बिजनेशमा आक्रमक बन्दै चन्द्र ढकालः आइएमइ सिमेन्ट, ३ केबलकार, होटेल र हाइड्रो ल्याउँदै



काठमाडौं । व्यवसायी चन्द्र ढकाल एग्रेसिभ बिजनेश विस्तारको रणनीति लिएर अघि बढेका छन् । पछिल्ला दुई दशकमा ठूलो ब्यावसायिक घरानाकोरुपमा स्थापित हुन सफल ढकाल अध्यक्ष सहेको आइएमइ समूहले अर्बौं रुपैयाँ बराबरको लगानी विस्तार गर्ने भएको छ ।

सेवा क्षेत्रमा सफलता हासिल गरेको आइएमइ समूहले उत्पादनशिल क्षेत्रमा हात हाल्ने भएको छ । आइएमइ ब्राण्डको सिमेन्टमार्फत् यो समूह उत्पादनमूलक उद्योगमा हात हाल्ने भएको हो ।

आइएमइ सिमेन्टलाई लगानी बोर्डले लगानी सम्मेलनमा निजी क्षेत्रको आयोजनाको रुपमा शोकेश गर्दैछ । सरकारको आयोजनामा यही शुक्रबार र शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ ।

रेमिटेन्स बिजनेशदेखि ब्यावसायिक यात्रा शुरु गरेको आइएमइ समूहले बैंकिङ्ग, बीमा, केबलकार, होटेल, अनलाइन पेमेन्ट सिस्टम, टेलिभिजन सेवा प्रदायक, अटोमोवाइल्स, एयरलाइन्स, हाइड्रोपावरलगायतका सेवा क्षेत्रमा राम्रो प्रगति गरेको छ ।

सम्मेलनमा व्यवसायी ढकालको आइएमइ सिमेन्ट पनि शोकेस हुँदैछ । १०० मिलियन अमेरिकी डलर अर्थात १० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहने आइएमइ सिमेन्टको प्लान्ट गण्डकी जिल्लाको नवलपरासीस्थित मध्यविन्दु नगरपालिकामा रहनेछ । प्लान्टको क्षेत्रफल ३५ विगाहाभन्दा बढी हुने अध्यक्ष ढकालले बताए ।

‘नेपालमा सिमेन्टको माग अझै तीब्र गतिमा बढ्ने भएकाले हामीले सिमेन्ट उद्योग खोल्न चासो देखाएका हौं,’ ढकालले क्लिकमाण्डूसँग भने ।

अझैपनि नेपालमा ६० प्रतिशत क्लिंकर आयात हुने गरेको र स्थायी सरकार आएसँगै अव नेपालमा तीब्र गतिमा पूर्वाधार विकास हुने भएकाले सिमेन्टको माग बढ्ने भएकाले आइएमइ समूह सिमेन्ट उद्योगमा आएको ढकालले सुनाए ।

आइएमइ सिमेन्टको खानी भने पाल्पाको पाल्लाको मदनपुर र सिस्दी गाउँपालिकामा रहने छ । पूर्वपश्चिम राजमार्गदेखि ५ किलोमिटर माथि उद्योगको प्लान्ट रहने र त्यहाँबाट खानीसम्म पुग्न २५ किलोमिटरको दूरी रहेको छ ।

लगानी बोर्डका अनुसार ४ वर्षभित्र उद्योग स्थापना भइ सञ्चालनमा आइसक्नेछ । निर्माण अघिको काम सम्पन्न गर्न एक वर्ष, वित्तीय व्यवस्थापन गर्न एक वर्ष र २ वर्षमा उद्योग निर्माणको काम सम्पन्न हुने लगानी बोर्डले जनाएको छ ।

आइएमइ समूहले पर्यटकीय नगरी पोखरा, कर्णालीको चिसापानी र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्धारीमा केबलकार र सुविधासम्पन्न तारे होटेल सञ्चालनको आयोजना तयार पारेको छ ।

१५ स्क्वायर किलोमिटरको खानी छ भने खानीमा १८.७२ मिलियन टन कच्चा पदार्थ रहेको लगानी बोर्डको रिपोर्टमा उल्लेख छ । उक्त सिमेनट उद्योगको इन्टरनल रेट अफ रिटर्न (आइआरआर) २० प्रतिशत रहेको छ । आइआरआर २० प्रतिशत भएको कुनैपनि आयोजना लगानीका दृष्टिकोणले उत्तम मानिन्छ ।

पोखरा, चिसापानी र स्वर्गद्वारीमा केबलकार र होटेल

त्यसैगरी, आइएमइ समूहले पर्यटकीय नगरी पोखरा, कर्णालीको चिसापानी र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्धारीमा केबलकार सञ्चालको तयारी गरिरहेको छ । केबलकारसँगै सुविधासम्पन्न तारे होटेल सञ्चालनको आयोजना तयार पारेको छ । चन्द्रागिरि केवलकार सफल भएपछि आइएमइ समूह थप केबलकार आयोजना सञ्चालनमा ल्याउन तयार देखिएको हो ।

केबलकार र होटेलका आयोजना पनि लगानी सम्मेलनमा सोकेश हुँदैछन् ।

केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढिसकेको अध्यक्ष ढकालले जानकारी दिए ।

‘हामीले प्रस्ताब गरेका ३ वटै केबलकारका आयोजना फिजिवल छन्,’ ढकालले भने, ‘चिसापानीको आफ्नै महत्व छ, स्वर्गद्धारीको अत्यत्नै ठूलो धार्मिक महत्व छ भने पोखरा आफैंमा नेपालको ठूलो पर्यटकीय क्षेत्र हो ।’

५४ मेगावाटको मध्य कालीगण्डकी हाइड्रोपावर

त्यसैगरी, आइएमइ समूहले ५४ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजना पनि अघि बढाउने भएको छ । यो आयोजनालाई पनि लगानी बोर्डले लगानी सम्मेलनमा शोकेस गर्दैछ । यो आयोजना बनाउन १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

‘हाइड्रोपावरको धेरै काम सम्पन्न भइसकेका छन्,’ ढकालले भने, ‘अब निर्माणको काम अघि बढिहाल्छ ।’

रेमिटेन्स बिजनेशदेखि ब्यावसायिक यात्रा शुरु गरेको आइएमइ समूहले बैंकिङ्ग, बीमा, केबलकार, होटेल, अनलाइन पेमेन्ट सिस्टम, टेलिभिजन सेवा प्रदायक, अटोमोवाइल्स, एयरलाइन्स, हाइड्रोपावरलगायतका सेवा क्षेत्रमा राम्रो प्रगति गरेको छ ।


पुष्प दुलाल