चन्द्र ढकालको पब्लिक कम्पनी रणनीतिः बन्लान् त डलर अर्बपति, कहाँ कति छ लगानी र सम्पत्ति ?



काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले अहिलेसम्म नेपालका एकमात्र व्यवसायी विनोद चौधरीलाई डलर अर्बपतिको सूचिमा सूचिकरण गरेको छ । चौधरी पहिलोपटक सन् २०१३ मा फोर्ब्सको धनाड्यको सूचिमा परेका थिए ।

चौधरी अर्बपतिमा सूचिकृत भएको ८ वर्ष वितिसक्यो । तर, त्यसयता अर्को कुनै नेपालीलाई फोर्ब्सले डलर अर्बपतिकारुपमा सूचिकरण गरेको छैन ।

यस्तो अवस्थामा तपाईं/हाम्रो मनमा प्रश्न उब्जिन सक्छ, फोर्ब्सले दोस्रो अर्बपतिका रुपमा कसलाई सूचिकृत गर्ला ?

नेपालमा १ अर्ब डलर सम्पत्ति भएका सीमित व्यक्तिहरु हुन सक्छन् । तर, निजी सम्पत्तिका मालिकको सम्पत्ति मापन गर्न नसकिने हुँदा पब्लिक कम्पनीमा भएको स्वामित्वलाई हेरेर धनाड्यहरुको पहिचान गरी सूचिकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।

यसलाई आधार मानेर हेर्दा निकट भविष्यमै उदयीमान व्यवसायी चन्द्रप्रसाद ढकाल फोर्ब्सको डलर अर्बपतिको सूचिमा पर्ने सम्भावना देखिन्छ । ढकालले लिएको व्यापार रणनीतिले उनको सम्भावना बलियो देखिएको हो ।

आफ्नो लगानी भएका कम्पनीहरुलाई ढकालले धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गरिरहेका छन् । निश्चित प्रतिशत सेयर पब्लिक अर्थात् सर्वसाधारणलाई वितरण गरेपछि त्यो कम्पनीको बजार पुँजीकरण बढ्छ । र, त्यसका लगानीकर्ताहरुको सम्पत्ति पनि बढ्छ । जसरी चौधरीलाई डलर अर्बपतिको सूचिमा पुर्याउन नविल बैंकको बजार पुँजीकरणले सहयोग गर्यो ।

चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व

निजी स्वामित्वका कम्पनीलाई किन धमाधम पब्लिक बनाउनु भएको ? भन्ने क्लिकमाण्डूको प्रश्नमा ढकालले यस्तो जवाफ दिए, ‘हाम्रो व्यावसायिक रणनीति नै पब्लिकको स्वामित्व होस् भन्ने हो । हामी हाम्रा सबै निजी कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै अघि बढ्छौं ।’

निजी कम्पनी सञ्चालन गर्दा पारदर्शिताको कुरा उठ्ने भएकाले पब्लिकमा जानु परेको उनको भनाइ छ ।

‘हुन त अहिले धेरै निजी कम्पनीहरु पनि पारदर्शी छन्, यद्यपि निजी कम्पनीमा पारदर्शीताको प्रश्न उठाउन जति सजिलो हुन्छ, पब्लिक कम्पनीमा त्यति सजिलो हुँदैन,’ उनी भन्छन्, ‘ किनभने सर्वसाधारण सेयर निष्काशन गरेको कम्पनीमा हजारौं/लाखौं जना मालिक हुने भएकले विश्वासिलो र पारदर्शी हुन्छ ।’

नेपालको व्यापार/व्यवसायमा परम्परागतरुपमा दुईवटा समूह मारवाडी र नेवारहरुको पकडमा थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि व्यवसायमा लागेर पहिलो पुस्तामा ठूलो सफलता पाउने व्यवसायी हुन् ढकाल ।

यो सफलताको पछाडि उनको व्यापार रणनीति मूख्य छ भने अर्को महत्वपूर्ण भूमिका आइएमई समूहको व्यापार रणनीति बनाउने उनका भाई हेमराज ढकाल (रामु) को छ । हेमराज आइएमइ समूहको कार्यकारी निर्देशककमा रुपमा रणनीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न अहोरात्र खटिरहेका छन् ।आइएमई ग्रुपको आइएमई मनि ट्रान्सफर, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्समा लगानी छ । यस्तै पूर्वाधार विकास बैंक तथा पुर्नबीमा कम्पनीमा पनि ढकाल र उनले लगानी गरेका कम्पनीको लगानी रहेको छ ।

यस्तै डिशहोम, तथा पछिल्लो समय भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे पनि ढकालको लगानी भएको कम्पनी हो । पूर्वाधार क्षेत्रमा चन्द्रागिरि हिल्स तथा जलविद्युतमा माउन्टेन इनर्जी र हिमालयन पावर पार्टनरमा ढकालको लगानी छ ।

यसबाहेक पूर्वाधार विकास बैंक तथा पुनर्बीमा कम्पनीमा पनि ढकालको लगानी भएका कम्पनीको लगानी छ । त्यस्तै, आइएमइ समूहको लगानीमा अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आइएमई मोटर्स कम्पनी छ । जुन अशोक लिलेन्ड र युएम मोटरसाइकलको बिक्रेता हो ।

ढकालको लगानी भएका धेरैजसो कम्पनीहरु लिमिटेड बनेका छन् । बैंक तथा वित्तीय संस्था मात्र नभएर उनले लगानी गरेका पूर्वाधार र टेलिभिजन सेवा प्रदायक कम्पनी पनि पब्लिक बनेका छन् । जसमा चन्द्रागिरि केवलकारले जनतालाई साधारण सेयर निष्कासन गरेको छ भने डिशहोम निष्कासनको तयारीमा रहेको छ ।

बिजनेशमा आक्रमक बन्दै चन्द्र ढकालः आइएमइ सिमेन्ट, ३ केबलकार, होटेल र हाइड्रो ल्याउँदै

सेयर बजारमा उनको लगानी रहेको पूर्वाधार  बैंक र चन्द्रागिरि हिल्स सूचिकृत हुने प्रक्रियामा छ । यस्तै डिशहोम र आइएमई लाइफ पनि सेयर निष्कासन गर्ने प्रक्रियामा छन् ।

रेमिट्यान्स कम्पनी आइएमई प्रालिबाट लिमिटेड भएको छ । यदि यसको पनि सेयर निष्कासन हुने हो भने ढकाल फोर्ब्सको सूचिमा सूचिकृत हुने अर्को डलर अर्बपति बन्ने देखिन्छ । निकटस्थहरुका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट बाहिरिने बेलासम्ममा ढकालले डलर अर्बपतिको रुपमा सूचिकृत हुने आकांक्षा राखेका छन् ।

ग्लोबल आइएमई बैंक: पब्लिक कम्पनीहरुमा सबैभन्दा बढी लगानी भएको चन्द्रप्रसाद ढकालको ग्लोबल आइएमई बैंकमा देखिन्छ । नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी चुक्ता पूँजी ग्लोबल आइएमई बैंकको छ । ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख २ हजार ४०० रुपैयाँ छ ।

बिहीबार  कारोबार बन्द हुँदा ग्लोबल आइएमईको बजार पूँजीकरण ७३ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकमा ढकालको प्रत्यक्ष र अप्रत्यक्ष गरेर ३० प्रतिशत हिस्सा ओगट्ने गर्छन् । बजार पूँजीकरणको हिसाबले हेर्दा २२ अर्ब १२ करोड सम्पत्तिको हिस्सा ढकालको भएको देखिन्छ । संस्थापक र सर्वसाधारण सेयरधनीको मूल्य फरक भएको हुँदा यो रकम कमी भने हुनसक्छ ।

आइएमई जनरल इन्स्योरेन्स: निर्जीवन बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्समा निर्जीवन बीमा व्यवसायमा आइएमई समूहको लगानी भएको कम्पनी हो । १ अर्ब ८ करोड चुक्ता पूँजी भएको आइएमई जनरलमा ढकाल र उनको कम्पनी गरेर ३० प्रतिशतको होल्ड छ । यसको बजार पूँजीकरण बिहीबार  १२ अर्ब ८ करोड पुगेको छ । यस आधारले उनको हिस्सा ३ अर्ब ८४ करोड रुपैयाँको हाराहारीमा देखिन्छ ।

ग्लोबल आइएमइ लघुवित्त: यो कम्पनीको चुक्ता पुँजी ३३ करोड रुपैयाँ रहेको छ । जसमा ढकाल र उनको समूहको ३० प्रतिशतभन्दा बढी लगानी छ । बिहीबार बजार बन्द हुँदा ग्लोबल आइएमइ लघुवित्तको बजार पुँजीकरण ५ अर्ब ९८ करोड रुपैयाँ छ । जसअनुसार यो कम्पनीमा ढकालको सम्पत्ति पौने २ अर्ब रुपैयाँको हाराहारीमा रहेको देखिन्छ ।

नेपाल इन्स्योरेन्स: नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्समा आइएमई समूहको लगानी छ । १ अर्ब १५ करोड चुक्ता पूँजी भएको नेपाल इन्स्योरेन्सको बजार पूँजीकरण ९ अर्ब २९ करोड छ । नेपाल इन्स्योरेन्समा १७ प्रतिशत हिस्सा आइएमई समूहको छ । यस हिसाबले १ अर्ब ५७ करोड सम्पत्तिको हिस्सा आइएमई समूहको हुन्छ ।

नेपाल पुनर्बीमा कम्पनी: नेपालको एकमात्र पुर्नबीमा कम्पनीमा चन्द्रप्रसाद ढकालको लगानी रहेको कम्पनीहरुको करिब ६ प्रतिशत हिस्सा लगानी रहेको छ । १० अर्ब चुक्ता पूँजी रहेको पुर्नबीमाको बजार पूँजीकरण १ खर्ब ५२ अर्ब छ । जस आधारमा ९ अर्ब १२ करोडको सम्पत्तिको हिस्सा ढकाल समूहको लगानी रहेको कम्पनीको जान्छ ।

नेपाल पूर्वाधार बैंक: २० अर्बको चुक्ता पूँजी भएको पूर्वाधार विकास बैंकमा चन्द्रप्रसाद ढकाल र उनको कम्पनीको हिस्सा १० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको हाराहारीमा लगानी भएको देखिन्छ । हालैमात्र सर्वसाधारणका लागि सेयर निष्कासन गरेको कम्पनीको दोस्रो बजारमा सेयर कारोबार भने भएको छैन । दोस्रो बजारमा सूचिकृत भएपछि उनको सम्पत्तिको मूल्य कम्तिमा पनि दोब्बर अर्थात् ५ अर्ब रुपैयाँको हाराहारीमा हुने निश्चित छ ।

चन्द्रागिरि हिल्स: हालैमात्र सर्वसाधारणलाई सेयर निष्कासन गरेर बाँडफाँट गरेको चन्द्रागिरि हिस्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड छ । जसमा हिस्साले १२ प्रतिशत सेयर सर्वसाधारण र आयोजना प्रभावितका लागि निष्कासन गरेको हो । चन्द्रागिरिमा ढकाल र उनको परिवार तथा कम्पनीको गरेर करिब ४४ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यो कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा ढकालको सम्पत्ति कम्तिमा पनि २ अर्ब रुपैयाँ हुने आँकलन गर्न सकिन्छ ।

आइएमई लाइफ इन्स्योरेन्स: जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ । जसले ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । आइएमई लाइफमा करिब ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको स्वामित्व ढकाल र उनको कम्पनी तथा परिवारको नाममा रहेको छ । यो कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा ढकालको सम्पत्ति कम्तिमा पनि ४ अर्ब रुपैयाँ हुने आँकलन गर्न सकिन्छ ।

डिशहोम: टेलिभिजन सेवा प्रदायक डिशहोमा नेपाली लगानीकर्तामा ठूलो लगानी आइएमई समूहको छ । डिशहोमले आफ्नो चुक्ता पूँजीको १० प्रतिशत सेयर अर्थात् २३ लाख ८५ हजार ९२९ कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँको दरले निष्कासन गर्दै छ ।

नेपालको सेयर बजार टेलिभिजन सेवा प्रदायक कम्पनीको सेयर सूचिकृत भएको छैन । यो हुँदा यसको सेयर मूल्य पनि ब्यूचिप हुने अनुमान सेयर बजारका लगानीकर्ताको छ । यो कम्पनीमा ढकालको ३५ प्रतिशतको हाराहारीमा अर्थात् ७० करोड रुपैयाँको हाराहारीमा लगानी छ । यो कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा ढकालको सम्पत्ति कम्तीमा पनि ४ अर्ब रुपैयाँ हुने आँकलन गर्न सकिन्छ ।

आइएमई: मनि ट्रान्सफरमा नेपालको सबैभन्दा ठूलो कम्पनी आइएमई लिमिटेड हो । आइएमई प्रालिबाट ढकालले यसलाई पब्लिक लिमिटेड कम्पनी बनाएका थिए । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने काम आइएमई लिमिटेडले गर्छ । वार्षिक ८ खर्ब रेमिट्यान्स नेपालमा भित्रने गर्छ । यसमा करिब ३० प्रतिशत बजार हिस्सा एक्लै आइएमई लिमिटेडको छ । आइएमइबाट ढकालले वर्षमा कम्तीमा १ अर्ब रुपैयाँ नाफा गर्छन् । अहिलेको बजार ट्रेण्ड हेर्दा आइएमई लिमिटेडले सेयर निष्कासन गरेमा अर्को ब्यूचिप कम्पनी बन्छ ।

जलविद्युत् कम्पनी: ढकालको दुईवटा जलविद्युत् कम्पनी हिमालयन पावर पार्टनर र माउन्टेन्ट इनर्जीमा लगानी छ । दुबै कम्पनी गरेर करिब ५० करोडको आजको दिनमा बजार मूल्य दुईवटा जलविद्युत् कम्पनीमा देखिएको छ ।

हाथवे इन्भेष्टमेन्ट: इक्विटी व्यवस्थापक कम्पनी हाथवे निजी क्षेत्र उत्कृष्ट लगानी कम्पनी हो । जसको मुख्य प्रवर्द्धकमा आइएमई समूह रहेको छ । कम्पनीको वेवसाइटमा १५ अर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापनको काम हाथवेले गरेको जनाएको छ ।

कूल लगानी साढे ११ अर्ब, सूचिकृत कम्पनीमै ४० अर्बको सम्पत्ति

अहिलेसम्म सेयर बजारमा सूचिकृत कम्पनीको बजार पूँजीकरण हेर्दा करिब ४० अर्ब रुपैयाँको हाराहारीमा ढकालको स्वामित्वमा रहेको देखिन्छ । यद्यपि संस्थापक बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयरको मूल्य फरक हुँदा यो मूल्य फरक हुन्छ ।

आइएमई ग्रुपले १० करोड अमेरिकी डलर अर्थात साढे ११ अर्ब रुपैयाँ लगानी गरेको आफूले प्रवर्द्धन गरेको कम्पनी हाथवे इन्भेष्टमेन्टमार्फत् खुलासा गरेको छ ।

विश्वभर नै सम्पत्तिको मापन गर्ने सूचक बजार पूँजीकरण नै हो । विश्वका धनी व्यक्ति जेफ बेजोस हुन् वा पछिल्लो समय धनीको सूचीमा एक नम्बरमा आएका एलन मक्स उनीहरुको सम्पत्ति मापन गर्ने भनेको सेयर बजारमा सूचिकृत भएका कम्पनीको बजार पूँजीकरण र उनले लिने हिस्साबाट हो ।

ढकालको बढी व्यवसाय सेवामूलक उद्योगमा छ । उनले गरेको ट्रेडिङ र ट्राभल व्यवसायमा पनि राम्रो नै छ । सेयर बजारमा सूचिकृत नभएको हुँदा उनका अन्य व्यवसायको बारेमा भने केहीपनि विश्लेषण गर्न सकिँदैन । यद्यपि ठूलो पोर्टफोलियो छ ।

‘चन्द्रप्रसाद ढकालको बढी लगानी सेवामूलक क्षेत्रमा छ, त्यसमा पनि सूचिकृत कम्पनीमा बढी भएको हुँदा उनको सम्पत्ति १ खर्ब रुपैयाँभन्दा बढी हुने सम्भावना बलियो छ,’ एक स्टक ब्रोकरले भने ।

सेयर बजारमा उनको लगानी रहेको पूर्वाधार बैंक र चन्द्रागिरि हिल्स सूचिकृत हुने प्रक्रियामा छ । यस्तै डिशहोम र आइएमई लाइफ पनि सेयर निष्कासन गर्ने प्रक्रियामा छन् ।

रेमिट्यान्स कम्पनी आइएमई प्रालिबाट लिमिटेड भएको छ । यदि यसको पनि सेयर निष्कासन हुने हो भने ढकाल फोर्ब्सको सूचीमा सूचिकृत हुने अर्को नेपाली डलर अर्बपति बन्ने देखिन्छ ।

************

२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर शुरु गर्दा ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर । तर जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै अघि बढाउन सकेनन् । र, २०५० सालमा बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए ।

‘कर्मचारी भएकाले बैंकले मलाई व्यवसाय गर्न ऋण दिएन,’ ढकालले भन्छन् ‘ ‘त्यसपछि बैंकबाट ऋण लिएर व्यवसायलाई निरन्तरता दिनकै लागि जागिर छोडिदिएँ ।’

तर अहिले उनी चुक्ता पुँजीलगायत धेरै सूचकहरुमा देशकै ठूलो ग्लोबल आइएमइ बैंकको अध्यक्ष छन् । देशकै ठूलोमध्येको एक व्यावसायिक घराना आइएमइ समूहका अध्यक्ष छन् । गत मंसिरदेखि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष छन् । र, विधानत अब उनी अध्यक्ष हुनेछन् ।

महत्त्वाकांक्षी चन्द्र ढकालः बैंकको जागिरेदेखि महासंघको नेतृत्वसम्म

उनले यसरी प्रगतिको शिखर चुमे कि, त्यो प्रगतिलाई देख्दा आरिसेहरुको मन जल्छ । र, सकरात्मक सोच भएकाहरुलाई उत्साह मिल्छ ।

व्यक्तिगत स्वभावलाई विश्लेषण गर्दा नम्र बएर बोल्छन् । कसैलाई बिझाउँदैनन् । विवादमा आउनै चाहँदैनन् । सम्बन्ध स्थापित गर्न खप्पिस छन् । राजनीति र कर्मचारीतन्त्रमा पनि असाध्यै राम्रो सम्बन्ध स्थापित गरेका छन् ।

राज्यको नीतिलाई सहयोग गर्दै बिजनेश

‘सरकारले जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौँ,’ ढकाल भन्छन् ।

उनको यो दावीको पछिल्लो उदाहरण लिँदा सत्य सावित के हुन्छ भने नेपाल राष्ट्र बैंकले अघि सारेको बिग मर्जरको नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमइ बैंक नै हो । जनता बैंकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको हो ।

राज्यले वैदेशिक रोजगारीमा जान युवाहरुलाई प्रोत्साहन गरेपछि ढकालले विदेश गएका नेपालीले कमाएको रकम (रेमिट्यान्स) औपचारिक च्यानलबाट नेपाल पठाउन आइएमई खोले । त्यस्तै, राज्यले पर्यटनलाई प्रवर्द्धन गरेपछि चन्द्रागिरिमा केवलकार र रिसोर्ट खोले । अन्य स्थानमा पनि रिसोर्ट र केवलकार बनाउँदैछन् ।

हाइड्रोलाई राज्यले उच्च प्राथमिकतामा राखेपछि हाइड्रोपावरहरु पनि बनाइरहेका छन् । राज्यले सूचना प्रविधिमा जोड दियो, उनले आइटी कम्पनी र डिशहोम खोले । राज्यले डिजिटल पेमेन्टको नीति लियो, उनले आइएमइ पे शुरू गरे ।

राज्यले अर्थतन्त्रको तीन खम्बे नीति अबलम्बन गर्दै सहकारी क्षेत्रलाई तेस्रो खम्बा भन्यो । उनले आइएमइ कोअपरेटिभ खोले । राज्य वित्तीय पहुँचमा जोड दियो उनले बैंक र बीमा कम्पनी खोले । विभिन्न कम्पनीमा लगानी गर्न हाथवे नामक इन्भेष्टमेन्ट कम्पनी शुरू गरे ।

यतिखेर उनको नेतृत्व र संलग्नताका देशका व्यवसायमा दशौँहजार व्यक्ति प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगार छन् ।

को हुन् ढकाल ? 

ढकाल बाग्लुङको अमलाचौर गाबिसमा २०२२ साल असार ९ गते जन्मिएका हुन् । उनले ०४८/४९ सालदेखि नै व्यवसाय शुरु गरेका थिए । तर, जब सन् २००१ मा आइएमइले उनलाई स्थापित गरायो ।

उनको उद्यमशिलताको छोटो तर बडो कठिन यात्राले उनलाई यो पहिचान दिलाएको हो । आईएमइले महत्वपूर्ण व्यावसायीक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । त्यसैगरी, रेमिट्यान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी कर भुक्तान गरे वापत आईएमई लगातार ४ पटकसम्म ठूला करदाताको रुपमा सम्मान पाइसकेका छन् ।

१६ वर्षे उमेरमै आफना पिताजीको निधनका कारण खुसीमा ग्रहण लागेको महसुश गरेको व्यक्तिले आफू र आफ्नो परिवारको रेखदेख गर्दै आज यहाँसम्म ल्याउन कसरी सम्भव भयो होला ? ढकाल भन्छन्, ‘समय अति कठिन भए पनि मेरो मनभित्र एउटा झिनो आशाको दियो धिपधिपाएको थियो, त्यसलाई आत्मबलले चम्काउने प्रण गरेँ । अनि परिवार इष्टमित्र सबैको साथ र सहयोगले त्यसलाई निभ्न नदिई अघि बढ्दै गएँ ।’


आशीष ज्ञवाली