
काठमाडौं । नेपाली राजनीतिको आकाशमा साढे पाँच दशकसम्म राज गरेका र आफ्नो चतुर वाककलाका लागि चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि २०८१ फागुन २१ को चुनाव एउटा यस्तो ‘वाटरलु’ सावित भयो, जसको कल्पना सायद उनले सपनामा पनि गरेका थिएनन् । वाटरलु भन्नाले ‘निर्णायक पराजय वा असफलता’ भन्ने बुझ्न सकिन्छ । ओलीसँग मिल्दोजुल्दो देखिने भएकाले यहाँ वाटरलुको प्रयोग गरिएको हो । यसको ऐतिहासिक र राजनीतिक अर्थ रहेको छ । यसलाई यसरी बुझौं।
ऐतिहासिक अर्थ, सन् १८१५ जुन १८ मा वर्तमान बेल्जियमको ‘वाटरलु’ भन्ने ठाउँमा भीषण युद्ध भएको थियो । यो युद्ध फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट र बेलायती–प्रुसियन सेनाको गठबन्धनबीच भएको थियो । नेपोलियन विश्वकै शक्तिशाली र अपराजित मानिन्थे । उनी यो युद्धमा नराम्ररी पराजित भए ।
राजनीतिक अर्थ, त्यो हारपछि नेपोलियनको शक्ति र साम्राज्य सधैँका लागि समाप्त भयो। त्यसैले जब कुनै अत्यन्तै शक्तिशाली, चतुर वा प्रभावशाली व्यक्तिले आफ्नो जीवनको सबैभन्दा ठूलो र निर्णायक हार व्यहोर्छ र उसको सम्पूर्ण राजनीतिक ‘करियर’ नै संकटमा पार्छ त्यसलाई ‘वाटरलु’ भन्ने गरिन्छ ।
अब मूल विषयमै प्रवेश गरौं ।
झापा क्षेत्र नम्बर ५ लाई ओलीको गढ मानिन्थ्यो तर त्यहाँ ३५ वर्षीय युवा बालेन्द्र शाह (बालेन) ले ६८ हजार ३४८ मतसहित विजयको झन्डा गाड्दा ७४ वर्षीय ओली मात्र १८ हजार ७३४ भोटमा खुम्चिए । करिब ५० हजारको यो मतान्तर केवल एउटा हार मात्र होइन यो त नेपालको परम्परागत राजनीतिको एउटा अध्यायको निर्मम अन्त्य र ‘जेनजी’ विद्रोहको रिजल्ट पनि हो भन्दा फरक पर्दैन ।
ओलीको जीवन संघर्षको एउटा लामो गाथा हो । विसं २००८ सालमा तेह्रथुममा जन्मिएका ओली २०२७ सालको झापा आन्दोलनबाट राजनीतिमा उदाएका थिए । ‘वर्ग शत्रु’ खत्तम गर्ने अभियानमा लागेका ओलीले आफ्नो जीवनको ऊर्जावान् १४ वर्ष जेलमा बिताए । जेलबाट निस्किएपछि उनले नेकपा एमालेलाई एउटा अनुशासित र बलियो संगठनको रूपमा उभ्याउन ठूलो भूमिका खेले । आफ्नो जीवनकाल नै राजनीतिमा समर्पण गरेका ओली लामो संघर्ष, त्याग पछि आज पार्टी र राजनीतिको यो उचाइमा पुगेका हुन् ।
विशेषगरी २०७२ सालको नाकाबन्दीका बेला उनले लिएको राष्ट्रवादी अडान र नेपालको नयाँ नक्सा जारी गर्ने हिम्मतले उनलाई राम्रो छवि दिलाएको थियो । तर, समय सधैं एकनाश रहदैन। उनले दुई–दुई पटक गरेको संसद् विघटन, पार्टीभित्रको चरम विवाद र शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिका कारण उनी बिस्तारै आफ्नै कार्यकर्ता र आम जनताबाट टाढिँदै गए ।
यस्तोमा राजनीतिक चतुर खेलाडी मानिने ओलीलाई पछार्दै ३५ वर्षीय बालेन शाहको उदय कुनै आकस्मिक घटना मात्र होइन । यो त दशकौंदेखि आश्वासन मात्र सुन्दै आएका र डेलिभरी नदेख्ने युवा पुस्ताको आक्रोशको परिणाम हो ।
झापा ५ मा बालेनले प्राप्त गरेको मतले के पुष्टि गर्छ भने अब नेपाली मतदाता ‘इतिहासको ब्याज’ खान पल्केका पुराना नेताहरूलाई बिदाइ गर्न तयार छन् । बालेनले कुनै ठूलो राजनीतिक भाषण गरेनन्, बरु प्रविधि, तथ्यांक र कार्यसम्पादनको भाषा बोले । ओलीले बालेनलाई ‘केटाकेटी’ र ‘राजनीति नबुझेको’ भनेर उपहास गरिरहँदा तिनै युवाले मतपत्रमार्फत ओलीलाई राजनीतिको कति कडा पाठ सिकाए भन्ने कुरा ५० हजारको मतान्तरले प्रस्ट पारेको छ।
एमालेको ‘डबल डिजिट’ संकट र आन्तरिक विद्रोह
यो निर्वाचनमा एमालेले देशभरि नै नराम्रो हार व्यहोरेको छ । कुनै समय संसदको सबैभन्दा ठूलो दल बन्ने दाबी गर्ने एमाले अहिले प्रत्यक्षतर्फ ‘डबल डिजिट’ को सिटका लागि संघर्ष गरिरहेको छ । यो हारको मुख्य कारण ओलीको’मै हुँ’भन्ने कार्यशैली र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न देखाएको अनिच्छा नै हो ।
ओली ती पात्र हुन् जसले झापा विद्रोहदेखि १४ वर्षको कठिन कारावास भोगे । तर, जब उनी शक्तिमा पुगे उनले आफ्नो विगतको संघर्ष बिर्सिएर ‘स्वघोषित सर्वशक्तिमान’ बन्ने बाटो रोजे। २०७७ र २०७८ मा दुई–दुई पटक असंवैधानिक रूपमा गरिएको संसद् विघटन ओलीको राजनीतिक जीवनको सबैभन्दा ठूलो ‘रणनीतिक भूल’ थियो । संविधानलाई आफ्नो खल्तीको वस्तु ठान्ने उनको अहंकारले नै शक्तिशाली पार्टीभित्र पहिलो दरार ल्यायो ।
ओलीले एमालेलाई एउटा जीवन्त कम्युनिस्ट पार्टीभन्दा पनि ‘भजन मण्डली’ मा परिणत गरेको आरोप पार्टीभित्रैबाट लाग्दै आयो। माधव नेपाल, झलनाथ खनाल, भीम रावल जस्ता समकालीन नेताहरूलाई अपमानित गरेर बाहिर पठाउनु र पार्टीभित्र ‘असहमति’ राख्नेलाई ‘शत्रु’ जस्तै व्यवहार गर्नुले उनलाई एक्लो बनाउँदै लग्यो । निषेधको यही राजनीतिले गर्दा कुनै समय पहिलो दल बनेको एमाले जेनजी आन्दोलनपछि भएको फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ डबल डिजिटको जितका लागि समेत तड्पिनु पर्ने अवस्थामा पुगेको छ ।
‘जेनजी’ आदोलनपछि पनि ओलीले पद नछाड्नु र आफ्ना वरिपरि केवल ‘एस म्यान’ हरूको घेरा बनाउनु एमालेका लागि आत्मघाती सावित भयो ।
चुनावको नतिजा सार्वजनिक हुँदै गर्दा एमालेभित्र ओलीको विकल्प खोजिनुपर्ने आवाज उठ्न थालेको छ । ७४ वर्षको उमेर र खस्किँदो स्वास्थ्यका कारण पनि अबको ५ वर्ष संसद र सत्ता समीकरणभन्दा टाढा रहँदा ओलीको राजनीतिक सक्रियता स्वतः कमजोर हुने देखिन्छ।
कतिपय एमालेकै नेता पार्टीको कमजोर प्रदर्शनका बाबजुद पनि ओलीले पार्टी सत्ता छाड्ने सम्भावना न्यून रहेको बताउँछन् । ओली ‘लिच्चड’ पात्र हुन् । जो हारका बाबजुद पनि सहजै मैदान छोड्न तयार हुने सम्भावना न्यून रहन्छ । उनले आफ्ना हारलाई ‘अन्तर्राष्ट्रिय षड्यन्त्र’ वा ‘प्रतिक्रियावादीको खेल’ भन्दै पन्छिन खोज्ने सम्भावना जीवितै छ । तर, यसपटकको हार यति लज्जास्पद छ कि उनलाई आफ्नै पार्टीभित्रैबाट ‘मार्ग प्रशस्त’ गर्न दबाबको पहाड खडा हुनेछ ।
यदि ओलीले अहिले पनि नेतृत्व हस्तान्तरण नगर्ने र पार्टीको नीतिमा आमूल परिवर्तन नगर्ने हो भने, नेकपा एमाले इतिहासको पानामा मात्र सीमित हुने खतरा छ।
झापा ५ को नतिजा नेपालको राजनीतिमा ‘पुस्तान्तरण’ को एउटा प्रस्ट सन्देश हो । केपी ओलीले विगतमा देशका लागि गरेका योगदानहरू इतिहासमा पक्कै लेखिनेछन्, तर उनको सत्तामोह र अहङ्कारले उनलाई आफ्नै गढमा पराजित मात्र गराएन उनको शानदार राजनीतिक करियरमा एउटा दुखद पूर्णविराम लगाउने संकेत पनि गरेको छ । बालेनको जितले एउटा नयाँ आशाको सञ्चार गरेको छ भने ओलीको हारले पुराना दलहरूलाई एउटा गम्भीर चेतावनी दिएको छ,’सुध्रिने कि सकिने ?’








प्रतिक्रिया