बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले महासंघ हाँक्न यस्तो टिम बनाए, कुन पदमा को ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले उम्मेदवारी दर्ता गराए ।

उम्मेदवारी दर्ता पछि ढकालले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताए ।

चन्द्र ढकालः बैंकको जागिरेदेखि उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म

सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्ने उल्लेख गर्दै उनले देश विदेशमा रहेका लाखौं नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगित वातावरण सिर्जना गर्ने बताए ।

ढकाल प्यानलबाट महासंघको कार्यकारीणी सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ र नरेश लाल श्रेष्ठ उम्मेदवारी दर्ता गराएका छन् ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

महासंघ निर्वाचनमा किशोर प्रधानको टिमबाट कार्यकारिणी सदस्यको टिम तयार(सूचिसहित)

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् । मनोनयन दाखिला इमोलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

महासंघको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले समेत सोमबार प्यानलसहित उम्मेद्धारी दर्ता गराएका थिए ।

महासंघको विधानअनुसार बरिष्ठ उापध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ । जसअनुसार अहिलेको बरिष्ठ उपाध्यक्ष भनेको भावी अध्यक्ष हो ।

दुबै समूहले प्यानलसहित उम्मेद्धारी दर्ता गराए पनि महासंघ अध्यक्ष भवानी राणालगायत पूर्वअध्यक्षहरुले भने सहमतिको प्रयास गरिरहेका छन् ।


पुष्प दुलाल