैंकका लागि यति लामो समय किन काम गर्छौ भनेर प्रश्न गर्थे । तर, मैले कहिल्यै त्यस्तो सोचिन ।
निरन्तर काम गर्ने बानी भयो भने आफैंलाई लाभ हुन्छ भन्नेमा म ढुक्क थिएँ । त्यसैले पनि कहिल्यै मनमा केही नसोची काम गरेको थिएँ । त्यसले मलाई मेहनत गर्न सिकायो ।
अहिलेको पुस्तामा तत्काल रिर्टन खोज्ने बानी छ । मेहनत नगरी प्रतिफल प्राप्त हुँदैन भन्ने बुझ्नुपर्छ ।
विशालबजार शाखामा गार्मेन्ट र कार्पेट निर्यातको काम गर्ने व्यक्तिहरु आउने गरेका थिए । मलाई पनि गार्मेन्ट र कार्पेट निर्यातसम्बन्धी व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । आन्तरिक उत्पादनलाई देशबाहिर पठाउनुपर्छ भन्ने पनि लाग्यो । जसले गर्दा निर्यातसम्बन्धी काम गर्न संस्था दर्ता गरें ।
सुरुका दिन कठिन थिए ।
नेपालबाट कार्गो पठाउन सजिलो थिएन । मैले काम सुरु गरेपछि कयौं साथीले सहयोग गरेनन् । मैले पहिलोपटक नेपालबाट ५ सय किलो कार्पेट पठाउँदा नेपाल वायु सेवा निगमले मेरो कम्पनीको सामान लैजानै मानेन ।
मेरो कम्पनीले पठाउन लागेको सामान नलैजानू भनेर निगमका हाकिमलाई पुराना व्यवसायीले खबर गरिसकेका थिए । जसले गर्दा निगमका हाकिमले मेरो कम्पनीको सामान लैजान मानेनन् ।
मैले उहाँलाई आफूले पहिलोपटक काम गर्न लागेकाले सहयोग गर्न आग्रह गरें । तर, उहाँले मेरो कुरा सुन्नै चाहनु भएन । तपाईं बाहिर जानुहुन्छ कि गलहत्याएर निकालौं भनेर चेतावनी दिनुभयो । मैले हरेस नखाई फेरि पनि उहाँसँग सहयोगको याचना गरें ।
मैले धेरै कर गरेपछि उहाँले रिसाउँदै तपाईं जानुहुन्छ कि गार्ड लगाएर निकालौं भनेपछि म उहाँको कार्यालयबाट अपमानित भएर निस्किएँ ।
मेरो पहिलो कन्साइन्मेन्ट विदेश जान सकेन । तर, म निराश भइनँ ।
निरन्तर प्रयास जारी राखें ।
केही समयपछि हामी कार्गोसम्बन्धी काम गर्ने निकै राम्रो कम्पनी बन्यौं । इमानदारीसाथ काम गर्यो भने नतिजा आउँछ । निर्यातसम्बन्धी काम राम्रै चलेको थियो । त्यसै बखत नेपालबाट विदेश जाने क्रम बढेको थियो । तर, विदेशबाट पैसा पठाउन मिल्ने सजिलो विकल्प थिएन ।
कयौं व्यक्ति ठगिएको र विदेशबाट पठाएको पैसा चोरी भएको जस्ता समाचार सुनेको थिएँ ।
वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको पैसा उहाँहरुको घरसम्म पुग्ने प्रणाली बनाउन सक्यो भने राम्रो व्यवसाय हुन सक्ने अवसर देखें । सरकार र वैदेशिक रोजगारीमा भएका व्यक्तिलाई लाभ हुने प्रणाली बनाउन लागें ।
त्यसपछि हामीले २००१ मा मलेसियाबाट औपचारिक प्रणालीबाट पैसा ल्याउन आईएमई सुरु गरेका थियौं ।
हुण्डी कारोबारीको चंगुलमा रेमिट्यान्स व्यवसाय थियो । सुरुवातका दिनहरु निकै कठिन भए ।
राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलले व्यवसाय सुरुवात गरेको दिन त्यसबखतका एक जना डेपुटी गभर्नरले ढकालले गार्मेन्ट र कार्पेटबाट कमाएको पैसा डुबाउने भयो भन्ने टिप्पणी गरेको सुनाउनुभयो ।
राष्ट्र बैंकमा मान्छेहरु नै औपचारिक माध्यमबाट पैसा ल्याउन सम्भव छैन भन्ने गर्थे ।
मैले रेमिट्यान्स व्यवसायमा अवसर देखेको थिएँ । विस्तार आईएमई सफल कम्पनी मात्रै नभएर ब्रान्ड नै भयो । विदेशबाट पैसा पठाउनुलाई नै ‘आईएमई गर्ने’ भनिन थाल्यो । राष्ट्र बैंकमा समेत आईएमईको लाइन्सेन्स लिनुपर्यो भनेर व्यवसायी पुग्नुभयो ।
मलाईं सधैं नयाँ-नयाँ काम गर्नुपर्छ भन्ने लाग्थ्यो । मलेसियाको गेन्टिङ हाइल्यान्डस् पुगेपछि नेपालमा पनि सहर नजिकै ठूलो पर्यटकीय पूर्वाधार बन्न सक्छ भन्ने लाग्यो ।
त्यसपछि हामीले पर्यटन क्षेत्रमा काम गर्ने योजना बनायौं । मलेसियाको गेन्टिङ हाइल्यान्डस् जस्तै चन्द्रागिरिमा समेत पर्यटकीय पूर्वाधार बन्ने सम्भावना देख्यौं ।
चन्द्रागिरिको काम निकै कठिन थियो । सरकारी निकायबाट अनुमति लिनमात्रै ५ वर्ष लाग्यो । अनुमति पाएको २ वर्षमै हामीले चन्द्रागिरिको निर्माण सम्पन्न गर्यौं । अहिले चन्द्रागिरि विदेशी पाहुनालाई देखाउन मिल्ने महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बनेको छ ।
केही व्यक्तिले चन्द्रागिरि बनाउने आइडिया सेयर गर्दा चन्द्रले अलिअलि कमाएको पैसा डाँडोमा लगेर डुबाउने भयो भन्ने गरेका थिए ।
अहिले अवस्था फेरिएको छ ।
देशभरका कयौं डाडाँमा चन्द्रागिरि जस्तो पूर्वाधार बनाउन साझेदारी गर्नुपर्यो भन्ने प्रस्ताव आउने गरेका छन् । मेरो अनुभवमा कुनै पनि काम गर्दा तीनवटा पक्षमा ध्यान दिनुपर्छ । पहिलो, यस्तो काम गर्नुस्, जसले जनतालाई सेवा दिन सकोस् । दोस्रो, सरकारले पनि सहयोग गर्ने काम गर्नुपर्छ । तेस्रो, काम व्यावसायिक हुनुपर्छ । व्यावसायिक भइएन भने काम नियमित गर्न सकिँदैन ।
हामीले यही सिद्धान्तमा काम गरिरहेका छौं । कुनै पनि काम सहज हुँदैन । कुनै पनि काम सुरुमै ठूलो पनि हुँदैन । विस्तारै सानो काम ठूलो बन्न सक्छ ।
बस भाडा, घर भाडा कसरी तिर्ने भन्ने स्तरबाट निरन्तरको मेहनतले म अहिलेको अवस्थामा पुगेको छु । अहिले त अवस्था निकै सहज छ । आइडिया भयो भने फन्डिङ एजेन्सीहरु छन् । इमानदारी र लगन भयो भने सफल हुन सकिने सम्भावना छ ।