महत्त्वाकांक्षी चन्द्र ढकालः बैंकको जागिरेदेखि महासंघको नेतृत्वसम्म



काठमाडौं । ०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर ।

तर जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै बढाउन सकेनन् । र, ०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए ।

‘जागिर खाइरहेका बेला म व्यवसाय पनि गर्थें । कर्मचारी भएकाले बैंकले मलाई व्यवसाय गर्न ऋण दिएन,’ ढकालले क्लिकमाण्डूसँग भने- ‘त्यसपछि बैंकबाट ऋण लिएर व्यवसायलाई निरन्तरता दिनकै लागि जागिर छोडिदिएँ ।’

तर अहिले उनी धेरै सूचकहरुमा देशकै ठूलो ग्लोबल आइएमइ बैंकको अध्यक्ष छन् ।

सरकारी जागिर छोडेर व्यवसाय सुरु गर्दा पनि ढकालले सोचका थिएनन् कि यतिठूलो सफलता हासिल गर्छु भनेर । तर, उनले यसरी प्रगतिको शिखर चुमे कि, त्यो प्रगतिलाई देख्दा आरिसेहरुको मन जल्छ । र, सकरात्मक सोच भएकाहरुलाई उत्साह मिल्छ ।

नम्र बएर बोल्छन् उनी। कसैलाई बिझाउँदैनन् । विवादमा आउनै चाहँदैनन् । सम्बन्ध स्थापित गर्न निकै माहिर छन् । राजनीति र कर्मचारीतन्त्रमा पनि असाध्यै राम्रो सम्बन्ध स्थापित गरेका छन् ।

व्यवसायीक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भए ।

‘मलाई विश्वास छ यही मंसिर १३ गते महासंघबो बरिष्ठ उपाध्यक्षमा अत्याधिक बहुमतले बिजयी हुन्छु,’ ढकालले सुनाए ।

‘जागिर छोडेर व्यवसायमा लागेको २५ वर्ष भयो तर मैले १२/१३ वर्ष अघिदेखि मात्रै महासंघको नेतृत्वमा आउनुपर्छ भन्ने महत्वकांक्षा जागेर आयो,’ उनले भने ।

ढकालसँग दुई कार्यकाल महासंघको कार्यसमिति सदस्य र एक कार्यकाल एसोसियट उपाध्यक्ष भएर काम गरेके अनुभव छ ।

यसअघिको निर्वाचनमा निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका ढकालले यो निर्वाचनमा बरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्धारी दिएका छन् । महासंघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । त्यसैले यो चुनाव बरिष्ठ उपाध्यक्षका उम्मेद्धार केन्द्रित भएको छ ।

ढकाल यसअघि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छाको प्यानलबाट एसोसिएट उपाध्यक्षमा निर्विरोध भएका थिए । त्यसबेलाका बरिष्ठ उापध्यक्षका अर्का उम्मेद्वार किशोर प्रधान प्यानलले ढकाल आफ्नो पनि उम्मेद्वार भएको भन्दै उम्मेद्वारी नै नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।

तर अहिले ढकालसँग यसअघिका उनका सारथी मानिएका गोल्छा र प्रधान साथै छैनन् । यही मंसिर १३ गतेदेखि स्वतः अध्यक्ष बन्दै गरेका शेखर गोल्छा बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर प्रधानको पक्षमा खुलेरै लागेका छन् । त्यस्तै, यसअघि गोल्छासँग बरिष्ठमा उठ्दा आफ्नो पनि एसोसियट उम्मेद्धार चन्द्र ढकालनै भएको भन्ने प्रधान यो पटक भने बरिष्ठमा उनै ढकालसँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यसबेला महासंघमा एउटा सहमति भएको थियो । त्यो के थियो भने- अर्को निर्वाचनमा चन्द्र ढकालले उम्मेद्धारी नदिने र ज्ञानेन्द्रलाल प्रधानलाई सहयोग गर्ने । उक्त लिखित सम्झौतामा भवानी राणा, शेखर गोल्छा, पशुपति मुरारका र चन्द्र ढकालको हस्ताक्षर छन् ।

महासंघको कोषाध्यक्ष रहेका ज्ञानेन्द्रलाल प्रधान पदबाट राजिनामा दिएर बाहिरिएका छन् । उनी नेपाल उद्योग परिसंघतिर लागेका छन् । जसकारण पनि चन्द्र ढकाललाई सजिलो भयो ।

ढकालले सार्वजनिकरुपमै भन्दै आएका छन्, ‘ज्ञानेन्द्रजी महासंघमा सक्रिय रहिरहनुभएको भए पूर्वसमझदारी अनुसार म उम्मेद्धारी दिन्नथेँ, उहाँलाई नै सहयोग गर्थेँ ।’

ढकाललाई उद्योग वाणिज्य महासंघको नेतृत्वमा जानुपर्न भन्ने महत्वकांक्ष देखाउने व्यक्ति हुन् सुरज बैद्य । बैद्यले ढकालमा राम्रो संभावना देखे र निरन्तर प्रोत्साहन गरिरहे ।

‘अहिले सर्वसहमतिमा निर्वाचित हुनु भनेको भविष्यमा यो भन्दा माथिल्लो पदमा पुग्ने संभावनालाई प्रष्टसँग देखाउँछ,’ एसोसियट उपाध्यक्षमा ढकाल निर्विरोध उपाध्यक्ष निर्वाचित भएपछि महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले क्लिकमाण्डूसँग भनेका थिए, ‘चन्द्रजीलाई जसरी हामीले निर्विरोध बनाउन सक्यौं, यो हामी सबैका लागि गौरवको विषय पनि हो ।’

यसपटक पनि पूर्वअध्यक्षहरुले बरिष्ठ उापध्यक्ष सर्वसम्मत चयन गर्न लागेका थिए । तर त्यो प्रयास सफल भएन । ‘हामीले सर्वसहमतिको धेरै प्रयास गर्यौं तर सफल हुन सकेनौं,’ पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले भने ।

यसरी बनेका थिए एसोसियट उपाध्यक्ष

पशुपति मुरारकाको कार्यकालको अन्त्यतिर एसोसिएटतर्फको उपाध्यक्षमा चुनाब लड्ने भन्दै प्रचार गर्न थाले । त्यसबेलासम्म पनि गोल्छा समूहले ढकाललाई सुरज बैद्यतिरको मान्छे भनेर पूर्णरुपमा विश्वास गरिसकेको थिएन । त्यसैले मुरारका र गोल्छा एसोसिएटतर्फको उापध्यक्षका लागि उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानप्रति बढी झुकाब राख्थे ।

महासंघमा नेवार र माडवारी समुदायको बाहुल्यता छ । उनीहरु सकेसम्म बाहुन नेतृत्वमा पुगोस् भन्ने चाहँदैनन् । त्यो फ्याक्टरले यहाँ पनि केही प्रभाव पारेको थियो भन्ने एकाथरी व्यवसायीहरुको बुझाइ छ । महासंघको इतिहासमा १७ अध्यक्षहरु मध्ये २/३ जनामात्रै बाहुन, २ जना माडवारी र बाँकी सबै नेवार समुदायका हुनुले पनि यस्तो आरोपलाई थप बल पुर्याएको छ ।

कुनैसमय शेखर गोल्छा, पशुपति मुरारका, किशोर प्रधान, दिनेश श्रेष्ठहरु चण्डीकै प्यानलका थिए ।

‘बाहुन समुदायबाट अध्यक्ष बनेका चण्डीराज ढकालको आज पनि महासंघमा राम्रैछ । त्यो देखेका माडवारी र नेवार समुदायको भित्रि मनमा भने चन्द्र नआइदिए हुन्थ्यो भन्ने नभएको भने होइन,’ महासंघको वर्तमान कार्यसमितिका एक उच्च अधिकारीले भने ।

गोल्छा समूहबाट ज्ञानेन्द्रलाल र चन्द्रको एसोसिएट उपाध्यक्षमा दाबी थियो । दुबैले चुनाब लड्ने बताउँदै आएका पनि थिए । त्यसैले यो टिम फुट्छ कि भन्ने आशंका पनि गरिएको थियो ।

पूर्वअध्यक्ष चण्डीले चन्द्रलाई खुलेआम सहयोग र समर्थन गरे । चण्डीराज व्यापारमा असफल व्यक्ति हुन् । व्यापार डुबेपछि बैंकबाट लिएको ऋण तिर्न सकेनन् । र, बैंकले उनलाई कालोसूचीमा राखेको छ ।

यद्यपि कसैले चाहे पनि नचाहे पनि महासंघको राजनीतिक समिकरणमा चण्डीको निकै ठूलो भूमिका छ ।

त्यो बेला गोल्छा समूहको एकमात्र उद्देश्य शेखरलाई बरिष्ठ उपाध्यक्षमा चुनाव जिताउनु थियो।

‘अवस्था यस्तो बनिदियो कि गोल्छा समूहले चन्द्रलाई लिएर अघि नबढे निर्वाचन जित्ने ढुक्क भएन,’ गोल्छा समूहलाई समर्थक गर्ने एक पूर्वअध्यक्षले भने,– ‘त्यसैले हामीले उनलाई उपाध्यक्षको उम्मेद्वार बनायौं ।’

लामो अध्ययनपछि टिमले गरेको विश्लेषणलाई अर्का प्रत्यासी ज्ञानेन्द्रले स्वीकार गरे । र, उपाध्यक्षको दाबी छाडेर कोषध्यक्षमा चित्त बुझाए ।

गोल्छा समूहले ज्ञानेन्द्र र चन्द्रको व्यवस्थापन गर्न सफल भयो ।

तर, गोल्छा समूहकै सौरभ ज्योतिले एसोसिएट उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थिए । समिकरण मिलिसकेको अवस्थामा ज्योतिको उम्मेद्वारी घोषणाले गोल्छा समूहको टाउको दुखायो ।

उम्मेद्वारी फिर्ता गर्दै सौरभ ज्योतिले भने- शेखर गोल्छा र चन्द्र ढकाललाई मेरो समर्थन

कतै गोल्छा समूह छाडेर ज्योति किशोर प्रधानको टिममा पो जान्छन् कि भन्ने चिन्ता भइरह्यो । तर, गोल्छा समूहले अन्तिम समयमा आएर ज्योतिको पनि व्यवस्थापन गरेको थियो।

गोल्छा समूहको उम्मेद्वारी दर्तामा समर्थन जनाउन महासंघको कार्यालय पुगेका ज्योतिले आफ्नो उम्मेद्वारी फिर्ता भएको सार्वजानिक घोषणा मात्रै गरेनन् । चन्द्र ढकाललाई खुलेर समर्थन गर्ने बाचा पनि गरे ।

र, यो चुनाव

अहिलेको चुनावमा चन्द्र ढकालसँग पूर्वअध्यक्ष चण्डीराज ढकाल, सुरज बैद्य लगायत छन् । बाँकी अधिकांश पूर्वअध्यक्षहरु प्रधानको पक्षमा । जसकारण प्रायः निर्विरोध हुने ढकाललाई यो पटक भने चुनावी प्रतिस्पर्धा फेस गर्नुपर्ने बाध्यता आइपरेको छ । ढकाल पक्षधरहरुले ६० प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गरे पनि वास्तविक अवस्था त्यस्तो छैन । किशोर प्रधानले राम्रैसँग टक्कर दिनेछन् ।

त्यसैले ढकालले एक वर्षअघि देखि नै चुनावलक्षित कामलाई ब्यापक बनाएका थिए । अहिले त उनी अत्याधिक व्यस्त छन् । कोरोना लाग्दा पनि नथाकी उनी चुनावी प्रचारमै अहोरात्र खटिरहे ।

ढकालले यसपटक पनि निर्विरोध हुने प्रयास नगरेका भने होइनन् । बरिष्ठ उपाध्यक्षमा आफूलाई छाडिदिन ढकालले अर्का उम्मेद्धार किशोर प्रधानलाई आकर्षक प्याकेजसहित प्रस्ताव गरे । तर प्रधानले अहिलेसम्म त्यो प्रस्ताव स्वीकारेका छैनन् ।

शनिबार बिहान ९ बजे बसुन्धरास्थित घरमा पुग्दा देशका राजनीति बाहेकका अरु क्षेत्रका तथा सामाजिक क्षेत्रमा चिनिएिका कैयौँ व्यक्ति जम्मा भइसकेका थिए । त्यसो त अरु सामान्य दिनहरुमा उनको दैनिकी यसरी घरमा बित्दैनथ्यो ।

पानीपोखरीस्थित आईएमई कम्प्लेक्समै बित्ने गरेको हो । किनभने उनले घरलाई दिने समय भनेको दुर्लभ नै हो । बिहानै या त उनको बैठक शुरु हुन्थ्यो या केही नभए पनि कार्यालय पुग्ने दैनिकीबाट दिन शुरु हुन्थ्यो ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले महासंघ हाँक्न यस्तो टिम बनाए, कुन पदमा को ?

तर यस पटक भने उनलाई परिवारले नै बाहिर निस्किन दिएका छैनन् । किनभने उनी कोरोना संक्रमित भएर निको भएपछि परिवारले बाहिर नगइदिए हुन्थ्यो जस्तो गर्ने गर्छन् । यद्यपि, उनको सक्रियताले उनी आफूलाई केही भएजस्तो भने गर्दैनन् । त्यसपछि पनि एक चरणको देश दौडाहा भ्याएका छन् ।

राज्यको नीतिलाई सहयोग गर्दै बिजनेश

कोरोना महामारीका कारण गएको चैत महिनामा लकडाउन शुरु हुनुअघि नेपालका एकजना उदयीमान तथा सफल व्यावसायी चन्द्रप्रसाद ढकालको घर, कार्यालय या सार्वजनिक कार्यक्रमहरुमा कुराकानीको विषय हुने गर्दथ्यो- ‘नेपाल राष्ट्रबैंकले नेपालका वित्तीय संस्थाहरुका लागि जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौँ ।’

उनको यो दाबीको पछिल्लो उदाहरण लिँदा सत्य सावित के हुन्छ भने नेपाल राष्ट्र बैंकले अघि सारेको बिग मर्जरको नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमइ बैंक नै हो । जनता बैंकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । यो मर्जरले ढकालको परिचय पनि फेरिदिएको छ कि बैंकका एक सामान्य जागिरे अहिले मुलुककै सबैभन्दा ठूलो बैंकका अध्यक्ष भएका छन् ।

राज्यको नीतिलाई सहयोग गर्दा नम्बर १ बन्यो ग्लोबल आइएमई बैंक, अब रणनीति बदल्छौं: अध्यक्ष ढकाल

राज्यले वैदेशिक रोजगारीमा जान युवाहरुलाई प्रोत्साहन गरेपछि उनीहरुले कमाएको रकम (रेमिट्यान्स) औपचारिक च्यानलबाट नेपाल पठाउन इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) खोले । त्यस्तै, राज्यले पर्यटनलाई प्रवद्र्धन गरेपछि चन्द्रारिरिमा केवलकार र रिसोर्ट खोले । हाइड्रोलाई राज्यले उच्च प्राथमिकतामा राखेपछि हाइड्रोपावरहरु पनि बनाइरहेका छन् । अन्य स्थानमा पनि रिसोर्ट र केवलकार बनाउँदैछन् ।

उनको नामको अघि लगाइने नेपालका एकजना ‘सफल’ व्यवसायी विशेषण यसरी सार्थक भयो कि बैंकको एउटा सानो स्तरको जागिरबाट जीवन यात्रा शुरु गरेका उनी अहिले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएका छन् । करिब तीन दशकभन्दा थोरै लामो समयमात्रको जुनसुकै सफल व्यक्तित्वका सफलताका कथाहरुमा उल्लेखनीयरुपमा लेखिने बुलन्द विषय नै हो ।

अचेल चुनवको जोडघटाउ

तर यतिखेरको उनको बसाइ र जमघटमा गरिने कुराकानीको विषय विल्कुलै फेरिएको छ । यतिखेर उनको घरमा पनि व्यवसायभन्दा बढी व्यवसायीको चुनावको चर्चा हुने गर्दछ । यतिखेरको विषय हो नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको ।

शनिबार बिहान घरमा पनि निर्वाचनकै विषयमा थियो कुराकानी । प्रदेश नम्बर १ बाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका राजेन्द्र राउत भन्दै थिए- चन्द्रजी हामीलाई प्रदेश नं १ बाट पनि अधिकांश भोट आउँछ है । स्वभावले ढकाल निर्वाचनको चर्चा गर्ने व्यक्ति होइनन् । भोटको हिसाब किताब गर्ने राजनीतिक स्वभाव पनि उनको होइन ।

तर उनको अहिलेको तयारी भने निर्वाचनमै छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उनी अहिले महासंघमा आफू पुगेपछि गर्ने कामलाई एजेण्डाका रुपमा अघि सारेर देशभरका व्यवसायी, प्रतिनिधिको मत हातपार्ने काममा जुटेका छन् । हिँजोआज देशका मिडियामा आएका उनका अन्तर्वार्ताहरुमा पनि यही कुराको मात्र चर्चा देखिन्छ ।

किन आए महासंघको राजनीतिमा ?

करिब तीन दशकको यात्राले यो सफलताको विशेषणमा पुगेका ढकाल अब भने व्यवसायीहरुको हतहितका लागि समाजसेवा गर्ने बाटो रोजेका छन् ।

आफ्नो सफलताको सबैभन्दा दरिलो टेको उद्यमशिलताका लागि निरन्तरको लगाव र परिश्रमलाई मान्ने उनले अब देशका सबै व्यवसायीले आफूले जस्तै मेहनतबाट कसरी कसरी सफलता हात पार्न सकिन्छ भन्ने उपायका लागि महासंघको नेतृत्वमा जान लागेको बताउँछन् ।

महासंघलाई सबै व्यवसायीको व्यवसायमैत्री वातावरण निर्माण गरिदिने साझा चौतारी बनाउने उद्देश्यका साथ उनी अहिले सो निर्वाचनको अन्तिम चरणमा आइपुगेका छन् ।

अहिले आइएमइ समूह, ग्लोबल आइएमइ बैँक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष रहेका ढकालको संलग्नताका क्षेत्र अरु कैयौं छन् ।

नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनले किन महासंघको राजनीतिमा आउन खोजेको भन्ने प्रश्नमा बताउँछन्- ‘म नेपालको सानो व्यवसायदेखि उठेर अहिले कर्पाेरेट लेभलसम्म आइपुगेको मान्छे, त्यसैले मैले यस क्षेत्रमा भोगेका समस्या र जटिलताहरुको गाँठो फुकाउन पनि म यस क्षेत्रमा लागेको हो, मैले सानाभन्दा साना व्यवसायीदेखि देशका उद्योगपतिहरुको समस्या बुझेको र भोगेकोले मैले नै यी समस्याको समाधानका लागि राज्यसँग लड्न, भिड्न सक्छु जस्तो लाग्छ ।’

देशभरका व्यवसायीहरुसँग आफू अरु कुनै पनि व्यवसायीभन्दा बढी पुगेको र उनका समस्यालाई नजिकैबाट हेरेको छु भन्ने उनको दाबी छ । नेतृत्वमा पुग्नु भनेको आशाको र भरोसाको संबाहक बन्नु पनि हो । भनिन्छ नि- खुकुरीको चोट अचानोले मात्र बुझेको हुन्छ ।

ढकालका आलोचकहरु उनी अति नै महत्त्वाकांक्षी भएको बताउँछन् । छोटो समयमै महासंघको नेतृत्व लिन अग्रसर हुनुपनि उनीभित्रको त्यही महत्त्वाकांक्षले काम गरेको हो ।

‘उहाँको बिजनेशको कच्चा पदार्थ नै पैसा हो, छोटो समयमै मनग्ये पैसा पनि कमाउनु भयो, ठूलो व्यावसायिक सफलता पनि हासिल गर्नुभयो,’ ढकालका प्रखर आलोचक रहेका महासंघका एक पूर्वअध्यक्ष भन्छन्, ‘अचेल त उहाँलाई पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने भएको छ । अहिले मोटो रकम खर्च गरेर चुनाव जित्न लाग्नुभएको छ ।’

ठूलादेखि साना व्यवसायीको पीरव्यथा थाहा छ

चन्द्र भन्छन्- ‘हो, मलाई देशका सानादेखि ठूला सम्मका उद्योगीको चोट त्यसैगरी थाहा छ । त्यसैले म नेतृत्वमा पुगेँ भनेँ तिनै कुराहरुलाई त भेन्टिलेट गर्ने हो नि । यही आशाले त साथीहरुलाई मलाई अघि सारे होलान् भन्ने कुरा मलाई सबै थाहा छ ।’

हुन पनि उनी गएका केही वर्षदेखि नै जिल्लातिर छन् । उद्योगी व्यवसायीहरुले जिल्लातिर गर्ने गरेका विभिन्न मेला महोत्सवहरु हुन् कि व्यवसायीका अरु केही कार्यक्रमहरु । ती प्राय सबैमा ढकालको उपस्थिति देखिन्थ्यो । उनी महासंघको उपाध्यक्षका रुपमा नै त्यहाँ जाने गर्दथे ।

चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व

उनी अतिथिका रुपमा मात्र त्यहाँ पुग्ने होइन कि उनी पुगेको ठाउँमा ती कार्यक्रमहरुलाई आर्थिक सहयोग पनि गर्दथे । त्यसैले उनको उपस्थिति महासंघको छाताका रुपमा देशका व्यवसायीहरुले अपेक्षा गरेका हुनसक्छन् ।

सोह्र वर्षे उमेरमै आफना पिताजीको निधनका कारण खुसीमा ग्रहण लागेको महसुश गरेको व्यक्तिले आफू र आफ्नो परिवारको रेखदेख गर्दै आज यहाँसम्म ल्याउन कसरी सम्भव भयो होला ?

उनी यसरी जवाफ दिन्छन्– समय अति कठिन भए पनि मेरो मनभित्र एउटा झिनो आशाको दियो धिपधिपाएको थियो, त्यसलाई आत्मबलले चम्काउने प्रण गरेँ । अनि परिवार इष्टमित्र सबैको साथ र सहयोगले त्यसलाई निभ्न नदिई अघि बढ्दै गएँ ।’

हो, आज त्यो दियोले उनको व्यक्तिगत जीवनमा मात्र उज्यालो छरेको होइन कि दशौँ हजार मानिसको सपनामा पनि उज्यालो भरेको छ । यतिखेर उनको नेतृत्व र संलग्नताका देशका व्यवसायमा दशौँहजार व्यक्ति प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगार छन् ।

उनको उद्यमशिलताको छोटो तर बडो कठिन यात्राले उनलाई यो पहिचान दिलाएको हो । रेमिटेन्स, वैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविधुत, सूचना प्रविधि, अटोमोबाइल, कार्गोल, चन्द्रागिरि केबलकारगायतमा उनको लगानी छ ।

काठमाडौंको पानीपोखरीस्थित कार्यालयमा प्रायः ब्यस्त दैनिकी गुजार्ने ढकालको कथा बाग्लुङको एक ग्रामीण वस्तीबाट सुरु हुन्छ । बलेवाको अमलाचौरमा उदाएको चन्द्रको जिन्दगीलाई चन्द्रमाजस्तै चमक भर्न खर्च भएको मेहनेतले उनलाई अमलाचौरदेखि चन्द्रागिरिको चुचुरोसम्म उकालेको छ । अब पनि उनी ढुक्क छन् कि उनलाई अब अहिलेको लगाव र मेहनतले महासंघको नेतृत्वसम्म ल्याइ पुर्याउने छ ।

ढकाल भन्छन्- कुनै व्यवसाय शुरुवात गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दिएको छ भनेर हेर्नुपर्छ ।’

उनको सोँच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिटेन्सलाई पारदर्शी र व्यवस्थित रुपमा स्वदेश भित्र्याउन सम्भव भएको छ । अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग ढकालको ठूलो मिहिनेतको टेको लागेको छ । ‘आईएमई’ रेमट्यिान्स कम्पनीसँग सायदै कोही नेपाली अपरिचित होलान् । यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग जोड्न उनीहरु सफल भएका छन् ।

को हुन् ढकाल ?

ढकाल बाग्लुङको अमलाचौर गाबिसमा २०२२ साल असार ९ गते जन्मिएका हुन् । उनले ०४८/४९ सालदेखि नै व्यवसाय सुरु गरेका थिए । तर, जब सन् २००१ मा इन्टरनेसनल मनि ट्रान्सफर (आइएमइ) ले उनलाई स्थापित गरायो ।

उनको उद्यमशिलताको छोटो तर बडो कठिन यात्राले उनलाई यो पहिचान दिलाएको हो । रेमिटेन्स, वैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविधुत, सूचना प्रविधि, अटोमोबाइल, कार्गोल, चन्द्रागिरि केबलकारगायतमा उनको लगानी छ ।

ढकाल अध्यक्ष रहेको आईएमईले महत्वपूर्ण व्यावसायीक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । त्यसैगरी, रेमिटेन्स कम्पनीहरुमध्ये सवैभन्दा बढी कर भुक्तान गरे वापत आईएमई लगातार ४ पटकसम्म ठूला करदाताको रुपमा सम्मान पाइसेका छन् । नेपाल भित्रिने कूल रेमिट्यान्समध्ये २५ प्रतिशतभन्दा बढी आइएमइमार्फत भित्रिने गरेको छ ।

सरकारले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मानबाट पटक-पटक विभूषित भएका ढकालको बायोडाटामा अर्को एउटा महत्वपूर्ण पद थपिएको छ त्यो हो, नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्ष ।

उनी आफ्नो बायोडाटामा उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि थप्न चाहन्छन् । त्यसैका लागि अहिले मिहेनत गरिरहेका छन् । विधानअनुसार बरिष्ठ उापध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष हुने व्यवस्था छ । उनीले यो निर्वाचनमा बरिष्ठ उापध्यक्षमा उम्मेद्धारी दिएका छन् ।

‘मलाई विश्वास छ यही मंसिर १३ गते महासंघबो बरिष्ठ उपाध्यक्षमा अत्याधिक बहुमतले बिजयी हुन्छु,’ ढकालले सुनाए ।


पुष्प दुलाल