
काठमाडौं | राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि विशेष रूपमा निर्माण गरिएको आधुनिक आवासीय भवनको उद्घाटन गरेको छ। करिब नौ महिनाको अवधिमा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो तथा प्रभावशाली सामाजिक सेवा परियोजनामध्ये एक हो।
करिब रु. १ करोड ८३ लाख लागतमा निर्माण सम्पन्न भएको यस आवासीय भवनले दृष्टिविहीन बालबालिकाको जीवनस्तर उकास्ने, उनीहरूलाई सुरक्षित, सम्मानजनक तथा गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्य बोकेको छ ।
एक रोपनी क्षेत्रफलमा निर्मित यस भवनमा ४८ भन्दा बढी बालबालिकाको बसोबासको व्यवस्था गरिएको छ। भवनमा ६ वटा आवासीय कोठा, विशाल भोजन कक्ष, पूर्ण सुविधासहितको भान्सा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण गरिएको छ, जसले बालबालिकाको समग्र विकास, सुरक्षा, सहजता र सम्मानजनक जीवनयापनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको परियोजनाले जनाएको छ।
यस महत्त्वपूर्ण परियोजना डोल्मा फाउण्डेशन, माज्जाली परिवार, विभिन्न व्यक्तिगत दाताहरू, संस्थागत साझेदारहरू तथा शुभेच्छुकहरूको उदार सहयोगबाट सम्पन्न भएको परियोजनाले बताएको छ ।
यस परियोजनाको नेतृत्व काठमाडौं राउण्ड टेबल–१ का अध्यक्ष ट्र. सञ्जीव अग्रवाल ले गरेका थिए ।
उद्घाटन समारोहमा विश्वप्रसिद्ध नेत्र विशेषज्ञ तथा मानवतावादी डा. सन्दुक रुइत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा डोल्मा फाउण्डेशन, माज्जाली परिवार, राउण्ड टेबल नेपाल, विभिन्न विशिष्ट अतिथि, दाताहरू, स्वयंसेवकहरू, सहयोगीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै राउण्ड टेबल नेपालका प्रतिनिधिहरूले प्रत्येक बालबालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने संस्थाको दृढ विश्वास पुनः व्यक्त गरे ।
परियोजनाका अनुसार, यो आवासीय भवन करुणा, सहकार्य र निःस्वार्थ सेवाको स्थायी प्रतीकका रूपमा रहनेछ। यसले सामूहिक उदारता र सामाजिक उत्तरदायित्वबाट दीर्घकालीन तथा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्दै आगामी पुस्तासम्म दृष्टिविहीन बालबालिकालाई आफ्नै घरको अनुभूति दिलाउने अमूल्य सम्पदाका रूपमा सेवा प्रदान गर्नेछ।





प्रतिक्रिया