नेपालको अर्थतन्त्रमा पर्नेछ मध्यपूर्व तनावको बाछिटा, अर्थविद्ले गरे यस्तो आकलन

175
Shares

काठमाडौं । मध्यपूर्वमा विकसित तनाबको बाछिटा नेपाली भान्सासम्म आइपुग्ने देखिएको छ । नेपालको आयातमुखी अर्थतन्त्र र वैदेशिक रोजगारीमा आधारित संरचनाका कारण मध्यपूर्वको सानो हलचलले पनि नेपालमा ठूलो परकम्प ल्याउन सक्ने अर्थविदहरुको आकलन छ ।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा गरेको शृंखलाबद्ध हवाई आक्रमण पछि यो क्षेत्र अशान्त छ ।

इरानी टेलिभिजनलेसर्वोच्च नेता आयतोल्लाह अली खमेनीको मृत्यु भएको आधिकारिक पुष्टि गरिसकेको छ । खमेनीको मृत्युसँगै इरानी जनता र सैन्य कमाण्डरहरूमा तीव्र आक्रोश र प्रतिशोधको भावना फैलिएको छ । इजरायल र अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा निशाना बनाउँदै सयौं मिसाइल र ड्रोन प्रहार गरेको छ । इरानले विशेष गरी कतार, बहराइन, कुवेत र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको छ।

युद्ध चर्किएसँगै मध्यपूर्वका अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन् । यो आक्रमणमा ३०० ले ज्यान गुमाएका छन् । यो घटनाक्रमले मध्यपूर्वलाई मात्र नभई विश्वको भू–राजनीतिक सन्तुलनलाई नै नयाँ र खतरनाक मोडमा पुर्याएको छ । यो तनाबको असर नेपालको अर्थतन्त्रमा पर्ने देखिन्छ ।

रोजगारीका लागि मध्यपूर्वी देशहरूमा निर्भर रहेको नेपालको श्रम बजार, विदेशी मुद्राको स्रोत र इन्धन आपूर्तिमा युद्धको बाछिटाले गम्भीर असर पार्ने दाबी अर्थविदहरुको छ । नेपालको अर्थतन्त्र धानिरहेको विप्रेषण (रेमिट्यान्स) को प्रमुख स्रोत नै मध्यपूर्वी मुलुक हुन् । कतार, युएई, साउदी अरब र कुवेत जस्ता देशहरूमा लाखौँ नेपाली युवा कार्यरत छन् । युद्ध वा तनाव बढ्दै गएमा ती देशहरूमा रहेका नेपालीहरूको सुरक्षा र रोजगारी दुवै संकटमा पर्न सक्छन् । यदि त्यहाँको स्थिति बिग्रियो र नेपालीहरू ठूलो संख्यामा स्वदेश फर्कनुपर्ने अवस्था आयो भने नेपाल भित्रिने रेमिट्यान्सको प्रवाह रोकिनेछ, जसले देशलाई ठूलो आर्थिक मन्दीतर्फ धकेल्न सक्छ ।

नेपालको अर्थतन्त्रमा इन्धनको मूल्यले सिधै प्रभाव पार्छ । मध्यपूर्व तेल आपूर्तिको केन्द्र भएकाले त्यहाँको युद्धले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्ने छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्दा नेपालमा ढुवानी खर्च र उपभोग्य वस्तुको मूल्य आकासिनेछ । पेट्रोलियम पदार्थको मूल्यमा पर्ने चापले गर्दा मुद्रास्फीति (महँगी) बढ्छ, जसले सर्वसाधारणको दैनिकी कष्टकर बनाउनेछ ।

हाल नेपालको वैदेशिक मुद्रा सञ्चितिमा अहिले केही राहत देखिए पनि मध्यपूर्वको तनावले यसलाई पुनः जोखिममा पार्नेछ । एकातिर डलर भित्रिने मुख्य बाटो रेमिट्यान्स घट्ने र अर्कोतिर महँगो इन्धन खरिदका लागि बढी विदेशी मुद्रा बाहिर पठाउनुपर्ने हुँदा दोहोरो मार पर्नेछ । विज्ञहरूका अनुसार शिक्षा र अन्य कामका लागि विदेशी मुद्रा बाहिरिने क्रम जारी रहेको बेला रेमिट्यान्स घट्नु नेपालका लागि शोधनान्तर स्थितिमा असर पर्न सक्छ ।

यता नेपाल आउने पर्यटक र विदेश जाने नेपालीहरूका लागि मध्यपूर्वका देशहरू (विशेष गरी कतार र टर्की) मुख्य ’ट्रान्जिट’ रुट हुन् । कतार एयरवेज, टर्किस एयर र इमिरेट्स जस्ता विमान कम्पनीहरूले नेपाललाई विश्वसँग जोडेका छन् । युद्धका कारण हवाई रुट असुरक्षित भएमा वा उडानहरू रद्द भएमा पर्यटन आगमन ठप्प हुने र हवाई भाडा अत्यधिक महँगो हुने देखिन्छ । यसले गर्दा नेपालको पर्यटन क्षेत्रले फेरि अर्को ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।

नेपालले मध्यपूर्वी देशहरूबाट ठूलो मात्रामा प्रशोधित खाद्य वस्तुहरू र अन्य औद्योगिक कच्चा पदार्थ आयात गर्ने गर्छ । ’लजिस्टिक’ र ढुवानी खर्च बढ्दा आयातित सामानको मूल्य बढ्ने र आपूर्ति शृंखला प्रभावित हुनेछ । खासगरी नेपालको अर्थतन्त्र आयातमा आधारित भएका कारण भारतलगातय विश्वका अन्य देशमा महँगीदर बढ्दा नेपालमा खाद्यान्न र उपभोग्य वस्तुहरूको मूल्यमा मध्यपूर्वको अशान्तिको प्रत्यक्ष असर देखिनेछ ।

मध्यपूर्वको तनावले नेपालको अर्थतन्त्रलाई बहुआयामिक संकटमा पार्ने संकेत देखिएको छ । अर्थविदद्वय डा. रमेश पौडेल र नरबहादुर थापा मध्यपूर्वको तनाबबाट नेपालमा पर्ने असर यसरी विश्लेषण गर्छन् ।

नेपालको अर्थतन्त्र आयातमुखी र रेमिट्यान्समा आधारित भएकाले चुनौती बढेको छः डा. रमेश पौडेल, अर्थविद्

वर्तमान समयमा मध्यपूर्वी मुलुकहरू नेपालको राजस्व संकलनको तुलनामा विप्रेषण (रेमिट्यान्स) प्राप्तिका लागि प्रमुख गन्तव्य हुन् । कतार, संयुक्त अरब इमिरेट्स (दुबई, अबुधाबी) र साउदी अरब जस्ता देशहरूमा ठूलो संख्यामा नेपाली युवा श्रमिकहरू कार्यरत छन् । तसर्थ, ती क्षेत्रमा उत्पन्न हुने कुनै पनि प्रकारको राजनीतिक वा युद्धकालीन तनावले गर्दा प्रमुख श्रम शक्ति स्वदेश फर्किनुपर्ने अवस्था सिर्जना हुन सक्छ, जसको प्रत्यक्ष असर नेपालको विप्रेषण प्रवाहमा पर्ने देखिन्छ ।

इरानी राष्ट्रपतिको निधन र त्यसपछिको विकसित परिस्थितिले युद्धलाई कुन दिशामा लैजान्छ भन्ने कुरा निकै महत्त्वपूर्ण छ । यदि यो घटनासँगै क्षेत्रीय तनाव मत्थर भएमा यसको दीर्घकालीन असर न्यून रहनेछ । तर, यदि यो तनाव लम्बिएको खण्डमा झन्डै ६० देखि ७० प्रतिशत नेपाली श्रमिक कार्यरत रहेका खाडी मुलुकहरू (कतार, युएई, साउदी, बहराइन, कुवेत) प्रभावित हुनेछन् । मलेसियामा यसको प्रत्यक्ष प्रभाव तत्काल नपरे तापनि खाडी क्षेत्रको अस्थिरताले समग्र रेमिट्यान्स आप्रवाहमा ठूलो अवरोध पुर्याउन सक्छ ।

यस संकटको अर्को प्रत्यक्ष र तत्काल देखिने प्रभाव पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढ्ने बित्तिकै ढुवानी तथा यातायातको लागत वृद्धि भई बजारमा मुद्रास्फीतिको चाप बढ्ने निश्चित छ । यसले उपभोग्य वस्तु तथा सेवाको मूल्य बढाएर जनजीवन कष्टकर बनाउनेछ ।

त्यसैगरी, विप्रेषणको प्रवाह घट्दा नेपालको वैदेशिक मुद्रा सञ्चितिमा समेत दबाब पर्नेछ । एकातिर वैदेशिक शिक्षा लगायतका क्षेत्रमा मुलुकबाट ठूलो रकम बाहिरिने क्रम जारी रहने र अर्कोतिर आयको मुख्य स्रोत रेमिट्यान्स घट्ने हुँदा शोधनान्तर स्थितिमा प्रतिकूल असर पर्न सक्छ ।

व्यापारिक दृष्टिकोणले हेर्दा, नेपालमा इस्ट एसियाली मुलुकहरूबाट बढी आयात हुने भएकाले मध्यपूर्वको तनावले ढुवानी लागत मा निकै ठूलो असर त पार्दैन, तर खाडी मुलुकबाट आयात हुने खाद्यान्न, प्रशोधित परिकार, सुक्खा फलफूल र प्राङ्गारिक वस्तुहरूको आपूर्तिमा केही समस्या आउन सक्छ ।

मध्यपूर्वको यो तनावले हतियार कारोबार गर्ने देशहरूलाई फाइदा पुर्‍याए तापनि नेपाल जस्तो आयातमुखी र रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको देशका लागि यो मुख्यतया ’विप्रेषण’ र ’पेट्रोलियम पदार्थ’ को मूल्यका कारण चुनौतीपूर्ण हुने देखिन्छ ।

पर्यटन, विप्रेषण, सुरक्षा र पेट्रोलियम पदार्थको मूल्यमा ठूलो चाप सिर्जना हुनसक्छः नरबहादुर थापा, अर्थविद्

वर्तमान समयमा मध्यपूर्वी क्षेत्रमा देखिएको अस्थिरता र तनावले नेपाली अर्थतन्त्रमा गम्भीर र दूरगामी प्रभाव पार्ने देखिन्छ ।

खासगरी नेपालको ठूलो संख्यामा युवा श्रम शक्ति मध्यपूर्वी मुलुकहरूमा कार्यरत रहेका छन् । त्यहाँ उत्पन्न हुने कुनै पनि प्रकारको असुरक्षाले नेपाली श्रमिकहरूको रोजगारी र सुरक्षामा प्रत्यक्ष असर पार्ने देखिन्छ । यसको सीधा प्रभाव मुलुकको आयको मुख्य स्रोत मानिने विप्रेषण प्रवाहमा पर्नेछ । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरू र वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि कतार र संयुक्त अरब इमिरेट्स जस्ता देशहरू ट्रान्जिट रुट हुन् । कतार एयरवेज, एमिरेट्स र टर्किस एयर जस्ता वायुसेवा कम्पनीहरू नेपालको अन्तर्राष्ट्रिय उडानमा महत्त्वपूर्ण छन् । ती क्षेत्रमा हुने तनावले हवाई मार्ग अवरुद्ध हुन सक्ने र त्यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पुरर्‍याउने देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धि नेपालका लागि सधैँ चुनौतीपूर्ण रहिआएको छ । विगतमा सरकारले चुनाव लगायतका कारणले केही समय मूल्य समायोजन नगरे तापनि, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो दबाबले अन्ततः नेपालमा पनि मूल्य वृद्धि हुने र यसले समग्र बजारमा मुद्रास्फीति (महँगी) बढाउनेछ ।

विश्व राजनीतिको बदलिँदो स्वरूप र शक्ति राष्ट्रहरूको भूमिकाले गर्दा कुनै पनि देश पूर्ण रूपमा सुरक्षित नरहेको अवस्था देखिएको छ। यसले विश्वभर नै एक प्रकारको मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ । यस्तो संवेदनशील समयमा नेपालले आफ्नो कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सन्तुलित बनाउनु आवश्यक छ ।

समग्रमा भन्नुपर्दा मध्यपूर्वको यो संकटले नेपाली अर्थतन्त्रका चारवटा मुख्य खम्बाहरू- पर्यटन, विप्रेषण, सुरक्षा र पेट्रोलियम पदार्थको मूल्यमा ठूलो चाप सिर्जना गर्ने देखिन्छ ।

Skip This